संक्रमित प्राय महिला श्रीमानसँगै विदेशबाट आएका

|

कैलाली : सुदूरपश्चिम प्रदेशमा बालबालिकामा कोरोना संक्रमण दर बढ्दो क्रममा देखिएको छ। प्रदेशभरका संक्रमितमध्ये १० वर्ष मुनिका चार सयभन्दा बढी बालबालिकामा संक्रमण पाइएको छ। 

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार बिहीबारसम्म ४ सय १८ जना बालबालिकामा कोरोना संक्रमण देखिएको हो। तीमध्ये १ सय ७७ बालिका र २ सय ४१ बालक छन्। भारतबाट आमाबुबासँगै आएका अधिकांश बालबालिकामा कोरोना संक्रमण देखिएको छ। 

निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीका अनुसार संक्रमण देखिएका सबै बालबालिका बुवा आमासँगै भारतबाट फर्किएका हुन्। कतिपय बालबालिका संक्रमण देखिए पनि सँगै आएका आमाबुबामा भने प्रायः संक्रमण देखिन गरेको छैन। 

गत शनिबार बझाङको थलारा गाउँपालिकामा नौ महिने शिशुलाई कोरोना भाइरस संक्रमण देखिएको थियो। सोही दिन बझाङकै मष्टा गाउँपालिकाका ६ वर्षीया बालिका र ४ वर्षीया बालकमा कोरोना देखिएको थियो। तर उनीहरुका आमाबुबाको रिपोर्ट भने नेगेटिभ आएको थियो।

यस्तै साउन १४ गते डोटीको आदर्श गाउँपालिका ३ महिने, ७ महिने र १० महिने गरी ३ बालिका र २ महिने, १ वर्षीय, २ वर्षीय र ३ वर्षीय गरी ३ जना बालकमा कोरोना देखिएको छ। 
कोरोना संक्रमणबाट बाजुरामा केही समयअघि दुई वर्षीया बालिकाको समेत मृत्यु भइसकेको छ। 

त्यसैगरी असोज ४ गते कैलालीको गौरीगंगा–४ मा १५ महिने बालिकालाई कोरोना भाइरस संक्रमण देखिएको थियो। संक्रमित बालबालिकामध्ये अधिकांशले  कोरोना जितेर घर फर्किसकेका छन्। 

कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अस्पतालबाट ११ महिने बालक कोरोना जितेर फर्किएका थिए। हालसम्म सुदूरपश्चिममा ३ हजार ५ सय ८२ पुरुष र १ हजार १ सय ५५ महिलामा संक्रमण पुष्टि भएको छ।

महिलाको तुलनामा पुरुषको संख्या तेब्बर देखिन्छ। महिलाहरु प्रायः श्रीमानसँगै भारतबाटै फर्किएका र रोजगारीबाट फर्किएका नै बढी संक्रमित छन्। कोरोनाबाट प्रदेशभर हालसम्म नौ जनाको मृत्यु भइसकेको छ भने ३ हजार ३ सय ९१ संक्रमित निको भएका छन्। 

यहाँ सबैभन्दा बढी कैलालीका १ हजार ३ सय १६ र सबैभन्दा कम दार्चुलामा ३८ जनामा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ। निर्देशक डा. अवस्थीले सुदूरपश्चिममा कोरोना परीक्षणको दायरा बढेको बताए। सुदूरपश्चिममा तीन जिल्लामा पिसिआर मेसिन जडानको काम थालिएको बताए। डोटी, बैतडी र कैलालीमा गरी तीन ठाउँमा जडान हुने प्रयोगशालाका लागि सामान आइसकेको र जडानको काम अन्तिम चरणमा पुगेको बताए। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.