राष्ट्रपतिले खिल्ली उडाएका थिए, मृतकको संख्या लाख नाघ्यो

|

एजेन्सी : ब्राजिलमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ। मृतकको संख्या एकबाट एक लाख पुग्न १६५ दिनको समय लाग्यो। सुरुवाती मृत्युदर अहिलेको जस्तो तीव्र थिएन। १२ मार्चमा कोरोनाको पहिलो मृत्यु रेकर्ड भएको ब्राजिलमा ९ मे सम्ममा यो संख्या बढेर १० हजार पुगिसकेको थियो।

गत शनिबारसम्मको तथ्यांक अनुसार मृतकको संख्या १ लाख ४ सय ७७ पुगेको छ। साना–ठूला सबै शहर कोरोनाको चपेटामा परेका छन्। सर्वाधिक जनसंख्या भएका दस देशको तथ्यांक केलाउने हो भने ब्राजिलको मृत्युदर दोस्रो नम्बरमा छ। अमेरिकामा प्रति दस लाखमा ४८७ जनाको मृत्यु रेकर्ड हुँदा ब्राजिलमा यो दर ४७३ छ।

आखिर कहाँ चुक्यो ब्राजिल? ब्राजिलले गरेका ७ गल्तीलाई यहाँ केलाइएको छ।

थिएन महामारीसँग जुध्ने तयारी

हाल महामारीग्रस्त सबै देशहरूले जस्तो ब्राजिलले पनि सुरूमा कोरोना भाइरसले निम्त्याउन सक्ने सम्भावित क्षतिलाई गम्भीरताका साथ लिएन। योसँग जुध्न ठोस तयारी गरिएन।

कतिले यसलाई कृत्रिम वा काल्पनिक संकट ठाने, कतिले सामान्य स्वास्थ्योपचारबाटै सजिलै पार पाइन्छ भन्ठाने। यथार्थ जानकारी हुँदासम्म धेरै ढिलो भइसकेको थियो।

भाइरसविरुद्ध राष्ट्रिय नीति अभाव

चीनको स्थिति भयावह बनेको केही दिनमै ब्राजिलमा पनि कोरोना संक्रमणका केही केस देखिइसकेका थिए। विश्व स्वास्थ्य संगठनले यसबारे गम्भीर चेतावनी जारी गरेको दुई महिनाभित्रमा यसको संक्रमण ३८ देशका ८१ हजार मानिसमा फैलिसकेको थियो।

आन्तरिक मतभेद चर्किँदा चरम संकटकाबीच पटकपटक स्वास्थ्य मन्त्रीसहितका प्रमुख स्वास्थ्य अधिकारीको फेरबदल भइराख्यो। यसले कोरोनाविरुद्धको लडाईँमा ब्राजिल कमजोर बन्यो।

राष्ट्रपतिले खिल्ली उडाए

ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले महामारीबारे पटकपटक विवादास्पद बयान दिए। कहिले यसलाई ‘सामान्य रुघाखोकी’ भने‚ कहिले ‘महामारीलाई ठूला देशले बढाइँचढाइ प्रस्तुत गरेको’ आरोप लगाए। यहाँसम्मको सामाजिक दूरीको नियमको पनि खिल्ली उडाए।

प्रमुख कार्यकारीको यो हदको लापरवाहीको मूल्य सिंगो देशले चुकाउनुपर्‍यो। बढ्दो मृत्युदरबारे उठाइएको प्रश्नमा उनले रुखो प्रतिक्रिया दिए‚ भने– ‘म के गरौं त? म जादुगर हुँ र?’

केही सातायता उनी गम्भीर देखिन थालेका छन् तर यतिञ्जेलसम्ममा एक लाख मानिसको ज्यान गइसकेको छ।

भएन पर्याप्त परीक्षण

ब्राजिलले गरेको सबैभन्दा ठूलो गल्तीमध्ये यो एक हो। ब्राजिलमा पर्याप्त परीक्षण गरिएन, अझै गरिएको छैन। गएको पाँच महिनामा २१ लाख परीक्षण गरियो‚ जसलाई विज्ञहरूले अपर्याप्त भनेका छन्।

ब्राजिलको २१ करोड जनसंख्यामध्ये एक प्रतिशतको मात्रै परीक्षण गरिएको हो। सरकारले १२ प्रतिशतको परीक्षण गराउने लक्ष्य राखेको थियो। परीक्षण नै पर्याप्त नभएपछि प्रभावकारी कन्ट्याक्ट ट्रेसिङको प्रश्नै आउँदैन। नतिजा, मृतकको संख्याले देखाइराखेको छ।

सामाजिक दूरी पालना भएन

सरकारले दिन दुगुना रात चौगुना स्थिति बिग्रँदै जाँदा पनि पूरै लकडाउन गरेन। साओ पाउलोसहितका केही शहरमा मात्रै छोटो समयका लागि लकडाउन गरियो। जहाँ–जहाँ लकडाउन गरियो‚ नाममात्रैको लकडाउन भयो। कडाइ गरिएन। जसले गर्दा मानिसहरूबीच पर्याप्त सामाजिक दूरी कायम हुन पाएन।

डब्ल्यूएचओले मानव गतिविधिलाई ७० प्रतिशत घटाउन दिएको सल्लाह सरकारले पालना गराउन सकेन। चीन र स्पेन कडा लकडाउनकै मद्दतले महामारीको ग्राफलाई घटाउन सफल भएका थिए। ब्राजिल त्यसो गर्न–गराउन पूर्ण असफल भयो।

क्लोरोक्वीनको प्रचारले बितायो

सरकार आफैंले मलेरियाको ओखतीको सेवनबाट कोरोनाबाट पार पाइने भन्दै क्लोरोक्वीन र हाइड्रोक्सिक्लोरोक्विन खान मानिसहरूलाई प्रेरित गर्‍यो। मानिसहरूले यसमा आँखा चिम्लेर विश्वास गर्दा मृत्युदर आकासिन पुग्यो।

अरू त अरू राष्ट्रपति बोल्सेनारोले नै उक्त ओखतीको प्रचार गरे। आफ्नै नागरिकलाई व्यङ्ग्य गर्दै उनले भने‚ ‘मेरो विश्वास गर्नेले हाइड्रोक्सिक्लोरोक्विन पिऊ विश्वास नगर्नेले कोकाकोला पिए हुन्छ।’

सरकारले हाइड्रोक्सिक्लोरोक्विन खान सुझाव मात्रै दिएन. कतिपय ठाउँमा नि:शुल्क बाँड्यो पनि। पछि अनुसन्धानबाट थाहा भयो‚ कोरोनालाई हराउन हाइड्रोक्सिक्लोरोक्विनले कुनै भूमिका खेल्दैन।

अस्पताल नै समस्या

स्थिति बिग्रँदै गएपछि सरकारले रातारात अस्थायी अस्पतालहरू बनाउन थाल्यो। तर‚ पर्याप्त मानव संसाधनको अभावमा तिनले संक्रमितको  उपचार तथा रेखदेखमा राम्रो भूमिका खेल्न सकेनन्।

कतिपय ठाउँमा अस्पताल बन्नै समय लाग्यो, कतिपय ठाउँमा आवश्यकताभन्दा ठूला वा साना अस्पताल बने। तिनै अस्पतालमा पनि पर्याप्त सुरक्षा सतर्कता अपनाइँदा कतिपय स्थानमा उल्टै संक्रमण फैलियो।

त्यसमा पनि चरम भ्रष्टाचार भयो। उक्त भ्रष्टाचारको छानविनका लागि सरकारले विशेष समिति गठन गरेको छ।यी समस्याबाहेक‚ ब्राजिलमा आदिबासी बहुल क्षेत्रमा पनि संक्रमण फैलिइसकेको छ। गरिबीको रेखामुनी भएका मानिसहरू यसबाट बढी प्रभावित भएका छन्।

ब्राजिलले सिकाएको पाठ

विज्ञहरुका अनुसार ब्राजिलमा यस्तो समयमा महामारी फैलियो जतिबेला सरकार वैज्ञानिक सोध–अनुसन्धान आदिमा प्रश्न उठाउँदै बजेट कटौती गर्दै थियो। सोध–अनुसन्धान गर्ने संस्थाहरू समाज वा देशका लागि कति महत्वपूर्ण हुँदा रहेछन् र तिनको अनुपस्थितिको मूल्य कस्तो हुँदोरहेछ भन्‍ने कुरा ब्राजिलको स्थितिले दर्साउँछ।

त्यसबाहेक कमजोर स्वास्थ्य संरचनाका कारण पनि ब्राजिलले अधिक क्षति बेहोर्नुपर्यो। मृतकको संख्या एक लाख नाघिसक्यो यो संख्या कहाँ पुगेर थामिन्छ अझै निश्चित छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.