देउवाविरुद्ध लड्ने नेता तय गर्नै कठिन

|

काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आगामी फागुन ७ गतेलाई तोकिएको छ। यद्यपी कांग्रेस पदाधिकारी नेताहरु फागुनमा महाधिवेशन गर्न नसक्ने निचोडमा छन्। त्यहीकारण महाधिवेशन वैशाख या जेठमा सार्नुपर्ने तर्क उनीहरुले गर्न थालिसकेको छन्।

तोकेको मितिमा महाधिवेशन नहुने पक्का जस्तै भए पनि नेताहरु नेतृत्व सम्हाल्न सक्षम रहेको भन्दै गुटलाई सक्रिय बनाउन तल्लीन छन्। १४ औँ महाधिवेशनमा सभापति बन्‍न मात्रै १० नेताले कसरत गरिरहेका छन्। 

साङ्गठानिक संरचना समायोजन, सदस्यता नवीकरण तथा वितरणको काम तोकिएकै समयमा नसकिने तर्क भइरहेको छ। तर असारको केन्द्रीय कार्यसमितिको बैठकले फागुनमै महाधिवेशन गर्ने निर्णय गरेपछि कांग्रेसमा महाधिवेशनको सर गर्मी बढेको हो।

सभापति शेरबहादुर देउवा फेरि पनि सभापति हुने दाउमा छन्। त्यसैको तयारीका साथ उनी अहिले विभिन्‍न विभागमा नियुक्ति, समितिमा नियुक्ति र नयाँ पार्टीका केही प्रभावशाली भित्र्याउने कसरतमा छन्। 

देउवा ४० अरु ६० 

संख्याको हिसाबले देउवा भन्दा इतर समूह बलियो छ। तर, संख्याले मात्रै भएन् देउवा बाहेक अन्यत्र विवाद बढी छ। १३ औँ महाधिवेशनमा पनि वरिष्ठ नेता रामचन्द्र पौडेलले यही ६० प्रतिशतमध्येमा पर्ने केही नेतालाई व्यवस्थापन गर्न नसक्दा चुनाव हारेका थिए। देउवाले पौडेल पक्षका अर्जुननरसिंह केसीलाई लगेर महामन्त्रीको उम्मेदवार बनाए। तर, केसीले चुनाव हारे। अहिले उनै केसी पौडेल समूहमा फर्किसकेका छन्।

१३ औँ महाधिवेशनमा देउवासँग पराजित भएका पौडेल र कृष्ण प्रसाद सिटौला पनि यसपटक पुन सभापतिकै उम्मेदवार बन्ने तयारीमा छन्।  उमेरका हिसाबले ७० हाराहारी पुगेका र कटेका शिर्ष नेताहरु यसपटक नेतृत्व लिने र विदा हुने मनस्थितिका साथ अघि बढेका छन्।

कुनै समय सभापति देउवाबाट नेवि संघको उत्तराधिकारी लिएका उपसभापति विमलेन्द्र निधि पनि यस पटक सभापतिको तयारीमा छन्। सरकारले जारी गरेको नेपालको नयाँ नक्सा र नागरिकता विधेयकको विषयमा उनै निधि र सभापति देउवाबीच पार्टी कार्यालयमा चर्काचर्की भएको थियो।

त्यही बेलादेखि देउवाले निधिलाई पहिले जसरी साथ दिएका छैनन्। अहिले निधि पार्टीमा आफ्नै गुट स्थापित बनाउन कसरत गरिरहेका छन्। उनले देउवा पक्षका नेतासँगै पौडेल र सिटौला पक्षका केही प्रभावशाली नेताहरुसँग भेटघाट बढाइरहेका छन्। 

कस्तो छ १० नेताको तयारी ?

कांग्रेसको १४ औँ महाधिवेशन अघिल्लो महाधिवेशन भन्दा चर्काे प्रतिस्पर्धा र गुट र उप गुट सक्रिय हुने महाधिवेशन भनेर नेताहरुले नै भन्दै आएका छन्।  

नेताहरुले भने जसरी नै अहिले भावी सभापति बन्‍न नेताहरुले गुट भेला, फरक गुटको नेतासँग भेटघाट, जिल्ला सभापतिहरूसँगको नियमित फोन सम्पर्क बढाइरहेका छन्। १० जना आकांक्षी भएपनि सभापति बन्‍ने त एकै जना हो। त्यसैले कुन नेताले कस्तो रणनीति अपनाउलान् भन्‍ने सबैको चासोको बनेको विषय छ।  

शेरबहादुर देउवा 

कांग्रेस सभापति देउवा कुनै पनि हालतमा फेरि एक पटक सभापति र प्रधानमन्त्री बन्‍ने रणनीतिका साथ अघि बढेको देखिन्छ। ‘आगामी निर्वाचनमा नेकपाले पहिले जसरी मत ल्याउँदैन। मत ल्याउने गरी एउटै काम गरेको छैन,’ देउवाको सचिवालयले भन्यो, ‘त्यसैले एक कार्यकाल सभापति बन्‍ने र सरकारको नेतृत्व लिने उहाँको रणनीति छ। त्यही रणनीतिअनुसार अघि बढिरहनु भएको छ।’

पछिल्लो समय पार्टी उपसभापति विमलेन्द्र निधिसँग सम्बन्ध बिग्रिएसँगै देउवाले फरक पार्टीबाट आएकालाई च्याप्‍न थालेका छन्। उनले अहिले लोकतान्त्रिक फोरमबाट आएका विजय गच्छदार र राप्रपाबाट आएका सुनिल बहादुर थापालाई नजिक बनाएका छन्।

त्यसो त आफैँ सभापति बन्‍ने तयारी गरेका निधि र सिटौलाको विकल्पमा देउवाले गच्छदार र थापालाई लिएका छन्। कांग्रेसमा निधि र गच्छदार दुवै मधेसका प्रभावशाली नेता हुन्।

देउवाले जिल्लाका क्षेत्रीय अधिवेशनबाट चुनिने ४ हजार १ सय २५ महाधिवेशन प्रतिनिधि कसरी आफ्नो पक्षमा पार्न सकिन्छ भन्‍ने रणनीतिका साथ धमाधम विभाग गठन गरिरहेका छन्। विभिन्‍न नियुक्तिहरू गरिरहेका छन्।

अहिले देउवाले नियुक्त गरेका नेताहरू पुन: महाधिवेशन प्रतिनिधि भएर आउने सम्भावना भएकाहरु मात्रै छन्। त्यस्तै देउवाले फागुन १९ गते ३० र केही दिनअघि मात्रै ४ सय ७९ पुराना नेता,कार्यकर्तालाई ज्येष्ठ राजनीतिज्ञ सभामा ल्याए। यो पनि देउवाको महाधिवेशन केन्द्रीत तयारी नै देखिन्छ।  

रामचन्द्र पौडेल 

यता वरिष्ठ नेता रामचन्द्र पौडेल पुन सभापति बन्‍ने आकांक्षाका साथ तयारी गरिरहेका छन्। यसपाली पौडेललाई अघिल्लो महाधिवेशनको जस्तो उम्मेदवार बन्‍न पनि त्यति सहज भने छैन।

उनको समूहमै रहेका आधादर्जन नेताहरु आफैं सभापतिको उम्मेदवार हुने बताउँदै आएका छन्। पौडेलले १४ औँ महाधिवेशन केन्द्रीत सम्पर्क कार्यालय अनामनगरमा खोलिसकेका छन्। उनले नेता कार्यकर्तासँग भेटघाट पनि बाक्लो बनाएका छन्।

त्यस्तै पौडेलको निवास बोहोराटार हाइटमा पनि नेता कार्यकर्ताको बाक्लो उपस्थिति देखिन्छ। पौडेल देउवाले पछिल्लो समय गरेको प्राय सबै खालका निर्णयको विरोध पनि गर्दै आइरहेका छन्।

उनले शशांक, शेखर कोइराला र प्रकाशमान सिंहलाई केन्द्रीत गरेर पारिवारिक विरासतबाट आएका नेताहरु हैन धुलोबाट आएको नेतालाई छोड्न तयार रहेको पनि बताएका छन्।

‘युवा नेता छोड् छोड् भन्छन्। म प्रतिक्षामा छु। भारतमा मोदी कसरी आए,’ उनले गत हप्ता भएको एक कार्यक्रममा भने, ‘उनीभन्दा सिनियर नेता थिए होलान् त्यहाँ पनि। माटो, धुलोबाट उठेको नेता आओस् छोड्न तयार छु।’  

कृष्ण सिटौला 

पूर्व महामन्त्रीसमेत रहेका कृष्णप्रसाद सिटौला पनि १३ औँ महाधिवेशनमा देउवाले हराएका अर्का नेता हुन्। १३ औँ महाधिवेशनबाट कांग्रेसमा तेस्रो धारको नेतृत्व गरेका सिटौला यसपटक पनि स्वभाविक रुपमा आफू सभापतिको उम्मेदवार रहेको बताएका छन्।

उनले भने, ‘म सभापतिको उम्मेदवार नहुने कुनै कारण छैन।’ त्यस्तै उनले केही महिनाअघि गृह जिल्लामा भएको एक कार्यक्रममा १४ औँ महाधिवेशनमा आफू पुनः सभापति लड्ने घोषणा गरेका थिए। सिटौलाले महाराजगन्जमा महाधिवेशन केन्द्रीत सम्पर्क कार्यालय पनि खोलिसकेका छन्। 

विमलेन्द्र निधि 

सभापतिको अर्का आकांक्षी हुन्, पार्टी उपसभापति विमलेन्द्र निधि। देउवाको उत्तराधिकारीको कांग्रेसमा उदाएका नेता निधि यसपाली देउवासँग ठाकठुक परेसँगै आफ्नै गुट स्थापित गर्न लागिपरेका छन्। तर, अर्काे महत्वपूर्ण कुरा के भने देउवाकै समूहबाट उपसभापति निर्वाचित निधिलाई त्यति सजिलो भने छैन।

उनले महाधिवेशनकै लागि संस्थापन पक्षकै केही नेता र संस्थापन इतरका नेताहरुसँग भेटघाट बढाइरहेका छन्।  उनले आज पनि पौडेल पक्षका एक शीर्ष नेतासँग महाधिवेशन केन्द्रित छलफल गर्दैछन्। त्यस्तै निधिले यसअघि पार्टी महामन्त्री शशांक कोइरालालाई भेटेर आफूलाई सहयोग गर्न आग्रह गरेका छन्। 

शशांक कोइराला 

१३ औँ महाधिवेशनमा पौडेल समूहबाट महामन्त्री निर्वाचित भएका र १४ औँ महाधिवेशनमा आफैं सभापतिको उमेदवार बन्ने तयारीमा रहेका अर्का नेता हुन् शशांक कोइराला। उनले अहिले पौडेल समूहमा आफ्नो छुट्टै उप गुट तयार पारिरहेका छन्।

कांग्रेसका संस्थापन बीपीका छोरा शशांकलाई कार्यकर्तासँग नजिक नभएको आरोप भने लाग्दै आइरहेको छ। त्यसो त अहिले देउवा निवासमा शशांकनिकट मानिएका दीपक गिरी महाधिवेशन केन्द्रीत छलफलका लागि पुग्‍ने गरेको पनि बताइएको छ।

शशांकले पार्टीको गुट अन्त्य गर्न आफू नै सभापतिको उम्मेदवार हुनुपर्ने बताउँदै आएका छन्।  उनले महाधिवेशन केन्द्रीत सम्पर्क कार्यालय आफ्नै निवास महाराजगञ्ज नजिकै खोलिसकेका छन्। 

प्रकाशमान सिंह 

कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिको उमेदवार बन्ने आकांक्षाका साथ तयारी गरिरहेका अर्का नेता हुन प्रकाशमान सिंह। कांग्रेसको पूर्व महामन्त्री समेत रहेका सिंहले आफू सभापतिको उम्मेदवार बन्ने बताइसकेका छन्। पौडेल समूहकै नेता सिंहले पनि महामन्त्री शशांकले झैँ गुटभित्र पनि उप गुट तयार पारिसकेका छन्।

सिंहले आफ्नै निवास चाक्सीबारी ठमेलमा नियमित नेता कार्यकर्तालाई भेटघाट गरी महाधिवेशनको तयारी गरिरहेका छन्। त्यस्तै उनले विजुली बजारमा सम्पर्क कार्यालय पनि खोलेका छन्।

कांग्रेसका सन्त नेता गणेशमान सिंहका छोरा रहेका प्रकाशमानले पनि गुट उपगुटको अवस्था अन्त्य गर्न आफू नै सभापति बन्‍नुपर्ने बताउँदै आएका छन्। सिंह गत पुस-माघमा देश दौडाहामा निस्केका थिए। जिल्ला पुग्दा उनले जिल्ला पार्टी कार्यालय तथा जिल्लामा रहेर केन्द्रसम्म प्रभाव राख्‍ने केही नेताहरुलाई पनि भेटेका थिए।  सिंहले अहिले पौडेल पक्षका र देउवा पक्षका नेतासँग पनि नियमित छलफल गरिरहेका छन्।  

शेखर कोइराला 

कांग्रेसका केन्द्रीय नेतामध्ये सबैभन्दा धेरै जिल्ला बस्ने र देशका विभिन्न जिल्लामा पुग्ने नेता हुन शेखर कोइराला। कोइराला परिवारको प्रभाव बोकेका नेता शेखर पनि १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्‍ने तयारीमा छन्।

प्राय: सबै जिल्ला पुगेर स्थानीय नेताहरुसँग राय लिई काठमाडौं फर्केपछि उनले आफू पनि सभापतिको उम्मेदवार रहेको बताएका थिए। पौडेल समूहका नेता शेखर पनि त्यही उपगुट बनाउ सक्रिय छन्। उनले कोरोना संक्रमणकै जोखिमबीच पनि आधा दर्जन जिल्ला पुगेर नेता कार्यकर्तालाई भेटिसकेका छन्। उनले जिल्ला तथा केन्द्रका नेतासँगको भेटलाई अहिले झन् बाक्लो बनाएका छन्।  

अर्जुननरसिंह केसी 

पौडेल समूहकै अर्का नेता अर्जुन नरसिंह केसी पनि सभापतिको उम्मेदवार आफू नहुनुका लागि कुनै कारण भएको बताउँदै आएका छन्। उनी कांग्रेसको केन्द्रीय कार्यसमितिमा आफू भन्दा सिनियर नेता कोही भएको बताउँदै आएका छन्।

तर, उनी देउवाविरुद्ध एक जनामात्रै सभापतिको उमेदवार हुनुपर्छ भनेर पौडेल समूहमा निरन्तर छलफल गरिरहेका नेता हुन्। १३ औँ महाधिवेशनमा देउवा समूहबाट महामन्त्रीको उम्मेदवार भएका उनी पराजित भएसँगै पौडेल समूहमा फर्केका थिए।   

रामशरण महत 

यता कांग्रेसका अर्का नेता डा. रामशरण महत पनि आफू सभापतिको उम्मेदवार बन्‍न सक्षम रहेको र उम्मेदवारी दिइने बताउँदै आएका छन्। तर, महतले पौडेल समूहबाट सभापतिको उम्मेदवारी दिन सहज छैन। 

गगन कुमार थापा 

कांग्रेसका प्रभावशाली युवा नेता गगन कुमार थापा पनि १४ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने तयारी गरिरहेका छन्। उनको पहिलो रोजाई महामन्त्री भए पनि साउन १० गते भएको कांग्रेस युवा नेताहरुको भेलामा उनले युवा नेताहरुले साथ दिए आफू सभापतिको उमेदवार बन्‍न तयार रहेको बताएका थिए।

थापा १३ औँ महाधिवेशनमा सिटौला समूहबाट महामन्त्री लडेर हारेका थिए। सिटौला समूहबाटै उमेदवार बनेर चुनाव जित्न थापालाई त्यति सहज छैन। त्यसो त उनले देउवा र पौडेल समूहमा ठाउँ पाउन पनि सजिलो छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.