|

नेपालगन्ज : स्वास्थ्य कार्यालय बाकेले  नेपालगन्जका बढी भिडभाड हुने क्षेत्रबाट संकलन गरेको स्वाबको नमुना परीक्षण गर्दा करिब साढे २ प्रतिशतमा  कोरोनाको संक्रमण भेटिएको छ।

बढी भिडभाड हुने यातायात, आन्तरिक राजस्व, अदालत, कारागार,  नेपालगन्ज उप महानगरपालिका वडा प्रहरी कार्यालयका साथै  नेपालगन्जको त्रिभुवन चौक क्षेत्रबाट २ हजार २ सय २ जनाको स्वाबको नमुना संकलन गरर परिक्षण गर्दा ३४ जनामा संक्रमण देखिएको छ।

बढी भिडभाड हुने क्षेत्रबाट भेटिएका संक्रमितहरुको सम्पर्कमा रहेका व्यक्तिहरुको पहिचान गरी परीक्षण गर्दा करिब ४ प्रतिशतमा संक्रमण भेटिएको छ।

भिडभाड हुने क्षेत्रमा भेटिएका १ हजार १ सय ३६ जनाको स्वाबको नमुना लिएर परीक्षण गर्दा ४७ जनामा संक्रमण देखिएको छ।

ट्राभल हिस्ट्रि नभएका तर भिडभाड हुने ठाउमा काम गर्ने, क्वारेन्टाइन र आइसोलेशन स्थलमा काम गर्ने प्रहरी र स्वास्थ्यकर्मी र उनीहरुको सम्पर्कमा रहेका व्‍यक्तिहरुको स्वाबको नमुना लिएर परिक्षण गर्दा करिब २ दशमलब ४३ प्रतिशतमा संक्रमण भेटिएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए।

भिडभाड हुने सरकारी कार्यालय तथा बजार क्षेत्रमा काम गर्ने र सेवा लिने ३ हजार ३ सय ३८ जनाको स्वाबको नमुना परिक्षण गर्दा ८१ जनामा संक्रमण देखिएको हो।

बाकेमा पछिल्लो पटक कारागार शाखा बाकेका ७ जना कैदी र वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत ६ जना प्रहरीमा गरी १३ जनाका कोरोना संक्रमण देखिएको थियो। १३ जना थपिए संगै बाकेका आइसोलेशन स्थलहरुमा  संक्रमितको संख्या ७४ पुगेको छ।

नेपालगन्ज उप महानगरपालिकाका एक जना वडा अध्यक्ष सहित ८ जनामा कोरोना संक्रमण देखिए पछि हिजो उप महानगरपालिकाका थप २ सय  जनाको स्वाबको नमुना संकलन गरिएको छ। ती नमुनाहरुको परीक्षण रिपोर्ट अझै आइसकेको छैन।

समुदाय स्तरमै संक्रमण फैलिएपछि २४ गते सम्मका लागि  निषेधाज्ञा जारी गरिएको छ। बाँकेमा हाल  सम्म ४ सय ७०  जना संक्रमितको पहिचान भएको छ। पहिचान भएका संक्रमितमध्ये ७४ जनाको उपचार भई रहेको २ जनाको मृत्यु भएको र ३ सय ९४ जना निको भएर घर फर्किसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.