संकट बढ्न नदिन काठमाडौंमा निषेधाज्ञा जारी हुन सक्ने

|

काठमाडौं स् उपत्यकामा दिनहुँजसो ५० जनाभन्दा कोरोना संक्रमित थपिँदै गएका छन्। यही अनुसार संक्रमित थपिँदै जाँदा काठमाडौंमा कोभिड(१९ को संकट वीरगञ्जमा जस्तै हुने सम्भावना छ।

काठमाडौंमा लकडाउन अवधिमा थोरै संक्रमित थिए। लकडाउन खुकुलो गरेसँगै संक्रमित थपिँदै गएका हुन्। यसको प्रमुख कारण भनेको सडक र सार्वजनिकस्थलमा मानिसको ओहोरदोहोर बढी हुँदै जानु हो। यससँगै स्वास्थ्य सुरक्षाका न्यूनतम मापदण्डसमेत नागरिकले बेवास्ता गर्दा यो समस्या देखिएको स्वास्थ्यसम्बन्धी सरोकारवालाहरूले बताउन थालेका छन्। 

सार्वजनिक यातायात, सार्वजनिक स्थान, होटलमा वा बजारमा मानिसको भिडभाड अधिक मात्रामा बढेको छ। चाडपर्वको नाममा भीड बढ्ने वा विभिन्‍न सभा सम्मेलनमा मानिसको भेलामा कमी आएको छैन।

काठमाडौंका सार्वजनिक स्थानमा न सामाजिक दूरी कायम गरिएको छ न नाक मुख छोप्ने गरी मास्क नै लगाएका मानिस भेटिन्छन्। सुरक्षाकर्मीले लकडाउनको सुरुवाती दिनमा अतिआवश्यक काममा निस्कँदा लाठी प्रहारदेखि फलामको सनासोले च्याप्ने र घण्टौंसम्म नियन्त्रणमा लियो। देशमा कोरोना संक्रमणको सुरुवाती अवस्थामा भने सरकारले काठमाडौंमा सेना नै परिचालन गरेर नागरिकलाई घरमै रोक्न सफल भएको थियो।

अस्पतालमा जाँदा समेत बाटोमा सरकारले अवरोध गरेको भन्दै विरोध भएको थियो। सरकारले कोरोना जोखिम न्यूनीकरण र संक्रमणको जोखिम कसैलाई नहोस् भनी यसो गरेको थियो।

तर अहिले अवस्था अर्कै छ। लामो समयपछिको लकडाउनपछि देशभरका उद्योगधन्दा कलकारखाना लगायत बजार खुलिसकेका छन्। लामो दूरीका बाहेक सबैखाले सार्वजनिक यातायात चलिरहेका छन्। जसका कारण संक्रमण बढ्दै गएको छ। 

पछिल्लो समय मानिसहरुले कोरोना जोखिमलाई हल्का रुपमा लिने गरेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले कोरोनाको नियमित प्रेस ब्रिफिङमा यसबारे सचेत गराउँदै आइरहेका छन्। 

न सामाजिक दूरी न स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाइएको छ। आखिर संक्रमण बढदै गएपनि मानिसको भीडभाडमा कमी आएको छैन।

अहिले काठमाडौं उपत्यकालगायत देशभरका ठूला ठूला सहरका जतिजति खुकुलो भयो उति-उति मानिसहरुको भिडभाड बढन थालेको छ। नागरिक जिम्मेवार नबनेका हुन् कि वा सरकार जिम्मेवारीबाट पन्छिँदै गएको हो? यो गम्भीर प्रश्न सबै सामु तेर्सिएको छ। सरकारले बारम्बार चाडपर्व मनाउने बहानामा भिडभाड नगर्नू,सामाजिक दूरी कायम गर्नू,स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नु भन्दा पनि नागरिकले बेवास्ता गरिरहेका छन्।

'दलले संस्कार सिकाएनन्'

नागरिकले स्वास्थ्य जनचेतनाको विषयमा गहिराइमा गएर बुझ्न नसक्दा अहिले बजार वा सार्वजनिक स्थानमा बढी भिडभाड हुन थालेको समाजशास्त्री डा. दिनेश प्रसाई बताउँछन्। सरकारले नागरिकको स्वास्थ्य सुरक्षाको लागि विशेष रणनीति बनाउन नसक्दा पनि उनीहरुले बेवास्ता गरिरहेको हुन सक्ने उनले बताए।

'नागरिकले सामाजिक जनस्वास्थ्यको विषयमा बढी जिम्मेवार हुन नसक्दा भिडभाड बढिरहेको छ,' उनले भने,'सरकारले भनेका कुराहरु पालना गर्नुपर्छ। मानिसको आवश्यकता भन्दा माथि सुरक्षा नहोला तर सामान्य जिम्मेवार निर्वाह गर्न पनि चुक्नु हुँदैन।'

नेपालमा दलले र दलका प्रतिनिधिले गलत संस्कारको नजिर बसाउनु अहिलेको यस्तो परिणाम भएको प्रसाई सुनाउँछन्। राजनीतिक दलले यो बेलामा सबैले सामाजिक स्वास्थ्यको नियम पालन गरौ भनेर कसैले सार्वजनिक विज्ञप्ति वा नेताहरुले कहीँकतै नबोलेको उनको दाबी छ।

उनले भने, 'ठूलो सभा सम्मेलन गरी आफ्ना पार्टीको सदस्यता देखाउने गतिविधि बढिरहेको छ। पार्टी प्रवेश पनि यहीँ बेला भइरहेको छ।' सर्वसाधारणले भन्दा पनि नेताहरुले पत्रकार बोलाएर कार्यक्रम गर्नेदेखि स्वास्थ्य सुरक्षाको मापदण्ड नअपनाएको उनले सुनाए। पहिले अभिभावकले नियम पालना गर्नुपर्ने उनले जोड दिए। 'तब न नागरिकले नियम पालना गर्छन्', उनले भने।

'नागरिकमा कोरोना डर हरायो'

सर्वसाधारण नागरिकले लकडाउन खुल्यो भनेर दैनिक गतिविधि सामान्य अवस्थामा झैँ बढाउन थालेको पाइएको छ। यो रोगप्रति नागरिकहरूमा डर हराउँदै गएको हुन सक्ने भएकोले मानिसको बढी भिडभाड हुन थालेको जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षित बताउँछन्।

उनले भने, 'सात-आठ महिना भइसक्दा संक्रमित २२ हजार र मृत्युदर पनि कम रहेकोले पनि मानिसले यसलाई बेवास्ता गरिरहेका छन्।' नेपालमा यसलाई भयावहका रुपमा लिइएको थियो। तर त्यस्तो पनि नदेखिएकाले नागरिकमा आत्मबलको विकास भएको हुन सक्ने उनको दाबी छ।

विश्‍वको आँकडामा नेपालमा कोरोनाबाट हुने मृत्युदरको संख्या कम छ भनेर नागरिकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगरेकोमा उनले आपत्ति जनाए। सार्वजनिक स्थान र भीडभाडमा जाँदा स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य अपनाउनुपर्नेमा उनले जोड दिएका छन्।

'निषेधाज्ञा जारी हुन सक्छ'

सरकारले कोरोना संक्रमित थोरै हुँदा चैत ११ गते गरेको लकडाउन अहिले हटिसकेको छ। संक्रमितको संख्या बढेको अवस्थामा साउन ७ देखि लकडाउन खुला गरिको थियो। संक्रमित बढन सक्ने र तिनीहरुको उपचारका लागि अस्पताल र चिकित्सकको तयारी गर्न सुरुमा लकडाउन गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्‍वर गौतम बताउँछन्। सरकारले अहिलेको जस्तै सार्वजनिक स्थानमा बढी भीडभाड बढ्दै जान हो भने केही कठोर निर्णय गर्न सक्ने उनले बताए।

प्रवक्ता गौतमले भने, 'नागरिकले सरकारको भद्र आदेशलाई अवहेलना गरे नियन्त्रणमा लिएर संक्रामक ऐनअनुसार कार्वाही गरिन्छ। संक्रमण बढदै गएकोले कडाइ गर्न तयारी गर्दैछ।'

नागरिकले बढी उल्लंघन गरेमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा गर्न सक्ने उनले बताए। 'मानिसहरु सामाजिक दूरी कायम नगरी माक्स पनि नलगाई​ हिँड्ने गरेका छन्', उनले भने,  'अब त्यस्तो अवस्थालाई रोक्न सरकारले निगरानी बढाउँदै कारवाही पनि थाल्ने छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.