बसमा चढेर काठमाडौं पसेका थिए, हेलम्बुका केही गाउँ सिल

|

काठमाडौं : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका १ का १७ वर्षीय किशोरमा कोरोना देखिएपछि वीर अस्पतालले फर्काइदिएको छ। साउन २२ गते परीक्षण गर्न वीर पुगेका उनमा कोरोना देखिएको हो। 

सिन्धुपाल्चोकबाट साउन २१ गते सार्वजनिक बस चढेर काठमाडौँ पुगेपछि उनी कोरोना परिक्षण गराउन अस्पताल पुगेका थिए। आइतबार आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि ती युवकलाई अस्पतालले घर फर्काइदिएको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए। 

‘२१ गते बसबाट काठमाडौँ जानुभएको रहेछ। उहाँको हिजो आएको रिपोर्टमा कोरोना पुष्टि भएपछि अस्पतालले घर फर्काएछ’, उनले भने, ‘अस्पतालले गैरजिम्मेवारीपूर्वक कोरोना संक्रमितलाई घर फर्काइदिँदा जोखिम बढेको छ।’

लकडाउनभर सिन्धुपाल्चोकमा नै रहेका ती युवकमा कोरोना पुष्टि भएपछि स्थानीयमा त्रास फैलिएको उनले बताए। ‘युवकमा कोरोना देखिएपछि परिवारको स्वाब संकलन गर्न लागेका छौँ,’ उनले भने, ‘परिवारको रिपोर्ट आएपछि मात्रै शंकास्पद व्यक्तिको पनि स्वाव संकलन हुन्छ।’

अहिले संक्रमित गोकणेश्‍वर नगरपालिकास्थित सुन्दर टोलमा आफन्तको घरमा बसेका छन्। काठमाडौंको विद्यालयले अध्ययन गर्न पिसिआर रिपोर्टसहित आउनु भनेपछि उनी कोरोना परीक्षण गर्न वीर अस्पताल पुगेको उनले बताए। 

जोखिम बढ्न सक्ने भएकाले साविक हेलम्बु गाविस ३, ४, ५, ६ र ७ सिल गरिएको अध्यक्ष शेर्पाले बताए। उनले आवश्यक काममा भन्दा बाहेक हिँडडुल नगर्न समेत आग्रह गरेका छन्। घरगाउँमा बस्दा पनि सुरक्षित रहन उनले आग्रह गरेका छन्।

तर, वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले कोरोना संक्रमित युवकलाई फिर्ता नपठाएको जिकिर गरेका छन्। ‘हाम्रो अस्पतालामा बिरामी राख्‍न पर्याप्त बेड नभएकाले उहाँलाई हामीले कन्ट्याक्क ट्रेसिङ गर्न र व्यवस्थापनका लागि इसिसिडीको समन्वयमा पठाएका हौँ,’ उनले आफ्नो बचाउ गर्दै भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.