|

इलाम : नेपालीमा उखान छ- ओरालो लागेको मृगलाई बाछो ले पनि लखेट्छ। माई नगरपालिका–९ चिसापानीका रञ्जित कार्कीको जीवन यही उखानसँग मेल खान्छ। पाँचजनाको परिवारमा तीनजना एकपछि अर्को गर्दै रोगले थला परेपछि रञ्जित ओरालो लागेको मृग झैं भएका छन्।

‘मैले हासेर सुखसँग खान पाउँने दिन कहिले आउँछ,’ एकपछि अर्को दुःख थपिएपछि गलेका उनले भने, ‘सायद खुशी मेरो भाग्यमा लेखिएको छैन।’

रञ्जितकी श्रीमती उमालाई पाठेघर र जेठो छोरालाई मोतीयाबिन्दुको समस्या छ। पछिल्लो समय कान्छो छोराको पनि मुत्रनली ऐजेरुले जेलिएको छ। ‘श्रीमतीलाई पाठेघरको समस्या छ। गर्हौ काम गर्न सक्दिनन्। घाँस काट्छिन लिनु जानुपर्छ। जेठा छोराको आँखाको अप्रेसन गरेको छ, पहिलोजस्तो देख्दैन। चस्मा लगाइरहनुपर्छ,’ उनले दुःखको बेलिबिस्तार लगाए, ‘अहिले आएर कान्छो छोरोको मुत्रनली कुहिएर झर्न लागेको छ। श्रीमतीको उपचारमा जायजेथा र बस्तुभाउ सकियो अब कान्छोलाई कसरी बचाउँ?’

उनका कान्छा छोरा अर्पणको सात महिनाअघि मुत्रनलीमा सानो डल्लो देखिएको थियो। उनले आफ्नो समस्या न बाबालाई भने न त आमालाई नै। ‘निको हुन्छ होला भनेर कसैलाई पनि भनिनँ,’ अर्पणले भने, ‘पछि धेरै दुख्न थालेपछि चाहिँ सुनाएँ।’ उनले आफ्नो समस्या जति बेला परिवारमाझ सुनाए, त्यसबेलासम्म उपचारमा निक्कै ढिला भइसकेको थियो। ‘छोराका साथीहरुले अर्पणले पिसाब गर्न पनि निक्कै समय लगाउँछ भनेपछि मात्र छोराको समस्या थाहा भयो,’ रञ्जितले भने, ‘तीन महिनाभन्दा बढी भएको रहेछ।’

आर्थिक अवस्था कमजोर भएका कार्की परिवारले अर्पणलाई उपचारका लागि झापाको अस्पतालमा लिएर गए। तर खर्च धान्न नसक्ने भएपछि चारपानेको एक मेडिकलमा उपचारपछि घरमै लिएर आए। ‘जेनतेन चन्दा गरेर जेठो छोराको उपचार गराएँ। श्रीमतीको उपचारमा चार लाख रुपैयाँभन्दा बढी सकियो। लागेको ऋण अझै तिर्न सकेको छैन। सामान्य बनिबुतो गरेर जीवन चलाउने मैले कान्छो कसरी बचाउँ, लौ न केही सहयोग गरिदिनुपर्‍यो,’ रञ्जितले भने, ‘झोडा फाँडेको एक हल बारी छ। न बेच्दा बिक्छ न त बैंकमा राखेर ऋण लिन सक्छु। बिरामी तीनजनाको अवस्था जटिल बन्दै गइरहेको छ।’

अर्पणको बल्लतल्ल छोराको उपचार त भयो तर अहिले सञ्चो भएको छैन। अहिले पनि उनको मुत्रनलीबाट पिप बग्न थालेको छ। मुत्रनली कुहिएको छ। ‘दुख्यो भनेर दिनभरि रोइरहन्छ,’ आमा उमाले भनिन्, ‘उपचार गरौं भने क्षमताले भ्याउँदैन। जसरी भए पनि छोरा बचाउँछन चाहन्छौं।’

उनको जेठा छोराको आँखाको समस्या फेरि पनि बल्झिएको छ। झापाको मेची आँखा अस्पतालमा उपचार गराउनुपर्ने खर्च अभाव छ। पहिला छिमेकीहरुको सहयोगले इलाम अस्पतालमा उपचार गराएका थिए। नगरपालिकाकामा सहयोगको माग गरे पनि अहिलेसम्म पाउँन नसकेको रञ्जितले गुनासो गरे। 

‘दुई वर्षअघि श्रीमती बिरामी हुँदा नै वडाको सिफारिसमा नगरमा सहयोग मागेको थिएँ अहिलेसम्म पाएको छैन,’ उनले भने, ‘१० हजार दिने कुरा थियो। २/३ पटक धाएँ खै अहिलेसम्म पाइनँ।’ छोराहरुको उपचारमा सहयोगका लागि ९८१५९२९६०९ मा सम्र्पक गरिदिनुहुन रञ्जितले अपिल गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.