|

काठमाडौं : प्रदेश नम्बर २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण भएपछि उनले भेटेका संघीय सरकारका भिआइपीहरु तर्सिएका छन्। यादवले यही आइतवार जनकपुर फर्किनुअघि गृहमन्त्री रामबहादुर थापा बादल, कानुन मन्त्री डा. शिवमाया तुम्बाहाङ्फे र प्रधानमन्त्री केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुलाई भेटेका थिए।

उनी जनकपुर फर्किएपछि बुधबार साँझ कोरोना पुषुटि भएको थियो। जनकपुरस्थित ल्याबमै गरिएको परीक्षणमा कोरोना देखिएपछि सिंहदरबारदेखि बालुवाटारसम्म त्रास छाएको छ। 

तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा तीन दिनअघि मात्रै बालुवाटारका सबैको कोरोना परीक्षण गरिएको बताउँछन्। उनका अनुसार बालुवाटारमा सबैको कोरोना परीक्षण गरिँदा रिपोर्ट नेगेटिभ आएको छ।

'कोही भेट्न आएकै कारण कोरोना परीक्षण गरिएको होइन, यादवजी बालुवाटार आउँदा पनि निश्‍चित दूरीसहित बैठक गरिएको थियो', उनले भने, 'तर प्रधानमन्त्री निवासका सबैको कोरोना परीक्षण भइसकेको छ। मलाई प्राप्त जानकारी अनुसार सबैको रिपोर्ट नेगेटिभ आएको छ।'

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयका कर्मचारी र अन्य अधिकारीको पनि कोरोना परीक्षण भएको उनले बताए। 'सिंहदरबारमा पनि कर्मचारी र अन्य अधिकारीको कोरोना परीक्षण भएको छ', उनले भने, 'ती दुवै ठाउँमा कसैलाई पनि संक्रमण पुष्टि भएको छैन।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.