|

म्याग्दी : म्याग्दीको मालिका गाउँपालिका-४ का एकजना कोरोना संक्रमितको सम्पर्कमा आएका १५ जनाको ‘थ्रोट स्वाब’ पीसीआर विधिबाट परीक्षण गर्दा असंक्रमित रहेको पाइएको छ।

साउन २१ गते सोही गाउँपालिकाको वडा नम्बर ६, दरबाङमा स्वाब संकलन गरी पोखरामा परीक्षण गर्न लगिएको थियो। परीक्षण गर्दा संक्रमितको सम्पर्कमा आएका सबै १५ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालले जानकारी दिए।

उनका अनुसार ती संक्रमित व्यक्ति कुवेतबाट आएका थिए। बेनीको क्वारेन्टाइनमा बसेका ती व्यक्तिसँगै आएका चार जनाको पहिलोपटक गरिएको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपनि क्वारेन्टाइनमा सँगै बसेका अर्का व्यक्तिमा संक्रमण पुष्टि भएको थियो। उनको पुनः स्वाब संकलन गरी दोस्रो पीसीआर परीक्षणका लागि पोखरा पठाइएको थियो।

उस्तै नाम गरेका अर्का व्यक्तिको स्वाब पनि एउटै समयमा संकलन गरी सँगै पठाइएको थियो। ती व्यक्तिको रिपोर्ट नेगेटिभ आएपछि उनलाई १४ दिन होम क्वारेन्टाइन बस्ने शर्तमा घर पठाइएको स्वास्थ्य कार्यालय, म्याग्दीले जनाएको छ। स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार घर पठाइएको दोस्रो दिनमा नेगेटिभ भनिएका व्यक्तिको रिपोर्ट पोजेटिभ आएको थियो।

‘पछि पोजेटिभ देखिएका व्यक्तिको पहिलो कोरोना रिपोर्ट नेगेटिभ आएको तथा क्वारेन्टाइनमा रहेका उस्तै नाम रहेका अर्का व्यक्तिको पनि सोही समयमा सँगै स्वाब संकलन गरी पठाइएकोले रिपोर्ट ढिलो-छिटो हुँदा फरक पर्न गएको हो,’ लम्सालले भने।

पोजेटिभ देखिएपछि उनलाई बेनीको आइसोलेसन कक्षमा राखिएको थियो भने गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरको पहलमा उनी बसेको होटेल समेत सिल गरिएको थियो। साथै होटेल सञ्चालक र घर जाने क्रममा उनको सम्पर्कमा आएका १५ जनालाई क्वारेन्टाइनमा राखिएको थियो।

आइसोलेसनमा रहेका संक्रमित व्यक्तिको अहिले पछिल्लो रिपोर्ट नेगेटिभ आएको र उनीसँगै ६ जनालाई शनिबार बिदाई गरिने स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.