व्यक्तिगत दुरी नै कायम गरिँदैन

|

भद्रपुर, (झापा) : अहिले देशभरका सरकारी निकायहरू कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा जुटिरहेका छन्‌। तर, झापाका सरकारी निकायहरू भाइरस सार्ने स्थल बनिरहेका छन्‌। 

समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिसकेको अवस्थामा पनि झापाका सरकारी कार्यालयहरूले महामारीबाट सेवाग्राहीलाई बचाउन वा जोगाउन कुनै स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएका छैनन्‌। सदरमुकाम भद्रपुरस्थित सरकारी कार्यालयहरूमै कोरोना महामारीसँग लापरवाही गरेका द‌ृश्य देखिएका छन्‌।

आन्तरिक राजश्व कार्यालय भद्रपुरले करदाताबाट राजश्व उठाइरहेको छ। तर त्यहाँ कर तिर्न आएका सेवाग्राहीलाई कोरोना संक्रमणबाट जोगाउन कुनै स्वास्थ्य सजगता अपनाइएको छैन। 

राजश्व कार्यालयमा स्वास्थ्य सुरक्षाको अलिकति पनि मापदण्ड लागु नगर्दा अहिले सेवाग्राहीहरू एक अर्कोसँग टाँसिएर भीडभाडकै बीच सेवा लिइरहेका छन्। सरकारले लकडाउन खुलाएसँगै अहिले दिनहुँ जिल्लाका करदाताहरू राजश्व कार्यालयमा कर तिर्न पुग्ने गरेका छन्। कर तिर्न पुगेका सेवाग्राहीमा सामाजिक त के, व्यक्तिगत दूरी पनि कायम गराइएको छैन। 

राजश्व विभागले मदिरा र सुर्तीका व्यवसायीले साउन मसान्तभित्र कर तिरिसक्नु पर्ने परिपत्र जारी गरेपछि अन्य करदाता पनि राजश्व तिर्न पुग्दा कार्यालय परिसर अहिले अस्तव्यस्त बनेको छ। राजश्व कार्यालय गेटमै सुरक्षा गार्ड खटाइएको छ। उनीहरूले पनि सेवाग्राहीको भीडलाई व्यवस्थापन गर्न कुनै चासो देखाएको छैनन्‌।

सुरक्षा गार्डले सवारी चढेर आएका ठुला व्यापारी, चिनजानका व्यक्तिलाई गेट खोली भित्र प्रवेश गराउने र अन्य साना करदाता अर्थात् चिनजान वा पहुँच नभएका सवारीसाधनलाई कार्यालयभित्र प्रवेश निषेध भन्दै गेट बाहिर पार्किङ निषेधित क्षेत्रमै राख्न लगाउने गरेका छन्‌। राजश्व कार्यालयको मूल गेटमा हात धुने, स्यानिटाइजर र थर्मल गन (ज्वरो नाप्ने यन्त्र) छैन।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले करोडौँ रकम विनियोजन गरेपनि राजश्व कार्यालयको लापरबाहीले कोरोना सङ्क्रमण फैलिने सेवाग्राही दीपेन्द्र सङ्ग्रौलाले बताए।घर बाहिर निस्किने जनतालाई अनिवार्य मास्क लगाउन लगाउने र नलगाएको खण्डमा जरिवाना गर्ने निर्णय गरेको झापाका प्रहरी प्रशासनले भने सरकारी कार्यालयमै कोरोना रोकथामका लागि कुनै उपाय नअपनाएको उनी बताउँछन्‌। 

कर कार्यालयमा सामाजिक दूरी अलिकति पनि कायम नभएको अर्का सेवाग्राही तिलक पूरीले बताए। सबै क्षेत्रबाट आएका सेवाग्राही जम्मा हुने भएकोले कोरोना सर्ने सम्भावना बढेर गएको उनको भनाई छ।

बिहान कार्यालय खुलेसँगै आएर चार घण्टासम्म लाइनमा बसे पनि सेवा नपाएको सेवाग्राहीहरूले गुनासो पोखेका छन्। साउन मसान्तसम्म मदिरा र सुर्तीका व्यवसायीले कर तिर्नु परेकोले भीडभाड अत्यधिक बढेको होटेल व्यवसायी सङ्घ झापाकी सचिव कल्पना मिश्रले बताइन्। यता सामाजिक दूरी कायम गरेर नै काम गरिरहेको कार्यालयका सूचना अधिकारी प्रकाश राईको दाबी छ। 

थर्मल गन बिग्रिएको, स्यानिटाइजर सकिएकोबारे आफूलाई जानकारी नभएको भन्दै उनी सञ्चारकर्मीसँग पन्छिन खोजे। कर कार्यालय मात्र नभई जिल्लाको सबै भन्दा बढी भीडभाड हुने यातायात, नापी र मालपोत कार्यालयहरूमा पनि स्वास्थ्य सुरक्षाको मापदण्ड नै कायम नगरी सेवा दिइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.