|

काठमाडाैं : ​स्वास्थ्य तथा  जनसंख्या  मन्त्रालयका चार जना कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि ‘प्राइमरी कन्ट्याक्ट’मा रहेका स्वास्थ्य राज्यमन्त्री नवराज रावतसहित मन्त्रालयका करिब ३६ जना कर्मचारी क्वारेन्टाइनमा गएका छन्। 

तीमध्ये केही कर्मचारीले होम क्वारेन्टाइन रोजेका छन्। होम क्वारेन्टाइन सम्भव नभएका केही कर्मचारीलाई गोदावरीस्थित कस्तुरी होटलमा लगेर राखिएको मन्त्रालयले जनाएको छ। 

संक्रमितको प्रत्यक्ष सम्पर्क (प्राइमरी कन्ट्याक्ट) मा रहेका मन्त्रालय समन्वय महाशाशाखा, लेखा शाखा, नीति योजना महाशाखा लगायतका विभिन्न शाखामा कार्यरत करिब तीन दर्जनमध्ये आधाजसोले होम क्वारेन्टाइन रोजेका छन्।

क्वारेन्टाइनमा रहेका उनीहरुलाई ६ दिन पुगेपछि स्वाब लिएर पिसिआर जाँच गर्ने योजना मन्त्रालयको छ। यसैबीच स्वास्थ्य मन्त्रालयमा संक्रमित देखिएका कर्मचारीको परिवारले औषधि व्यवस्था विभागको क्यान्टिन चलाउने गरेको खुलेको छ। 

त्यहाँबाट विभाग र काउन्सिलमा चिया, खाजा लैजाने गरेको पाइएकाले  औषधि व्यवस्था विभाग आंशिक बन्द गरिएको छ। फार्मेसी काउन्सिल पूर्ण रूपमा बन्द हुने भएको छ। एक जना सदस्यलाई संक्रमण देखिएपछि फार्मेसी काउन्सिलले सूचना निकालेर सेवा अनिश्चितकालका लागि बन्द गरेको बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.