|

बाँके : बाँकेमा एक चिकित्सकसहित थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा जिल्लाका विभिन्न ठाउँका २८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ। 

संक्रमितमध्ये नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा कार्यरत एक चिकित्सकमा पनि कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए। बिहीबार फेला परेका मध्ये १६ जना पुरुष र १२ जना महिला छन्। यीमध्ये २५ जना नेपालगन्ज र तीन जना खजुरा गाउँपालिकाका रहेको श्रेष्ठले जानकारी दिए।
 
यस्तै बर्दियाका १४ जनामा संक्रमण पुष्टि भएको छ। भेरी अस्पतालले बिहीबार जारी गरेको सूचनाअनुसार पछिल्लो ४८ घण्टामा ५ सय ९० जनाको नमुना परीक्षण गर्दा बाँके र बर्दियाका गरी ४२ जनामा कोरोना देखिएको छ।

यसअघि नेपालगन्जमै नेपाली सेनाका एक डाक्टरमा काेराेना संक्रमण भएकाे थियाे। नेपालगन्ज उपमहानगरपालिका–२० इमामनगरस्थित नेपाली सेनाको अस्पतालमा कार्यरत चिकित्सकमा साउन १८ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो। भेरी अस्पताल नेपालगन्जमा गरिएको पिसिआर परीक्षणमा नेपाली सेनाको अस्पतालमा कार्यरत चिकित्सक सहित अन्य तीन जनामा पनि कोरोना पुष्टि भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.