|
सांकेतिक तस्बिर ।

सिर्जना अधिकारी (लमजुङ) : लमजुङको क्होलासोँथार गाउँपालिका-८, घाम्राङमा बीउ बिना नै बिरुवा उत्पादन गर्ने प्रविधि अर्थात टिस्यु कल्चर सुरू हुने भएको छ। कृषि तथा जडिबुटी प्रवर्द्धनमा काम गर्दै आएको हिमालयन हव सेन्टरले टिस्यु कल्चर सुरू गर्न लागेको हो।

कृषि, जडिबुटी तथा फलफूल उत्पादन गर्ने उद्देश्यले भाइसरमुक्त नयाँ बिरुवा उत्पादनका लागि 'तन्तु प्रजनन प्रयोगशाला' अर्थात टिस्यु कल्चर सुरू गर्न लागिएको सँस्थाका अध्यक्ष गमप्रसाद गुरुङले जानकारी दिए।

गण्डकी प्रदेश सरकारको कृषि निर्देशनालयबाट केही प्रतिशत अनुदान सहयोग लिएर संस्थामा आवद्ध स्थानीय कृषकहरूको समूहले टिस्यु कल्चर सुरू गरेका हुन्। हाल संरचना निर्माणको काम भइसकेको र उपकरण जडानको काम बाँकी रहेको अध्यक्ष गुरुङको भनाई छ।

आगामी दशैँसम्म संरचना निर्माण र उपकरण जडानका काम सक्ने र दशैंलगत्तै बिरुवा उत्पादनको काम सुरू गर्ने संस्थाले जनाएको छ। टिस्यु कल्चर स्थापनाको लागि प्रदेश सरकारले २९ लाख अनुदान उपलब्ध गराएको हो। सो बाहेक पनि करोडभन्दा बढी रुपैयाँ लगानी गर्नुपर्ने बताइएको छ।

पछिल्लो समय कृषि, जडिबुटीका शुद्ध तथा भाइरसमुक्त बिरुवा पाउन मुस्किल भइरकाले टिस्यु कल्चर स्थापना गरिएको र यहाँबाट भाइरसमुक्त बिरुवा उत्पादन गरी विक्री वितरण गरिने अध्यक्ष गुरुङको भनाई छ। 

टिस्यु कल्चरमा कुनैपनि नयाँ बिरुवा उत्पादनको लागि सम्बन्धित बिरुवाको तन्तु, कोसिका आदिबाट नयाँ बिरुवा उत्पादन गरिन्छ। बिरुवा उत्पादनअघि भाइरस परीक्षण गर्ने तथा भाइरसमुक्त भएपछि मात्रै प्रयोगशालामा लगिने हुँदा उत्पादित बिरुवा पनि भाइरसमुक्त हुने प्राविधिकहरूको दावि छ। 

कृषि, जडिबुटी तथा फलफूलको नयाँ बिरुवा उत्पादनका लागि लमजुङमा सुरू हुन लागेको टिस्यु कल्चर गण्डकी प्रदेश अन्तर्गत नै पहिलो हो। टिस्यु कल्चरमा उत्पादित बिरुवा बिक्रीवितरणमा पहिलो प्राथमिकता जिल्लालाई दिइने र त्यसपछि प्रदेश र अन्य जिल्लाहरूमा पनि बिक्री थालिने कम्पनीका कर्मचारीहरुले जानकारी दिएका छन्‌।

कृषि विज्ञहरुका अनुसार जीवित बिरुवाको रोग रहित भाग वा एउटा कोषको प्रयोग गरी टेस्ट ट्युबमा नियन्त्रित वातावरणमा प्रसारण गर्ने विधिलाई टिस्यु कल्चर प्रविधि भनिन्छ।

जैविक सुरक्षा अबलम्वन गरिने टिस्यु कल्चर ल्याबमा उच्च प्रविधि र रसायनको प्रयोग, प्राविधिकद्वारा नियमित जाँच गर्ने, उपचार गर्ने, कटिङ गर्ने गरी प्रकृयामा राखिएको टिस्युलाई प्राविधिकहरूले नै रेखदेख गरी बिरुवा उत्पादन गर्ने गरिन्छ।

प्रयोगशालामा तयार भएको त्यही सानो बिरुवा नर्सरी फार्ममा ल्याई आधुनिक प्रविधिको प्रयोगले टिस्युमा जरा, पात निकाल्ने र हुर्काउने गरिन्छ। उच्च बायो सेक्युरिटी अपनाइने हुनाले यस्ता बिरुवामा कुनै पनि रोग र भाइरस लाग्न नसक्ने र बिरुवा एकै समयको हुने भएकाले एकनासको फल लाग्ने प्राविधिकहरूको भनाई छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.