सामान्यतया: शारीरिक र मानसिक विकासका दृष्टिले किशोर र वयस्क अवस्थाबीचको उमेर समूहका मानिसहरूलाई युवा भनिन्छ। युवावय जीवनकालको सर्वाधिक सक्रिय, ऊर्जावान र गतिशील समयभित्र पर्दछ। युवा अवस्थामा मानिस स्वास्थ्य निरोगी, जोसिलो जाँगरिलो हुनाका साथै साहसिलो हुने गर्दछ।
यस अवस्थाका मानिसहरू जटिलभन्दा जटिल परिस्थितिमा पनि विचलित नभई धैर्यका साथ काममा पछि नहट्ने स्वभावले युक्त हुन्छन्। युवा जीवन एउटा यस्तो उमेर अवस्था हो : जतिखेर व्यक्तिमा साहस, सिर्जनशील, सिक्ने क्षमता एवम् उच्च आत्मविश्वास हुन्छ।
युवा अवस्थाका अधिकांश मानिसहरू पूर्ण रुपमा फक्रेको फूलजस्तै अनुहारमा चमकले भरिपूर्ण पनि हुन्छन् र साथै यही उमेरमा नै आफ्नो फरक पहिचान निर्माण गर्न संघर्षरत रहन्छन्। त्यसैले युवा अवस्थालाई जीवनको कालखण्डमा निर्णायक उमेर मानिन्छ।
युवा अवस्थाले नै मानिसको विगत र भविष्यलाई जोड्छ। युवा अवस्थामा जस्तोसुकै परिस्थितिसँग पनि नडगमगाई अगाडि बढिरहने सामर्थ्य हुनाले सोच, ऊर्जा र अदम्य साहस को रुपमा लिने गरिन्छ। युवा वर्गको सचेतना जति बढ्यो, समाजमा जागरुकता आउँछ र समाजले हिम्मत र आँट पनि पाउँछ।
संसारभर युवाको परिभाषा उमेरका आधारमा व्यक्ति अनि राष्ट्रपिच्छे फरक-फरक रूपमा गर्ने गरिएको पाइन्छ। संयुक्त राष्ट्रसंघले १५ देखि २४ वर्षको उमेर समूहको मानिसलाई युवा भनेको छ भने विश्व श्रमिक संगठनले १५–२९ वर्ष उमेर समूहका मानिसलाई युवा भनेको छ।
युवाको उमेर समुह खोज्दै जाने हो भने भारतले १५ देखि ३५, चीनले १५ देखी २८, बंगलादेश र फिलिपिन्सले १५ देखि ३०, फिनल्यान्ड र नर्डिक युथ काउन्सिलले १६ देखि २९ वर्षसम्मको उमेर समूहलाई युवा भन्ने गरेको छ। यस्तै, हंगेरीमा १५ देखि २६, जापान र जमैकामा १५ देखि २४, केन्यामा १५ देखि ३५ र पाकिस्तानमा १५ देखि ४० वर्षसम्मका उमेर समूहको मानिसलाई युवा मानिन्छ।
नेपालको सन्दर्भमा हेर्ने हो भने १६ देखि ४० वर्षको उमेर समूहभित्रको व्यक्तिलाई युवा मान्ने गरिएको छ। कृषि विकास मन्त्रालयले भने १८ देखि ५० वर्ष उमेर समूहलाई युवा मानेको छ। तर, नेपालका राजनीतिक दलका नेताहरूले कन्सिरीका सबै रौं सेताम्मे भएर क्षणका क्षण कुरा छिनमै बिर्सने भइसक्दा पनि हामीलाई आफू युवा नै भएको भनी भाषण दिने गरेका छन्। यस्ता भाषण सुन्दा कुन उमेर समूहका मानिसलाई युवा भन्ने कुरामा हामी युवाहरू असमञ्जस्यतामा पर्ने गरेका छौं।
अहिले हाम्रो देश वा समाजको अवस्थालाई हेर्ने हो भने युवाहरूको ठूलो जमात देश र समाजको मुल प्रवाहबाट टाढा हुँदै गएको देखिन्छ। देशको आर्थिक, सामाजिक र राजनीतिक रूपान्तरणमा युवा वर्गको भूमिका महत्तवपूर्ण रहेको हुन्छ। युवा शक्ति विकासका लागि आवश्यक ऊर्जाका स्रोत हुन्। युवाले जे सोच्छ : त्यो त उसको लागि महत्वपूर्ण हुन्छ नै, त्यसको प्रभाव सिंगो समाज र मुलुकलाई समेत परेको हुन्छ।
युवाले जोश र जाँगरका साथ असम्भवलाई सम्भव बनाउन मद्दत पुर्याउँछ। युवाको कर्मशील हातबाट नै राष्ट्रको भविष्य सुनौलो हुन्छ। उन्नत राष्ट्रको दर्जा दिलाउन तथा उत्प्रेरित समाज निर्माणमा युवा सधैँ लागिरहेको हुन्छ।
अहिले युवाहरूमा बेरोजगारी प्रमुख समस्या बनेको छ। देशभित्र रोजगारीका अवसर नहुँदा हजारौं युवाहरू बेरोजगार भएर बसेका छन। अझ अहिलेको समयमा कोरोनाको महामारीले गर्दा विदेशिएका युवाहरू पनि स्वदेश फर्किरहेका छन्। जसले व्याप्त बेरोजगारीलाई झनै बढाउने पक्कापक्की छ।
देशभित्र रहेका युवाहरू रोजगारविहिन भएका कारणले नै होला, कतिपय युवाहरू कुलतमा फसेका छन। घरमा काम छैन, समाजमा सहभागिता छैन, देशमा रोजगारीको अवसर छैन, समाजका विभिन्न संरचनाहरूमा चासो र सहभागिता छैन, सहभागिता जनाउने र चासो राख्ने गरेको पनि पाइँदैन।
युवाहरूसँग स्वभाविक रुपमा धैरै महत्वाकांक्षी सपना हुन्छन। आवश्यकता धैरै हुने, तर पूरा नहुने कारणले गर्दा कतिपय युवाहरू महत्वाकांक्षी आवश्यकता पूरा गर्न गलत बाटो हिँड्ने गर्छन्। अर्काको सिको गरेर गलत बाटो समात्न पुग्छन्। जसको परिणामस्वरुप: समाजमा जति पनि अपराधिक क्रियाकलापहरू हुन्छन, त्यसमा युवाको संलग्नता बढी भएको देखिन्छ। महत्वाकांक्षी सपनाले गर्दा युवाहरूको केहि जमात प्रत्यक्ष-अप्रत्यक्ष रुपमा अपराधिक क्रियाकलापहरूमा लागेको हुन्छन्। युवाहरू स्वयम् आफैँमा पनि सीप सिकेर मेहनतका साथ काम गरेमा अगाडी बढ्न सकिन्छ भन्ने सोचको अभाव देखिन्छ।
अर्को दु:खद पक्ष के छ भने, वर्तमान युवापुस्ताको ठूलो हिस्सामा मौलिकताप्रतिको मोह क्रमिक रुपले घट्दै गइरहेको छ। आधुनिक हुने नाममा कतिपय राम्रा परम्पराहरू, संस्कृति, लोकसाहित्य, लोक संगीत, लोकबाजाहरू लोप हुने अवस्थामा पुगिरहेका छन्। जन्मोत्सवको सट्टामा ‘बर्थ डे’ हाम्रो संस्कृति नै बनिसक्यो। पञ्चेबाजालाई विस्थापित गर्दै ब्यान्ड बाजा स्थापित भैरहेको छ। हाम्रा मौलिक संस्कृतिहरू हामिले बिर्सँदै गइरहेका छौँ। टोल–टोलमा ‘क्याफे कल्चर’ मौलाइरहेको छ। रोधी घरहरू अब नाममै सिमित हुन थालेका छन्। धमाधम डिस्को र डान्स क्लबहरू खुलिरहेका छन्। अहिलेको नयाँ पुस्ता त्यसैमा रमाइरहेको छ।
फुर्सदको समयमा आफ्नो कर्तव्य र जिम्मेवारीबाट पन्छिएर आवश्यकताभन्दा बढी सामाजिक सञ्जालमा भुल्नेहरूको संख्या दिनानुदिन बढ्दै गइरहेको छ। सामाजिक संजालमा पनि सीपमुलक कुरा र ज्ञानबर्द्धक कुरालाई गलहत्याएर सानो सानो कुरालाई त्यसै माथी उठाइरहेका छौं।
`मलाई यस्तो भयो फलानो दाई, मलाइ उस्तो भयो ढिस्कानो दाई, मलाई डर लाग्यो माई लर्ड, फलानो-तिलानोजस्ता अर्थ न बर्थका कुराहरूमा अल्झिरहेका छौं। यसरी हामी युवापुस्ता आधुनिकताको बाटोतर्फ हदभन्दा बढी नै आकर्षित भएर आफ्नै मौलिकतालाई हामी आफैं नै लात्ते भकुण्डो हानिरहेका छौं।
समाजको प्रकृति नै परिवर्तनशील हुनुपर्छ। खराब र नराम्रा कुराहरूलाई छाड्दै, राम्रा र असल कुराहरूलाई ग्रहण गर्दै, परिमार्जित हुँदै अगाडि बढ्नु समाजको प्रकृति हो। तर, हामी युवा आधुनिकीकरणका नाममा हरेक कुरामा विदेशीको प्रभावमा पनि बहकिँदै छौं। हामीले हाम्रा राम्रा पक्ष तथा मौलिकतासहित आफ्ना ज्ञानहरूलाई जागरण गर्न सकिरहेका छैनौं। आफ्ना ज्ञानहरूलाई समय सुहाउँदो रुपमा व्यावहारिक बनाउन सकेका छैनौं, बरु बिदेशी संस्कार र संस्कृतीलाई नै अन्धाधुन्ध अनुशरण गर्नतर्फ लागिरहेका छौं।
वर्तमान परिवेशमा नेपाली नागरिकहरूलाई अहिले राजनीति भन्ने शब्द सुन्ने बित्तिकै घृणा हुने गर्दछ। समाजमा पहिला राजनीतिज्ञहरूको सामाजिक मान र प्रतिष्ठा धेरै थियो, तर अहिले घट्दो क्रममा छ। यसको एउटा कारण युवावर्ग राजनीति क्षेत्रमा होमिन नपाउनु पनि हुनसक्छ। नेपालको राजनीतिमा युवाको उपस्थिति तल्लो तहमा उत्साहजनक रहेपनि नेतृत्व र निति निर्माण तहमा सन्तोषजनक छैन। युवाहरूको भूमिका सहायक र सहयोगीका रुपमा सीमित छ।
पाका नेताहरूले युवालाई पार्टीभित्र सीप, क्षमता र योग्यताका आधारमा सिर्जनात्मक ढङ्गले उपयोग गर्नेभन्दा पनि पार्टीको शक्ति प्रदर्शनका रुप र भ्रातृ संगठनका रुपमा मात्र प्रयोग गरिरहेका छन्। त्यसैले हाम्रो देशमा युवा शक्तिको सदुपयोगभन्दा दुरूपयोग बढिरहेको छ।
राजनीतिक दलले चुनावको समयमा युवाको प्रयाेग गरेर जीत हासिल गरी सरकारको माथिल्लो तहमा पुगे पनि साेअनुसारको लगानी युवा केन्द्रित नहुँदा दैनिक विदेसिने युवाको संख्या बढिरहेको छ। तर, उनैले विदेशमा कमाएर पठाएकाे पैसामा देशभित्र रजाइँ भइरहेको छ। युवालक्षित नीति र कार्यक्रमहरू अहिलेसम्म पनि निकै कम छ। सोझै भन्नुपर्दा मुलुक अझै युवा मैत्री बन्न सकेकाे छैन।
युवालाई भविष्यको नेतृत्वकर्ता भन्दै, सधैँ मूलधारबाट बन्चित गराइरहँदा युवा भविष्यमात्र नभई वर्तमानको हिस्सेदार हो भन्ने कुरा सबैले बिर्सन पुगेका छन्। यसरी युवालाई भविष्यको सपना देखाएर सधैं भूमिकाविहिन बनाउनु युवाको क्षमता प्रतिको अविश्वास नै हो। उदाहरणका लागि हेर्ने हो भने केही पार्टीमा कुनै एक युवाले राजनीतिमा काम गर्न अवसर पाए भने पनि काम राम्रो गरेकोमा प्रोत्साहन गर्नुको सट्टा प्रतिष्पर्धाको रूपमा लिएर दबाएर राख्ने प्रवृत्ति नेपालको राजनीतिमा विद्यमान छ।
युवाहरू हरेक परिर्वतन र विकासका संवाहक हुन भन्ने कुरा परिवर्तनका नाममा भएका क्रान्तिहरूमा युवाको महत्वपूर्ण भूमिका रहेको इतिहासले प्रस्ट्याउँछ। नेपालको राजनीतिक इतिहासलाई हेर्दा २००७ सालको प्रजातन्त्र, पञ्चायतविरुद्ध २०३६ सालको विद्यार्थी आन्दोलन, २०४६ सालको बहुदलीय व्यवस्था, २०६२-६३ मा गणतन्त्र प्राप्तिका लागि भएको जनआन्दोलनमा युवाहरूको भूमिका अतुलनीय छ।
राजनीतिमा ठूला–ठूला परिवर्तनहरू उपलब्धी प्राप्त भएपनि उपलब्धिलाई उचित ढङ्गले प्रयोग गर्ने कुरामा नेपाल सधैँ असफल भएको पाइन्छ। यसका पछाडि पनि थुप्रै कारणहरू हुन सक्छन्। एउटा प्रमुख कारण भनेको नेपाली राजनीतिमा युवाहरूको भूमिका र संलग्नता निकै कम भएर हो। अर्को कारण पुरानै संस्कार र संस्कृतिमा नेताहरू रुमल्लिएर युवाहरूप्रति हेर्ने दृष्टिकोण गलत हुनु हो। त्यसैले, अब नेतृत्वको सोचमा परिवर्तन आउन निकै जरुरी छ।
युवाहरू वास्तविक अर्थमा देश र समाजका सबै खाले परिवर्तनका कारक तत्व पनि हुन्। देशको समग्र विकासका मेरूदण्ड हुन्। देशको सामाजिक, आर्थिक, राजनीतिजस्ता सबै खाले विकासमा युवालाई नै निर्माणका पूर्वाधार मान्न सकिन्छ। तर युवा परिचालन गरेर कसरी देश विकास हुन्छ भन्ने कुराको उचित बुझाई र व्यवस्था नहुनाले देश दिन-प्रतिदिन पछि पर्दैछ। हामी श्रमको सम्मान गर्न हिच्किचाउँछौ, एउटा श्रमिकलाई सम्मानको नजरले हेर्दैनौँ।
यस्तो अवस्थामा देशले समृद्धितर्फ कोल्टो फेर्ने अवस्था आउन अझै केही समय पर्खिनुपर्ने देखिन्छ। यद्यपि, युवाको सक्रियतामा यस्तो मानसिकता चिर्न सकेमा समृद्ध नेपाल निर्माण गर्न असम्भव भने छैन।
सबैभन्दा ऊर्जाशील र सम्भावना बोकेका युवाहरूलाई उनीहरूको क्षमता दक्षता र अग्रसरतालाई ध्यान दिई राज्य सञ्चालनका तहहरूमा तथा विकास निर्माणका प्रक्रियाहरूमा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्दछ।
योजनावद्ध विकासनिर्माण प्रक्रियामा युवाहरूको सकारात्मक र अर्थपूर्ण सहभागिता तथा देशभित्रै प्रशस्त रोजगारीको सिर्जना भएमा मात्र देशमा विकास र सम्वृद्धिले फड्को मार्छ। राजनीतिलाई एउटा फोहोरी खेल भनेर यसबाट पन्छिन खोज्ने युवा मानसिकतालाई तोडेर अब सबै क्षेत्रमा युवा नेतृत्वको आवश्यकता छ र मुलुकको नेतृत्व गर्न आफूलाई विकास गर्दै नयाँ सोच, नयाँ विचार र ऊर्जाशील भएर लाग्नुपर्छ। त्यसैले राष्ट्रको विकास र निर्माणमा युवाको अनुसन्धान, सिर्जनशील, नवीन, उद्यमशील र युवाकै नैतिक नेतृत्वको निकै आवश्यकता पर्दछ।
हामी युवा विकासका आधार भएकाले यो देश बनाउने जिम्मेवारी पनि हाम्रै काँधमा छ। नेपालका विभिन्न क्षेत्रका रहेका अन्धविश्वास, कुसंस्कार, कुरीति र भेदभावको अन्त्य गर्नु हाम्रो अहिलेको आवश्यकता हो। यसको लागी पनि हामी युवाहरू नै बढी अग्रसर हुनुपर्छ । आजको २१औं शताब्दीमा पनि जात, लिङ्ग, धर्मका आधारमा हुने छुवाछुत, वर्गीय आधारमा हुने भेदभावले गर्दा हाम्रो गाउँ, समाज निकै आक्रान्त बनिरहेको छ।
अब हामी युवाले देशमा रहेका विद्यमान समस्याको पहिचान गरेर त्यसको समाधानको बहस चलाउन सक्नुपर्छ। देशलाई कसरी विकास गर्न सकिन्छ भन्ने कुरामा हामी युवाहरू संलग्न र क्रियाशील भई विकास र समृद्धिको नयाँ योजना तयार गर्नुपर्छ। चेतनामा आधारित विकासको परिकल्पना हामी आफैँले गर्नुपर्छ।
श्रमलाई सम्मान गर्दै श्रम गर्ने बानी बसाल्दै विज्ञान र प्रविधिहरूको सही सदुपयोग गर्दै, यही देशमा बसेर भएको अवसरको प्रयोग गर्दै, उद्यमशीलता विकास गर्दै गयौं भने नेपाललाई समृद्धिको बाटोतर्फ अग्रसर गराउन सकिन्छ।
युवा वर्गमा आशा, भरोसा र उत्प्रेरणा जगाउनका लागि मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक, विकास निर्माणलगायत हरेक क्षेत्रमा युवाले नै नेतृत्वदायी र हस्तक्षेपकारी भूमिका खेल्नुपर्दछ। अब पनि समृद्ध राष्ट्र निर्माणको अगुवाई हामी युवाले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ? त्यसैले, अब हामी युवा नै राष्ट्र निर्माणमा नेतृत्व लिनका लागि एक ढिक्का भई अघि बढ्नुपर्छ र देशलाई सुशासन र समृद्धिको पाइलातर्फ डोहोर्याउनुपर्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।