रिपोर्ट कुर्दै १७ दिनदेखि क्‍वारेन्टाइनमा शर्मा

|
समाचार प्रतिनिधि तस्बिर

पर्वत : रोजगारीको सिलसिलामा भारतमा रहेका पर्वतको फलेवास नगरपालिका-१० कुर्घाका जीवनाथ शर्मा गत साउन ७ गतेदेखि क्‍वारेनटाइनमा बसिरहेका छन्। 

उनीसँगै र त्यसपछि क्‍वारेन्टाइनमा बसेकाहरूको स्वाबको परीक्षण रिपोर्ट आइसक्यो। नेगेटिभ रिपोर्ट आएका सबैजना केही दिनअघि नै घर गइसकेका छन्।

तर जीवनाथ भने आफ्नो रिपोर्ट आउने दिन गनेर क्‍वारेन्टाइनमा बसिरहेका छन्। साधरणतया स्वाब सङ्कलन गरेको २-३ दिनमै रिपोर्ट आउने गरेको छ। तर उनी भने १७ दिनदेखि होटेलमा राखिएको क्‍वारेनटाइनमा बसिरहेका छन्। 

साउन १२ गतेपछि शर्माको स्वाब दुई पटक संकलन गर्नुपर्ने बाध्यता भयो। पर्वत अस्पताल स्रोतका अनुसार पहिलो पटक लिइएको स्वाब हराएपछि दोस्रो पटक संकलन भयो। 

दोस्रो पटक लिइएको स्वाब राखिएको भिटिएमको बिर्को राम्रोसँग नलागेका कारण पोखियो। यही कारण शर्माबाट गत बिहीबार पुनः तेस्रो पटक स्वाब लिएर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाइएको छ।

पहिलो पटक शर्मासहित ३२ जनाको स्वाब संलन भएको थियो। ३१ जनाको रिपोर्ट साउन १६ गने बेलुका नै आयो तर शर्माको आएन। क्षयरोग उपचार केन्द्र पोखरामा पठाइएको स्वाब हराएपछि उनको रिपोर्ट नआएको हो। 

दोस्रो पटक साउन २० गते स्वाब लिइएको थियो। ३० जनाको स्वाब दोस्रो पटक लिएर १०-१० जनाको प्याकिङ गरेर पठाइएको थियो। शर्माको स्वाब राखिएको प्याकमा उनीसहित अर्का एकजनाको पनि पोखियो। स्वाब पोखिएर अरू ८ जनाको स्वाब राखिएको भिटिएममा मिसिएपछि १० जनाकै स्वाब फेरि संकलन गरिएको थियो।

रिपोर्टको पर्खाइमा कुश्माको होटेल बन्दनास्थित क्‍वारेनटाइनमा बसिरहेका शर्माले होटेलको भाडा आफैले बेहोर्नुपर्नेछ। उनले खाएको खाना र खाजाको रकम उनको घर रहेको फलेवास नगरपालिकाले तिर्ने छ। पटक पटकको परीक्षणमा पनि रिपोर्ट नआएर लामो समय होटेलमा बस्दा आफूलाई आर्थिक समस्या भएको शर्माले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.