|

दाङ : पूर्व सभामुख कृष्णबहादुर महराले गलत राजनीतिक संस्कारका कारण मुलुक समस्यामा रहेको बताएका छन्।  शनिवार दाङको घोराहीमा नेपाल पत्रकार महासंघ दाङ शाखा र प्रेस संगठन दाङले गरेको पुरस्कार वितरण कार्यक्रममा बोल्दै महराले यस्तो बताएका हुन।

'सामन्तवाद र साम्राज्यवादसँगको लडाइमा उदार पूँजीवाद र दलाल नोकरशाही पूँजीवाद हावी भएको छ', उनले भने, 'त्यहीकारण राजनीतिक विसंगति उत्पन्‍न भइरहेको छ। यसविरुद्ध सबै एकजुट हुनुपर्ने अहिलेको आवश्यकता हो।'

त्यसैगरी उनले मुलुकको परिवर्तनका लागि पत्रकार कृष्ण सेनले खेलेको भूमिकाको चर्चा जति गरे पनि नसकिने बताए। उनले सेनको वैचारिक धरातलमै लोकतान्त्रिक गणतन्त्र स्थापना भएको स्मरणसमेत गरे। 

पछिल्लो समयमा उठेका जे जति कुराले सेनप्रति अपमान गर्न नहुने समेत उनले बताए। महराले राममार्गको विषयमा उठेका कुराले सेनप्रति अपमान मात्रै नभई सबै शहिदहरुप्रति अपमान भएको बताए। 

त्यस अवसरमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य अजयदीप शर्माकी आमा लोककुमारी रिजालको चौथो स्मृति दिवसको अवसर पारेर विभिन्‍न पुरस्कारबाट ६ जना पत्रकारलाई सम्मान गरिएको हो।

यस वर्षको कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष केबी मसाल र पत्रकार शरद अधिकारीलाई प्रदान गरिएको छ। 

त्यसैगरी नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य अजयदीप शर्माको परिवारले स्वर्गीय आमा लोककुमारी रिजालको स्मृतिमा प्रेस संगठनमा स्थापित लोककुमारी रिजाल स्मृति पत्रकारिता पुरस्कार पत्रकार पाण्डवप्रसाद शर्मालाई प्रदान गरिएको छ। 

प्रेस संगठन दाङमा स्थापित प्रतिभा पुरस्कारबाट पत्रकार लक्ष्मण विश्‍वकर्मा, प्रोत्साहन पुरस्कार शान्तराज बुढा र अमृता भुसाललाई प्रदान गरिएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.