जिल्लाभर ३ सय २० मध्ये ३ सय ४ जना डिस्चार्ज

|

बैतडी : बैतडीमा कोरोना संक्रमण पुष्टि भएका नागरिकका आफन्तको स्वाब जाँच्ने काम सुरु गरिएको छ। समुदायमा कोरोना फैलिएको छ या छैन जानकारी लिन संक्रमितका आफन्तको कोरोना परीक्षण थालिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए। 

संक्रमितका सम्पर्कमा रहेका कम्तीमा २ जना आफन्तको स्वाब संकलन गरेर कोरोना परीक्षणका लागि डडेल्धुरा पठाउने कार्य भइरहेको उनको भनाइ छ। पाटन नगरपालिकाले ४६ जनाको स्वाब संकलन गरेको सबैको रिपोर्ट नेगेटिभ आएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए। 

जिल्लाका अन्य स्थानीय तहमा पनि संक्रमितका आफन्तको स्वाब संकलन कार्य भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए। प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशनअनुसार संक्रमितका आफन्तको स्वाब संकलन गर्ने कार्य सुरु भएको हो। यसले समुदायमा कोरोना संक्रमणको अवस्थाका विषयमा थाहा हुने बताइएको छ। 

३ सय ४ जना डिस्चार्ज

बैतडीमा ३ सय २० कोरोना संक्रमितमध्ये ३ सय ४ जनालाई घर पठाइएको छ। कोरोना पुष्टि भएका तर लक्षण नदेखिएकालाई घर पठाइएको स्वास्थ्य कार्यालयका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए। 

जिल्लाका कोरोना संक्रमितहरु लक्षण नदेखिएका भएकाले उनीहरुलाई १४ दिने क्वारेन्टाइन बसाइपछि घर पठाइएको जोशीले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.