|

काठमाडौं : भारतले गौतम बुद्ध नेपालमै जन्मिएको कुरामा कुनै शंका नरहेको बताएको छ। भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले आइतबार पत्रकारको प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन्। प्रवक्ता श्रीवास्तवले भने, 'गौतम बुद्ध लुम्बिनीमा जन्मिएको कुरामा कुनै शंका छैन। जुन अहिले नेपालमा पर्छ।’ 

यसअघि शनिबार भारतका विदेशमन्त्री एस जयशंकरले गौतम बुद्ध भारतीय भएको दाबी गरेका थिए। उनले भनेका थिए, ‘हामी सबैले आजसम्मकै महान् भारतीय भनेर चिन्ने दुई जनालाई हो। पहिलो गौतम बुद्ध र दोस्रो महात्मा गान्धी। र हामीले मात्र होईन यी दुईलाई यसरी चिन्ने पूरै विश्वले महान् भारतीयका रुपमा चिन्छन्।’  भारतीय राजनीतिक नेतृत्वबाट गौतम बुद्ध भारतको भनी बेला बेला दाबी गरिने गरिएकाे छ। 

भारतीय पक्षबाट बेलाबेला आउने यस्ता अभिव्यक्तिलाई लिएर नेपालमा चर्को विरोध हुँदै आएको छ। ​यद्यपि सन् २०१४ मा नेपाल भ्रमणमा आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत गौतम बुद्धको जन्म नेपालमै भएको बताएका थिए।  

भारतीय विदेशमन्त्री जयशंकरको टिप्पणीको नेपाल सरकारले खण्डन गरिसकेको छ। परराष्ट्र मन्त्रालयले भगवान् गौतम बुद्ध नेपालमा जन्मिएको कुरा स्वतसिद्ध स्थापित भइसकेकाले यसबारेमा विवाद गर्नुपर्ने कुनै कारण नरहेको बताइसकेको छ। परराष्ट्र मन्त्रालयले बौद्ध धर्म नेपाल हुँदै संसारभर फैलिएको पनि भारतलाई स्मरण गराएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.