काठमाडौं : भारतीय विदेशमन्त्री शुभ्रमन्यम जयशंकरले गौतम बुद्धबारे फेरि विवादित अभिव्यक्ति दिएपछि नेपालमा त्यसविरुद्ध आवाजहरू उठ्न थालेका छन्।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ’बुद्ध महान् भारतीय भएको’ भन्ने जयशंकरको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। सामाजिक सञ्जाल ट्वीटमार्फत उनले भगवान बुद्ध नेपालमा जन्मिएको बताउँदै त्यो भूभाग आजको नेपालमा रहेको पौराणिक र प्रमाणित तथ्यविरुद्ध भारतीय विदेशमन्त्रीको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएका हुन्।
‘आवेगको जवाफमा आवेग पस्किएर नेपाल र नेपालीको संवेदनशीलतामा चोट पुर्याउने काम हाम्रा लागि किमार्थ स्वीकार्य छैन’, उनले ट्वीटरमा लेखेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्म नेपालको ठोरीमा भएको बताएको प्रसंगतिर संकेत गर्दै उनले ‘राम जन्मभूमिको प्रश्न होस् या बुद्ध जन्मभूमिको, आपसी संवेदनशीलताको हेक्का नराखेर गरिने टिप्पणीले गहिरो चोट पुर्याउन सक्छ’ भनेका छन्। यसले मूल बिषय मोड्ने र दीर्घकालीन हितमा हृदय जोड्न नसक्ने पनि उनले बताएका छन्।
स्वयम् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै नेपाल बुद्ध भूमि हो भनेर नेपालको संसदमा बोलेपछि भारतीय भूमिबाट विगतमा आएका यस्ता टिप्पणी स्वत: खारेज भइसकेको स्मरण गराउँदै उनले फेरि पनि आपत्तिजनक टिप्पणी आउन अत्यन्तै दुःखद रहेको पनि बताएका छन्।
उनले बुद्ध नेपालमा जन्मिएका हुन् भनेर संसारमा कहीँबाट पनि दर्ता प्रमाण नमागिएको बताएका छन्। भारतीय उद्यमी तथा व्यवसायीहरुको छाता संगठन कन्फडेरेसन अफ इण्डियन इन्डष्ट्रीद्वारा शनिबार आयोजित इण्डिया एट ७५ भर्चुअल सम्मेलनमा सम्बोधन गर्ने क्रममा जयशंकरले बुद्ध महान् भारतीय भएको बताएका थिए।
भगवान बुद्ध नेपालमा जन्मिएका हुन् l त्यो भुभाग आजको नेपालमा रहेकोे पौराणिक र प्रमाणित तथ्य विरुद्ध भारतीय विदेश मन्त्रीको अभिव्यक्तिप्रती हाम्रो गम्भीर आपत्ति छ l
— Bishwa Prakash शर्मा (@bishwaprakash77) August 9, 2020
`आवेगको जवाफमा आवेग´ पस्किएर नेपाल र नेपालीको संवेदनशीलतामा चोट पुर्याउने कार्य हाम्रा लागि किमार्थ स्विकार्य छैन l
तपाईंको ईमेल गोप्य राखिनेछ ।