समातेर ल्याएर क्‍वारेन्टाइनमै राखियाे

|
फाइल फोटो

पाल्पा : जिल्लाको रम्भा गाउँपालिका ५ ताहुका स्थानीय यतिबेला निकै त्रसित भएका छन्। क्वारेन्टाइनबाट भागेर घरमा पुगेका युवाको कोरोना रिपोर्ट पोजेटिभ आएपछि सिंगो गाउँ नै आतंकित बनेको छ। स्थानीय ती युवाको स्वाब संकलन गरेर परीक्षणको लागि भैरहवा प्रयोगशाला पठाइएको थियो। आइतबार विहान उनको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए। 

१० दिन पहिले भारतबाट आएका ती युवा रम्भा माध्यमिक विद्यालय ताहुमा निर्माण भएको क्वारेन्टाइनमा बसेका थिए। रिपोर्ट आउन ढिला भएको भन्दै उनी रिसाएर शुक्रबार राती भागेर आफ्नो घर गएका थिए। शनिबार दिउँसो ती युवालाई प्रहरीले नियन्त्रणमा लिएर पुनः क्वारेन्टाइनमा राखेको गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले बताए।

उनी पुगेको टोल ओम भञ्ज्याङलाई अहिले पूर्ण रुपमा शिल गरिएको छ। सानो बजार रहेको टोलमा करिब १५ घर रहेका छन्। यहाँका मानिसलाई बाहिर जान रोक लगाइएको छ। भने बाहिरबाट त्यहाँ जान निषेध गरिएको छ। अहिले शिल गरिएको ओम भञ्ज्याङमा प्रहरी परिचालन गरिएको उनले बताए। 

सोमबार स्वास्थ्यकर्मीको टोली पुगेर कन्ट्याक्ट ट्रेसिङ गरेर स्याम्पलको रुपमा स्वाब संकलन गर्ने तयारी भइरहेको गाउँपालिका अध्यक्ष भण्डारीले बताए। उनीहरूको रिपोर्ट नआउँदासम्म टोललाई शिल गर्ने कार्य जारी रहने उनले बताए। तर ती युवा घरसम्म पुग्दा कुन बाटो हुँदै को कसलाई भेटे भन्नेबारे बुझ्ने कार्य भइरहेको छ। साथै ओम भञ्ज्याङमा बाहिरका मानिस पनि आएर गएको हुन सक्ने आशंका पनि गरिएको छ।

शुक्रबार रातीदेखि  शनिबार रातीसम्म ओम भञ्ज्याङ आएर फर्किएका अन्य गाउँका मानिसलाई समेत सुरक्षित घरमै बस्न अध्यक्ष भण्डारीले अपिल गरे।  कोरोना रिपोर्ट पोजेटिभ देखिएका ती युवा भारतीय सेनामा कार्यरत छन्।

उनी १३ दिन अघि भारतबाट गाउँ फर्किएका थिए। समुदायस्तरमा कोरोना जोखिम न्यूनीकरण गर्न स्थानीय सर्वसाधारण, कर्मचारी, जनप्रतिनिधि लगायतको स्वाब परीक्षण गरिएको थियो। ती युवाबाहेक अन्य ३६ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.