टिंकर जोड्ने सडक एक महिनाभित्रै खन्‍न थालिने

|

दार्चुला : दार्चुला-टिंकर सडकको घाटी बगरदेखि उत्तरतर्फ सडक निर्माण गर्ने जिम्मेवारी पाएको नेपाली सेनाको विकास निर्माण टोली सदरमुकाम खलंगा आइपुगेको छ।

चारवटा कन्भेसहित महासेनानी रमेश गुरुङको टोली खलंगा पुगेको हो। करिब २ सय जनासहित निर्माण क्षेत्रमा खटिने उक्त टोलीको पहिलो टोली खलंगा पुगेको दुर्गा दल गुल्मका गुल्मपति विक्रमदेव थापाले जानकारी दिएका छन्।

व्यासको घाटी बगरदेखि ८७ किलोमिटर तिंकर भञ्ज्याङसम्म सडक निर्माणको जिम्मेवारी पाएको उक्त टोलीको मुख्यालय खलंगामा रहने छ। निर्माणस्थलमा क्याम्प खडा गरेर काम थाल्ने सैनिक स्रोतले जानकारी दिएको छ।

क्याम्प राख्‍ने स्थान र निर्माण कार्यलाई अगाडि बढाउनेबारे अध्ययन गर्न सेनाको विकास निर्माण टोली खलंगा पुगेको गुल्मपति थापाले बताए। 'एक महिनाभित्रै निर्माणको काम सुरु गर्ने गरी काम गर्ने छ,' उनले भने। 

स्पेसल फोर्स पनि आउँदै

सेनाले निर्माण गर्ने सडक तथा नेपाली भूभाग सुरक्षार्थ सेनाको एसएफ (स्पेशल फोर्स) पनि केही महिनाभित्रै दार्चुला आइपुग्‍ने सैनिक स्रोतले जानकारी दिएको छ। त्रिदेशीय सीमा क्षेत्रमा सडक निर्माणको सम्पूर्ण सुरक्षार्थ एसएफ दार्चुला पुग्‍ने स्रोतले बताएको छ।

निर्माण र सीमा सुरक्षाका लागि रेन्जरर्स फोर्स पनि आउन सक्ने छ। तर पनि सीमा क्षेत्रका भएका कारण रेन्जरर्स फोर्स नपठाइ एसएफ पठाउने तयारीमा सरकार रहेको स्रोतले जानकारी दिएको छ। अन्तर्राष्ट्रिय मापदण्ड, तालिम र निर्देशनसहित एसएफ दार्चुला आउने छ।

१५० मिटर बाटो बाँकी

सेनाले निर्माण जिम्मा पाएको घाटीबगर-टिंकर बाटो १५० मिटर मात्रै निर्माण बाँकी रहेको दुर्गा दल गुल्मका गुल्मपति विक्रमदेव थापाले जानकारी दिएका छन्। 

कूल ४५० मिटर चट्टानी भूभागमा गोरेटो बाटो निर्माण गर्ने जिम्मेवारी पाएको सेनाले हालसम्म ३०० मिटर बाटो निर्माण सम्पन्‍न गरेको गुल्मपति थापाले जानकारी दिएका छन्। 

कडा चट्टानी भूभाग, महाकाली नदीले कटान गर्दै जाने र निरन्तर वर्षाका कारण बाटो निर्माण गर्न चुनाैती थपिएकाे र झरी कम भएकाले अबको केही समयमै घोरेटो बाटो निर्माण सक्ने गुल्मपति थापाले जानकारी दिए। 

घोरेटो बाटो निर्माण भएपछि सहजै व्यासको वडा नम्बर १ छाङरु र टिंकर पुग्‍न सकिने छ। त्यसपछि सेनालाई दार्चुला-टिंकर सडक निर्माण गर्न पनि सजिलो हुने छ। सरकारले यसै वर्ष छाङ्‍रुमा सशस्त्र प्रहरीको गुल्म र प्रहरी चौकी तथा तिंकरमा प्रहरी चौकी निर्माण गर्ने योजना बनाइसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.