|

काठमाडौं : काठमाडौं महानगरपालिकाले सहरी सौन्दर्यीकरणको लागि भन्दै असार ७ गते आइतबार रातिबाट माइतीघरमण्डलामा विभिन्न थरीका झिलीमिली बत्ती राख्यो। विभिन्न खम्बा, भित्तामा राखिएका थरिथरिका बत्ती जडानले केही दिनसम्म  रातको समयमा झिलिमिली देखियो। केही सर्वसाधारण आकर्षित भएकाले फोटो खिचेर सामाजिक सञ्जालमा पनि हाले।

कतिपयले भने कोरोना कहरमा महानगरपालिकाले क्वारेन्टाइन बनाउन नसक्ने तर,लाखौँ खर्च गरेर झिलिमिली बत्ती जडान गर्न सक्ने भन्दै आलोचना गरे। तर, महानगरपालिकाले सौन्दर्यीकरणका लागि जडान गरेको बत्ती एक महिना पनि टिकेन। असार ९ गते राति पनि पाँच वटा पोलमा बत्ती बलेको थिएन। बिहीबार साँझ पनि मण्डलामा थाहाकर्मी पुग्दा ९ वटा भन्दा बढी पोलमा राखिएको बत्ती बलेको थिएन। भित्तामा हालिएको बत्ती पनि बलेको थिएन।

‘प्राविधिक समस्याले बत्ती नबलेको हुन सक्छ’
काठमाडौं महानगरपालिकाले बत्ती जडान गरेपछि बलेको वा नबलेको भनी अनुगमनसमेत गरेको पाइँदैन। थाहाकर्मीले बत्ती नबलेको विषयमा महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोललाई जानकारी गराएपछि मात्रै उनी यस विषयमा जानकार भए। जानकारी गराएपछि उनले भने,‘केही प्राविधिक कारणले बत्ती नबलेको होला। अब हेरेर बत्ती मर्मत गरी बाल्छौँ।’ कमसल बत्ती नभई गुणस्तरीय खालका लिड लाइट र कलर लाइट बत्ती नै जडान गरेको उनको दाबी छ। 

प्रवक्ता डंगोलले त्यति बत्ती जडान गर्दा १३ लाख खर्च भएको जानकारी दिए। उनले भने,‘सहरी सौन्दर्यीकरणका लागि माइतीघर मण्डमालामा बत्ती जडान गर्दा १३ लाख खर्च भएको छ।’ पहिलो चरणमा माइतीघर मण्डलालाई आकर्षित बनाइएको र अझै माइतीघरदेखि तीनकुनेसम्म, ठमेल, दरवारमार्गजस्ता क्षेत्रमा यसरी नै सजावट गर्ने महानगरको योजना छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.