|

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) रजिष्टार कार्यालयले केन्द्रीय कार्यालयसहित त्रिविका अन्य क्याम्पसहरुमा अत्यावश्यकबाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरेको छ। विभिन्न ठाउँमा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि त्रिविले यस्तो निर्णय गरेको हो।

त्रिभुवन विश्वविद्यालयका सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख सूर्यप्रसाद अधिकारीले कोरोना भाइरस संक्रमण बढ्दै गएकाले अन्य सेवा बन्द गरिएको जानकारी दिए। ‘देशका विभिन्न ठाउँमा कोरोना संक्रमित बढ्दै गएका छन,’उनले भने,‘त्रिविले प्रदान गर्ने सेवाहरुलाई व्यवस्थित गर्ने सम्बन्धमा त्रिवि अन्तर्गतका सबै क्याम्पसबाट अब अत्यावश्यकबाहेक अन्य सेवा बन्द गरिएको छ। हामीले अन्य क्याम्पसलाई सूचना जारी गरी जानकारी गराएका पनि छौँ।’

उनले केन्द्रीय कार्यालय र अन्य क्याम्पसहरू आंशिक रुपमा मात्रै सञ्चालन गर्ने जानकारी दिए। उनका अनुसार कार्यालयलाई आंशिक रुपले सञ्चालन गर्ने सम्बन्धमा अत्यावश्यक काम र कर्मचारीको व्यवस्थापन गर्न सम्बन्धित निकाय, कार्यालय,महाशाखा प्रमुखलाई जिम्मेवारी दिइएको छ। स्थानीय प्रशासनले लकडाउन तथा निषेधाज्ञा जारी गरेमा सो अवधिसम्म सो क्षेत्रका क्याम्पस कार्यालयका सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय भएको छ।

त्यस्तैगरी मिटिङ गर्दा भर्चुअल मिटिङ मात्र गर्ने, फेस रिड डिभाइसबाट हाजिरी गर्ने व्यवस्था मिलाउने सो व्यवस्था नहुन्जेल रजिष्टरमा हाजिरी गर्ने निर्णय भएको छ।

सम्बन्धित क्याम्पस/विभाग/ स्कुलले तोकेअनुसार अनलाइन कक्षा लिने शिक्षकहरुको सोही रेकर्डलाई आधार मानी हाजिरी जनाउने, अनलाइन कक्षा नलिने शिक्षकलाई क्याम्पसमा उपस्थित भई हाजिरी गर्नुपर्ने निर्णय गरेका छौँ,’उनले भने, ‘कार्यालयमा कर्मचारीको बसाइ कम्तीमा ६ फिटको दूरी कायम गर्ने, सबै कर्मचारीलाई कार्यालय प्रवेशको ढोकामै प्रत्येक दिन अनिवार्य ज्वारो नाप्ने, सेनिटाइजर  वा साबुनपानीले हात धुने व्यवस्था मिलाउने र मास्क नलगाएका सेवाग्राहीलाई कार्यालयमा प्रवेश गर्न नदिन अनुरोध गरिएकाे छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.