सुरक्षा गार्डकाे काेराेनाले मृत्यु भए पनि क्यान्सर अस्पताल सिल गरिएन

|

जनकपुरधाम : श्वासप्रश्वासमा समस्या भएकै कारण जनकपुरमा मृत्यु भएका दुईमध्ये एक जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ। 

शनिबार राति जनकपुरको कदमचोकस्थित विनय तारा फाउन्डेसन क्यान्सर सेन्टरका गार्ड ४५ वर्षीय विन्देश्वर मण्डलको मृत्यु भएको थियो। आइतबार उनको स्याब संकलन गरी कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए।

उनका अनुसार मिथिला विहारी नगरपालिका ५ घर भएका मृतक मण्डलको आइतबार नै नेपाली सेनाले शव व्यवस्थापन गरिसकेको छ। मण्डललाई पहिल्यैदेखि रुघाखोकी लागेको थियो र अचानक सास फेर्न गाह्रो भएपछि अस्पताल लग्ने क्रममा उनको मृत्यु भएको थियो। 

यस्तै शनिबार राति अस्पतालमा मृत्युवरण गरेका शहिदनगर नगरपालिका ८ का पल्टु बनरैतको भने कोरोना रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए।

कोरोनाको लक्षण देखिएका उनको मृत्युपछि चिकित्सकले कोरोना आशंका गरेका थिए। मृतकका आफन्तले दिएको जानकारीअनुसार उनमा श्वासप्रश्वासको समस्या आएको र बेहोस भएपछि अस्पताल भर्ना गरिएको थियो। 

क्यान्सर सेन्टर सिल गरिएन 

सुरक्षा गार्डको मृत्यु कोरोना संक्रमणले भएको पुष्टि भइसके पनि विनय तारा फाउन्डेसन क्यान्सर सेन्टर सिल गरिएको छैन। आज पनि क्यान्सर सेन्टर सञ्चालनमा छ। २४ घण्टा क्यान्सर सेन्टरमा बसेका सुरक्षा गार्ड कोरोनाले मृत्यु भएका र अन्य कर्मचारीमा पनि संक्रमण हुनसक्ने आशंका गरिएको छ। तर क्यान्सर सेन्टर बन्द नहुँदा स्थानीय भने त्रसित बनेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.