अस्पतालमा भाइरस सर्ने जोखिम बढ्यो, डरले उपचार गर्न जान छाडे अन्य बिरामी

|

भद्रपुर : एउटै भवनमा अन्य बिरामी र कोरोना सङ्क्रमणका बिरामी राखेर उपचार सुरु गरिएको झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा जोखिम बढेको भन्दै स्थानीयले गुनासो पोख्न थालेका छन्। 

भारत तथा तेस्रो मुलुकबाट फर्किएका व्यक्तिलाई राख्न बनाइएको अस्थायी क्वारेन्टाइनमा समेत स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाइएको हुन्छ। क्वारेन्टाइनमा कुनै पनि बाहिरका मानिसलाई प्रवेश निषेधसँगै संक्रमण पुष्टि नभएका व्यक्तिलाई कसैसँग भेटघाट गर्न नदिन बाँसको घेरासमेत बनाइएको छ।

तर, जिल्लाकै सबै भन्दा ठूलो एक मात्र सरकारी अस्पतालमा उपचार गराउन आउने गरिब तथा विपन्न बिरामीलाई कोरोना भाइरसबाट जोगाउन मेची अस्पतालमा त्यस्तो केही स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएको छैन। कोरोना संक्रमित र अन्य बिरामीलाई एउटै भवनभित्र राखेर उपचार गराउन अनुमति दिएका अस्पताल व्यवस्थापन तथा सञ्चालक समिति र जिल्ला स्तरीय कोभिड नियन्त्रण तथा रोकथाम समिति समेत चुपचाप बसेका छन्। 

अस्पतालको आकस्मिक कक्ष, ओपिडी सेवा, प्रसूति सेवा जाने बाटो र कोरोना सङ्क्रमितलाई आइसोलेसनमा राखेर उपचार गराउने बाटो एउटै प्रयोग गरिएको छ। यसले गर्दा अस्पतालमा अन्य उपचार  गराउन जाने बिरामी समेत कोरोना भाइरस सर्ने डरले जान छाडेका छन्।

संसारमै नभएको जात्रा मेची अस्पतालमा देखिएको स्थानीय औषधि व्यवसायी ससीम पोखरेलले बताए। पोखरेलले भने, ‘अहिलेसम्म कोरोनाका बिरामी र अन्य बिरामीलाई एउटै भवनमा राखेर कहाँ उपचार गराइँदैछ रु हो भवन एउटा भए पनि बाटो र स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएको हुन सक्छ, तर मेचीमा त्यस्तो देखिँदैन।’ 

मेचीमा कोरोना सङ्क्रमणका बिरामी राख्नुका साथै अहिले पिसीआर परीक्षण पनि सुरु गरिएको छ। यसअघि जिल्लास्तरीय कोभिड नियन्त्रण तथा रोकथाम समितिले मेची अस्पतालको नयाँ भवनमा कोरोना उपचार केन्द्र र स्वास्थ्य कार्यालय झापाको प्रयोगशालामा पिसीआर ल्याब सञ्चालन गर्ने निर्णय गरेको थियो। तर, समितिले आफैंले गरेको निर्णय उल्ट्याए। दुवै सेवा मेची अस्पतालको भवनमा सुरु गरिसकेको छ। मेची अस्पताल नजिकै कोरोना सङ्क्रमितको उपचार सेवा हुन नदिन भन्दै त्यस बेला स्थानीयले सङ्घर्ष समिति गठन गरेर विरोधसमेत जनाएका थिए। 

कोरोनाको उपचारपछि मेचीमा जाने छाडे बिरामी

मेची अस्पतालमा कोरोना सङ्क्रमितको उपचार सुरु भएपछि अस्पतालमा अन्य उपचार लिने बिरामी जान छाडेका छन्। अस्पतालले साउन १९ गते साँझ ६ जना झापामा पुष्टि भएका कोरोना बिरामीलाई अस्पतालको आइसोलेसनमा राखेर उपचार सुरु गरेको भोलिपल्टदेखि नै सेवा लिन जाने बिरामीको सङ्ख्या ह्वात्तै घटेको छ।

स्वास्थ्य बिरामी लागु भएपछि मेचीमा उपचार गराउने बिरामीको सङ्ख्या बढेको थियो। दिनमा सात सयदेखि एक हजारसम्मले सेवा लिन्थे। जहिले देखि कोरोना सङ्क्रमितको उपचार सुरु भएपछि सेवा लिनेको सङ्ख्या दिनहुँ घट्न थालेकाे छ। 

अहिले दिनमा बढीमा सय जनासम्म उपचार गराउन अस्पताल जान्छन्। अहिले उपचार गराउन जाने बिरामी गरिब तथा विपन्न समुदायको रहेकोले बाध्य भएर उपचार गराउन जाने गरेका औषधि व्यवसायी पोखरेलको भनाइ छ।

कोरोना उपचार सुरु भएपछि अस्पतालमा उपचार गराउन आउन पनि डर लाग्न थाल्यो, सेवाग्राही कपिल राजवंशीले भने, ‘अब पनि अस्पतालमा यस्तै रहिरहे गरिब तथा विपन्न परिवार उपचार गराउन नपाएर नै मर्छन्।’ ‘कोरोनाको बिरामी राख्न थालेपछि त्यहाँ कार्यरत चिकित्सक पनि डराउन थालेका छन्,’ अस्पतालका कर्मचारी स्रोतले भन्यो, ‘पहिलाभन्दा अहिले धेरै बिरामी आउने चाप घटेको छ। कोरोना बिरामीको उपचार छुट्टै भवनमा गरेको भए अन्य बिरामी पनि उपचार गराउन आउँथे।’

सुनसरी र मोरङको उपचार केन्द्र भरेपछि मेचीमा संक्रमित राख्न थाल्यो  

मेची अस्पताल सञ्चालक तथा व्यवस्थापन समितिले कुनै पूर्वजानकारी तथा सूचना प्रवाह नगराई एकैचोटि कोरोना संक्रमण पुष्टि भएका बिरामीहरूलाई अस्पतालको आइसोलेसन वार्डमा ल्याएर राख्न थाल्यो। 

साउन १९ गते सोमबार दिउँसो सम्म कोरोनाका बिरामी राख्ने कुनै औपचारिक जानकारी बाहिर नदिएका अस्पताल सञ्चालक तथा व्यवस्थापन समिति र स्वास्थ्य कार्यालय झापाले सोही दिन साँझ जिल्लामा पुष्टि भएका ६ जना सङ्क्रमितलाई आइसोलेसनमा राखिएको र मेचीमा कोरोनाको उपचार सुरु भएको हल्ला गर्यो। 

मेचीमा कोरोनाको उपचार सुरु भएकै हो त भनी थाहाकर्मीले त्यस विषयमा खोजी गर्दा त्यस दिन कोसी अस्पताल विराटनगर, पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज गाँठगोउ र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपचार केन्द्रमा संक्रमित भरिरहेको हुँदा आआफ्नै जिल्लामा सङ्क्रमितलाई राख्न आदेश आएपछि मेची अस्पतालको आइसोलेसन वार्डलाई रातारात कोरोना उपचार केन्द्र बनाइएको हो। मेचीमा स्थापना गरिएको आइसोलेसन वार्डमा उच्च ज्वरो र रुघा खोकीका लक्षण देखिएका बिरामीलाई मात्र राख्ने गरिएको थियो। 

त्यहीबाट उनीहरूको स्वाब सङ्कलन गरी पठाइन्थ्यो र कोरोना पुष्टि भएपछि सुनसरी र मोरङको उपचार केन्द्रमा लगिन्थ्यो। अहिले त्यही आइसोलेसनलाई कोरोनाको उपचार केन्द्र बनाइएको छ।

आइसोलेसनमा त्यस्तो केही कोरोनाविरुद्ध उपकरण जडान गरिएको छैन। एउटा खोकीको भ्याक्सिन दिने मेसिनबाहेक केही नभएको अस्पताल स्रोतले बताए। सङ्क्रमितको उपचारका लागि अस्पतालको डा गोविन्द कँडेलसहित केही नर्सलाई खटाइएको छ। यता अस्पताल सञ्चालक तथा व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ पोर्तेलले भने, ‘प्रदेश सरकारको निर्णय बमोजिम नै मेचीमा कोरोना उपचार केन्द्र सुरु भएको हो।’ 

चार दिनमै भरियो आइसोलेसन

सोमबारदेखि मेची अस्पतालको आइसोलेसन राखिएको कोरोना संक्रमित चार दिनै भरिएको छ। २२ बेडको आइसोलेसनमा २२ जना संक्रमित भर्ना गरिएसँगै आइलोसेलन भरिएको हो। मेचीमा संक्रमित राख्ने ठाउँ नभएपछि मेचीनगर नगरपालिकाका ८ मध्ये २ जनालाई धाइजन स्वास्थ्य चौकीको क्वारेन्टानमा राखिएको छ। 

अहिले जिल्लामा पुष्टि भएका सङ्क्रमितलाई क्वारेन्टाइन पठाउन थालिएको छ। मेची अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.पीताम्बर ठाकुरका अनुसार अस्पतालको आइसोलेसनका लागि थप बेड राख्न सक्ने स्थान नभएको र यसको लागि छुट्टै स्थान चाहिन्छ।

कोरोना उपचार केन्द्र बनाउने योजना अलपत्र

जिल्लास्तरीय कोभिड १९ नियन्त्रण तथा रोकथाम समिति झापाले मेची अस्पतालको निर्माणाधीन भवनमा कोरोना उपचार केन्द्र बनाउने निर्णय गरेको थियो। जुन बेला भारत र तेस्रो मुलुकबाट फर्किएका व्यक्तिहरूमा धमाधम कोरोना संक्रमण पुष्टि हुन थाल्यो, त्यही बेला समितिले मेचीको निर्माणाधीन भवनमा कोरोना उपचार केन्द्र बनाउने निर्णय गरेको थियो।

अहिले समुदायस्तरमा कोरोना संक्रमण फैलिन थालिसकेको छ। तर, कोरोना उपचार केन्द्र बनाउने योजना जिल्लामा सेलाएकाे छ। समितिले माग गरे बमोजिमको सरकारले बजेट नछुट्टाउँदा जिल्लामा कोरोना उपचार केन्द्र बनाउने योजना अलपत्रमा परेको हो। मेचीको निर्माणाधीन भवनमा एक सय बेडको कोरोना उपचार बनाउने निर्णय गरेको समितिका संयोजक तथा अस्पताल सञ्चालक तथा व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ पोर्तेलले जानकारी दिए। 

सरकारले बजेट नपठाउँदा कोरोना उपचार केन्द्र बनाउन ढिलाइ भइरहेको बताउँदै उनले भने, ‘बजेट आएपछि काम सुरु हुन्छ, तर कहिले आउँछ थाहा छैन।’  
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.