|

काठमाडौं : लामो समयदेखि कलाकारितामा संक्रिय रहेका कलाकारद्वय राजु ढकाल र देवी घर्ती  लोक तथा दोहोरी गीत प्रतिष्ठानका जिम्मेवार पदाधिकारी हुन्‌। राजुले प्रतिष्ठानको कोषाध्यक्ष पद सम्हालिरहेका छन्‌ भने देवी केन्द्रीय सदस्य हुन्‌। 

पछिल्लो समय लोकदोहोरी गीतका क्षेत्रमा विकृति भित्रिरहेको भन्दै आलोचना भइरहेको छ। गीत-संगीतको मौलिकता जोगाउनेदेखि भैरहेको विकृति विसङ्गतीलाई रोक्ने जिम्मेवारी  यी दुई कलाकारको पनि हो। 

लोकदोहोरी गीतहरूमा मौलिकता हराएको र छाडा संस्कृती भित्रिएको भन्दै आलोचना पनि भैरहँदा यसलाई केही हदसम्म नियमन गर्ने संस्था प्रतिष्ठान नै हो। तर सम्बन्धित सर्जकलाई सम्झाउने बाहेक कारबाही गर्ने अधिकार भने संस्थालाई छैन।

'जथाभावी गीत माथी निगरानी राख्ने कुनै अधिकार राज्यले प्रतिष्ठानलाई दिएको छैन। जसले हामी संकुचित हुनुपरेको छ। यो क्षेत्रमा मौलाएको विकृतिविरुद्ध हामीले कुनै कारबाही गर्न सकेका छैनौं,'  राजु भन्छन् , 'बाहिर प्रतिष्ठानले के गर्‍यो भनेर धेरैले भन्नुहुन्छ, भित्र पसेर हेर्ने हो भने संस्था छ, तर त्यसले कुनै पनि कलाकारलाई कारवाही गर्न सक्दैन।' गीत संगीतमा विकृती विसंगती आएपछि उनीहरू चिन्तित भने छन्‌।

'मेरो अनुरोध छ : गीत संगीतको मौलिकता कायम राख्नपर्छ, प्रतिष्ठानले त्यस्ता खालका गीत संगीत सार्वजनिक भएको खण्डमा बोलाएर या त फोन मार्फत नै भए पनि सम्झाउने गरेको छ। त्यसपश्चात केहीले हटाउँछन् त केहीले अटेरी नै गर्छन्', देवीले सुनाइन्‌।​ 

रेस्टुरेन्ट सञ्चालन गर्दै

लोकसंगीत क्षेत्रका सफल दम्पती अहिले व्यवसायमा प्रवेश गरेका छन्। उनीहरूले सामाखुशी टाउन प्लानिङको गोंगबु आवास क्षेत्रभित्र ट्रान्जिट रेष्टुरेन्ट एण्ड थकाली भान्छाघर संचालनमा ल्याएका हुन्।

लकडाउन हुनुअघि नै संचालनमा ल्याए पनि त्यसपछि भने केही समस्या आइपरेको उनीहरूले बताए। लकडाउन केही खुकुलो भएपछि अहिले पुनः उनीहरूको व्यवसायले गति लिएकाे छ।

लकडाउन अगाडी नै व्यवसाय गर्ने सोच बनाएका थिए दुवैले। 'फागुन २२ गतेबाट सुरु गर्‍यौं, यो ठाउँ अलि पुरानो भएको थियो। चैत १ गतेदेखि हामीले नयाँ डेकोरेसन गरायौँ। ठाउँपनि अलि फराकिलो बन्यो, काम गर्दै थियौं, लकडाउन सुरु भैहाल्यो', देवीले भनिन्, 'व्यवसाय गर्ने सोच राखेर रेस्टुरेन्ट सञ्चालन गर्ने सोच बनाएर काम थाल्यौं, तर लकडाउन भयो, ४ महिना बन्द नै गर्नुपर्‍यो।' त्यो बीचमा सजावट तथा रंगरोगनका काम समेत गर्न नपाएको उनले बताइन्‌।

​उनीहरूले रेस्टुरेन्टमा आउनेहरूलाई फोटो खिच्न र टिकटक बनाउनेहरूलाई पनि छुट्टै सुविधा बनाएका छन्। दुबैले मुस्कुराउँदै भने, 'टिकटक बनाउनै भनेर पनि धेरै जना आउनुहुन्छ, कतिपयले हामीहरूसँग टिकटक बनाउने ईच्छा देखाउनु हुन्छ। त्यसैले थ्रिडी वालपेपर सहितको टिकटक बनाउने व्यवस्था पनि बनाएका छौं।'

लकडाउन अनुभव

लकडाउनमा उनीहरू सँगै भएनन्। राजु छोरा लिएर गाउँ गएका थिए। देवीचाहिँ काठमाडौँमै बसिन। छोराको स्कुल बन्द भएको थियो। यस्तो लामो लकडाउन हुन्छ भन्ने पनि थाहा थिएन। एक-दुई दिनमै फर्कने भनेर गएका राजु तीन महिनासम्म गाउँमा बसे।

देवीले लकडाउनको पालना गरेर घरमै बसेको सुनाइन्। उनले भनिन्, 'म त लकडाउनको पालना गरेर घरमै थपक्क बसेँ, म जति रुममा त कोहि बसेन होला। मानव जीवनको इतिहासमा सायद यति कठोर महामारीको सामना गरेर महिनौं घरमा थुनिएर बस्नु परेको यो पहिलो नै होला।' महामारीमा सबैले संयमित हुन पर्ने रहेछ भन्ने आफुले ठूलो सन्देश पाएको देवी बताउँछिन्।

व्यवसाय गर्न गाह्रो

राजु र देवी यतिखेर दैनिक १२ घण्टासम्म रेस्टुरेन्टलाई समय दिन्छन्। उनीहरू कडा मिहिनेतका साथ आफ्नो व्यवसाय गरिरहेका छन्। महामारीका कारण गीतसंगीतमा धेरै समय दिनपर्ने अवस्था छैन। त्यसकारण पनि उनीहरू व्यवसायलाई बढि समय दिइरहेका छन्।

उनीहरू आफ्नो दैनिकीबारे सुनाउँछन्‌, 'बिहानै उठ्छौं, राती घर जान्छौं, लकडाउनमा त झन् स्टाफ पनि थिएनन्, काम गर्न गाह्रो भयो। अहिले भने केही सजिलो भएको छ।' संकटबीच बिस्तारै बानी पर्दै गएको राजुले सुनाए। उनले भने, 'जुनसुकै क्षेत्रमा भएपनि नयाँ हुदा गाह्रो त हुन्छ नै।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.