|

सर्लाही : वडाध्यक्षमा कोरोना भाइरस संक्रमण पुष्टी भएपछि शनिबार (आज) बाट लालबन्दी नगरपालिका शील गरिएको छ।

हिजो शुक्रबार साँझ सरोकारवालाहरूको बैठक बसी आकस्मिक सूचना निकालेर औषधि पसलबाहेक अन्य पसल व्यवसाय, बजार, नगरपालिका कार्यालय, वडा कार्यालय र बैंक तथा वित्तीय संस्था बन्द गरिएको हो। 

यही साउन २१ गते थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि हेटौंडा पठाइएकोमा ४१ जनामध्ये एक जना वडाध्यक्ष, स्वास्थ्यकर्मी र व्यापारी समेत गरी तीन जनामा कोरोना भाइरसको संक्रमण पोजिटिभ पाइएकाले शनिबारदेखि लागु हुने गरि अर्को सुचना नभएसम्मका लागि लालबन्दी नगरपालिका शील गरिएको मेयर मानबहादुर खड्काले जानकारी दिए। संक्रमित तीनै जनालाई शुक्रबार नै लालबन्दी १ नवलपुरस्थित कृषि सामग्री कम्पनी लिमिटेडको भवनमा बनाइएको आइसोलेसनमा पठाइएको प्रमुख खड्काले बताए।

खड्काका अनुसार समुदाय स्तरमै कोरोना संक्रमण फैलिएको पाइएपछि आजबाट लकडाउनमा अझ कडाई गरिएको छ। अत्याबश्यक काम बाहेक नगरवासीहरूलाई घर बाहिर ननिस्कन, अनुमति प्राप्त सवारी साधन बाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक (मोटरसाइकल समेत) संचालन नगर्न, जमघट हुने सबै किसिमका सभा, सम्मेलन, भोजभतेर जस्ता क्रियाकलाप बन्द गर्न जारी सूचनामा उल्लेख गरिएको छ।

शील गरिएपछि आज लालबन्दी अन्य दिनभन्दा सुनसान देखिएको छ। लकडाउनलाई कार्यान्वयन गराउन तथा अत्यावश्यक काम पर्दा मास्क लगाएर मात्रै हिँड्न लालबन्दी प्रहरीले केही दिनदेखि कडाई गरिरहेको थियो। हिजो मात्रै बजार क्षेत्रमा मास्क नलगाई हिँड्ने ३४ जनालाई जनही १०० रुपैयाँका दरले जरिवाना तिराइएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिए।

लालबन्दी नगर कार्यपालिकाले जारी गरेको जरूरी सूचना :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.