नेतृत्वको अडान नफेरिए हस्तक्षेप गर्ने चेतावनी

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले पार्टीभित्रको विवाद सहमतिमा समाधान गर्नुपर्नेमा जोड दिएका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल बीचको शक्ति संघर्षको कारणले उत्पन्न विवादले पार्टी फुटको संघारमा पुगेपछि सांसदहरु एकजुट भएर यसो भनेका हुन्।

आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै ६१ सांसदहरुले पार्टीभित्रको विवादमा सहमति गरेर अघि बढ्नुको विकल्प नभएको बताएका छन्। पार्टीभित्र देखिएको समस्या समाधानका गर्नका लागि नेताहरुले गुटबन्दी तोड्नुपर्नेमा जोड दिएका छन्। 

विगतमा टुटफुट र विभाजन भोग्दै पार्टी भएकाले नेताहरुले अहिलेको अवस्थामा जनताको अपेक्षा पुरा गर्नका लागि सहमतिमा अघि बढ्नुपर्नेमा जोड दिएका छन्। शिर्ष नेताहरुले अहिलेको अन्तर्विरोधले जनतामाथि घात पुग्ने उल्लेख गरेका छन्। 

पार्टीभित्रको समस्या समाधान गर्नका लागि पार्टी एकताको बाँकी कामलाई पूर्णता दिएर महाधिवेशनलाई केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्। विश्वभर फैलिएको कोभिड १९ ले देशभर आक्रान्त बनिरहेको बेलामा शीर्ष नेता विवादमा भुलेका सांसद विशाल भट्टराईले बताए। 

जनताको पक्षमा लाग्ने प्रतिबद्धता 

नेकपाभन्दा अगाडि (विगतका दुई पार्टी) रहेका विभिन्‍न विचार समूहमा उपल्लो नेतृत्व तहहरुसँग विभक्त भए पनि तत्काललाई एकता महाधिवेशनसम्म पार्टीको विधान र एकताको भावना समेटिने गरी सिंगो देश र जनताको हितलाई केन्द्रमा राखेर पार्टीलाई एकताबद्ध बनाउने सामूहिक पहलकदमी गर्ने निर्णय सांसदहरुले गरेका छन्। 

पार्टीभित्रको विवादलाई विधि र पद्धतिअनुसार समाधान गर्ने र विभिन्न क्षेत्रमा पार्टी एकता विभाजनको पक्षमा हुने नकारात्मक प्रचारलाई रोक्ने  सहमति समेत भएको छ।

विधि र पद्धतिमा लागौं

नेकपाका सांसद गणेश पहाडीले पार्टीभित्रको विवाद विधि र पद्धतिमा अघि बढ्नुपर्ने बताएका छन्। पार्टीभित्रको विवाद सहमतिमा समाधान गरे अघि बढ्नुपर्ने बताए।

'पार्टीभित्रको विवाद समाधान गर्नका लागि सहमतिमा अघि बढ्नुपर्छ। एकताबद्ध र सुदृढ हुनुपर्छ', उनले भने, 'पार्टीभित्रको अन्तविरोधले पार्टी पार्टी फुट्ने अवस्थामा पुगेपछि हामीले दबाव दिन हस्ताक्षर अभियान सुरु गरेका हौँ।'

पार्टी एकता कायम राख्‍न पहिलो चरणमा गरेको हस्ताक्षर अभियानमा नभएमा दोस्रो चरणमा हस्तक्षेपकारी अभियान चलाउने उनले बताए। 'पार्टीभित्रको विवाद यथावत् रहिरहे हामी हस्तक्षेपकारी अभियान चलाउछौँ', उनले भने, 'जनताले हामीलाई दिएको जनमतको समेत कदर भएको छैन।'

दुईतिहाइ नजिक मत दिएर पठाएको पार्टी कोरोनाको संकटको बेलामा विवाद चर्काउनु उपयुक्त नभएको उनले बताए। 'पार्टीभित्रको विवाद अहिले पदको जस्तो देखिएको छ', उनले भने, 'तर, त्यस्तो नभएर विधि र पद्धतिको लडाईँ हो।'

अध्यक्षद्धयको आफ्नै अडान 

पार्टीभित्रको विवाद समाधान गर्न प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच सहमति नजुटेकै कारणले पार्टी विवाद समाधान हुन नसकेको सकिरहेको छैन।  प्रधानमन्त्री ओली महाधिवेशनबाट छिनोफानो गर्ने पक्षमा छन्। तर, अध्यक्ष दाहाल असार १० गतेबाट सुरु भएको स्थायी कमिटीको बैठकबाट छलफल गरेर निर्णयअनुसार अघि बढ्ने अडानमा छन्। 

प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई लिएर अध्यक्ष दाहाल, वरिष्ठ नेता नेपाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले राजीनामाको माग गरेपछि पार्टीभित्रको विवाद समाधान हुन सकिरहेको छैन। 

विवाद समाधानका लागि ओली र दाहालबीच पटक पटक वार्ता बसे पनि सहमति जुट्न सकेको छैन। मंगलबार लगानी बोर्डको सिइओ नियुक्तिको विवादले चर्काचर्की परेपछि ओली दाहाल बीचको संवाद ठप्प छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.