अस्पतालका कर्मचारी फरार, दुई चिकित्सक पक्राउ

|

जनकपुरधाम : डाक्टर र रेडक्रसका कर्मचारीको चरम लापरबाहीले जनकपुरधाम उपमहानगरपालिका ६ स्थित रामजानकी हस्पिटलमा एक महिलाको मृत्यु भएको छ। फरक ग्रुपको रगत चढाएपछि महोत्तरी गौशाला नगरपालिका ११ घर भएकी २२ वर्षीया गंगादेवी महतोको ज्यान गएको हो। 

अस्पतालमा शुक्रबार साँझ अपरेसनपश्चात् ती महिलाले छोरी जन्माएकी थिइन्। बच्चाको अवस्था भने सामान्य छ। अप्रेसन पश्चात बच्चा जन्माएपछि ती महिलाको स्वास्थ्य अवस्था बिग्रिएको थियो। 

डाक्टरले रगत चढाउनुपर्ने भनेपछि उनका देवर रामहरिले स्याम्पल लिएर रगतका लागि प्रादेशिक अस्पतालमा रहेको नेपाल रेडक्रस सोसाइटी पुगे। त्यहाँ बि पोजेटिभ रगत दिएपछि उनी लिएर अस्पताल आइपुगे।

अस्पतालका डाक्टर हतार हतारमा त्यही रगत चढाउन सुरु गरे। तर ती महिलाको भने रगत ‘ओ पोजेटिभ’ थियो। करिब १० मिनेट रगत चढाइसकेपछि डाक्टरले फरक ग्रुपको रहेको भन्दै हतार हतार स्लाइन झिकेका थिए। 

ती महिलाका देवर महतो भन्छन्, ‘डाक्टरले मलाई फेरि रेडक्रस पठाउनुभयो। त्यहाँका कर्मचारीले मिस्टेकले बि पोजेटिभ ब्लड गयो भन्दै ओ पोजेटिभ रगत दिएपछि अस्पताल आए। अस्पतालमा भाउजूको अवस्था झन् झन् बिग्रिँदै गयो। डाक्टरले पुनः ब्लड चढाएन।’ फरक ग्रुपको रगत चढाएकै कारण भाउजूको मृत्यु भएको उनको भनाइ छ।

घटनापछि अहिले मृतक महिलाका आफन्तले डाक्टर र रेडक्रसका कर्मचारीलाई कारबाही माग गरेका छन्। अस्पतालका डाक्टर र अन्य सबै कर्मचारी फरार छन्। उनीहरुले अस्पतालमा तालाबन्दी गर्ने प्रयास गर्दा प्रहरीले गर्न दिएका छैनन्। अस्पतालमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

मृतकका देवर महतोले क्षतिपूर्तिसमेत माग गरेका छन्। लापरबाही गर्ने डाक्टर र रेडक्रसका कर्मचारीलाई कारबाही तथा उचित क्षतिपूर्ति नदिए शव नबुझ्ने उनले बताए। 

दुई चिकित्सक पक्राउ

अस्पतालमा महिलाको मृत्यु भएपछि अनुसन्धानका लागि दुई चिकित्सकलाई नियन्त्रणमा लिइएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए। उनले चिकित्सकको परिचय भने खुलाउन चाहेनन्।

स्रोतका अनुसार पीडित परिवार र अस्पताल प्रशासनलाई प्रमुख जिल्ला अधिकारी भट्टराईले छलफलका लागि जिल्ला प्रशासन कार्यालय बोलाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.