|

ललितपुर : राजीव उपाध्यायको पुस्तक ‘कबाल्स एण्ड कार्टेल्स: एन अप क्लोज लुक एट नेपाल्स टर्बुलेन्ट ट्रान्जिसन एण्ड डिस्रप्टेड डेभलपमेन्ट’ सार्वजनिक भएको छ।

विकास साझेदार संस्था विश्व बैंकको नेपाल कार्यालयमा लामो समय काम गरेका पुराना पत्रकार उपाध्यायको त्यो पुस्तक बिहीबार ललितपुरमा आयोजित एक संक्षिप्त कार्यक्रममा सार्वजनिक गरिएको हो।

नेपाली अर्थतन्त्र र राजनीतिमा प्रभाव राख्ने विश्व बैंकमा दुई दशकभन्दा लामो समय काम गर्दा नेपालका राजनीतिज्ञ र कर्मचारीतन्त्रको नेतृत्वलाई गहिरो गरी अवलोकन गर्ने मौका पाएका राजीवले पत्रकारिताको तीक्ष्ण र खारिएको कलम यसमा देखाएका छन्।

माओवादी सशस्त्र विद्रोह र संक्रमणकालका उतारचढावबीच नेपालको विकास गतिविधि कसरी अवरुद्ध भयो  भन्ने पुस्तकमा उल्लेख गरिएको छ। पुस्तकले नेपालमा योग्य मानिस र असल विचारहरूको खाँचो नहुँदा नहुँदै पनि संस्थागत कामको बदला र ‘आफ्नो मान्छे’हरुको हरेक व्यवस्थामा देखिएको निरन्तरता हुनुलाई कमजोरीका रुपमा उजागर गरेको छ।

निजी स्वार्थका कारण राष्ट्रिय स्वार्थहरुलाई आफ्नो अनुकूलतामा मोडिएका प्राथमिकताका उदाहरण लेखकले दिएका छन्। नेपालको इतिहासका हरेक काल खण्डमा देखिएका भूमिगत शक्तिहरु र बिचौलियाको मिलेमतोमा राज्य शक्तिलाई नियन्त्रण गर्ने गरिएको उल्लेख छ।

२०४६ सालमा प्रजातन्त्र पुनःस्थापना पछिको अर्थ–राजनीतिमा आधारित पुस्तकमा नेपालको राजनीतिक–व्यवसायिक अपवित्र गठबन्धनका आडमा गरिएको राज्य–दोहन र प्रजातान्त्रिक सुधारको गतिलाई अड्चन हाल्ने कामका उदाहरण सहित चर्चा गरिएको छ।

पुस्तकले विदेशीदाताको अभिष्ट, राजनीतिक नेतृत्व एवम् कर्मचारीतन्त्रको हबिगत र जन-आकांक्षाका नाउँमा भएका उतार चढाव र जालझेललाई प्रष्ट्याएको छ।

पछिल्लो व्यवस्था 'फेडेरल रिपब्लिक' अर्थात संघीय गणतन्त्रमा देखिएका अमिल्दा गतिविधिलाई ब्यङ्ग्य गर्दै राजीवले ‘फ्यूडल रिपब्लिक’ शीर्षक दिने राजनीति नेताहरुका लागि पैसा दुहुने लैनो गाई भएको उल्लेख गरेका छन्।

पुस्तक सार्वजनिक कार्यक्रममा अर्थशास्त्री डा. विश्व पौडेलले वितेका दुई शताब्दीदेखि नै नेपालमा उत्पादनको साधनलाई सीमित व्यक्तिले कब्जा गरेको बताएका थिए। पुस्तकमाथि टिप्पणी गर्दै हिमा विष्टले विगत तीन दशकको नेपालको अर्थ राजनीति र विकास प्रकृयालाई चिहाउने आँखीझ्याल भएको बताएकी थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.