कोरोना महामारीबीच दुर्गममा सक्रिय

|

मुगु : छायाँनाथ रारा नगरपालिका–१ श्रीनगर गाउँका ३८ वर्षीय मोहन कुमार मल्लका पिँडुला हिँडडुल गर्दा, चिसो लाग्दा दुख्थ्यो। 

पिँडुला दुख्दै आएको ५ वर्ष भइसकेको थियो। शुक्रबार जिल्ला अस्पताल मुगुमा चलेको शिविरमा पिडौलाको चेकजाँचपछि उनले तिघ्रा तल, घुँडामाथिको हड्डी चर्किएकाले लामो समय आराम गर्नु पर्ने सल्लाह पाए।

त्यही नगरपालिका–७ बालौ गाउँका १७ वर्षीय गगन भामको बायाँ खुट्टामा संक्रमण भएर सुन्निने, दुखिरहने लामै समय भएको थियो। आर्थिक अवस्था कमजोर भएकाले पीडा सहँदै आएका उनको शनिबार दिउँसो निःशुल्क शल्यक्रिया गरेपछि सुधार हुन थालेको छ।

वडा नं १० घट्लेखकी १० वर्षीया रेश्मा भामको ३ वर्षअघि वनमा गाईवस्तु चराउन जाँदा लडेर देब्रे हात भाँचिएको थियो।

दुर्गमकी उनले गरिबीकै कारण समयमा उपचार हुन सकेन। बांगिएको हातको पीडा सहँदै आएकी उनको पनि शल्यक्रियापछि वर्षौंदेखिको पीडा हटेको छ। अब बांगिएको हात पनि सोझिने भएको छ।

यी तीन घटना प्रतिनिधि मात्रै हुन्। गत बुधबार मुगु पुगेका प्राध्यापक डाक्टर गोविन्द केसीले जिल्ला अस्पताल मुगुमा बिहीबारबाट हाडजोर्नी शिविर शुरु गरेपछि भाम, मल्ल जस्तै हाडजोर्नीको समस्या झेल्दै आएकाले निःशुल्क उपचार सेवा पाएका छन्।

दुर्गमका स्थानीयले लडेर अंगभंग हुँदा समयमै उपचार नपाएर अपाङ्ग शरीरसहित बाँच्न बाध्य थिए। हुने खानेले समयमै सुविधा सम्पन्न स्वास्थ्य संस्थामा उपचार गर्ने गरेका छन्। तर यहाँका अधिकांश जनता गरिब भएका कारण हाडजोर्नी लगायत अन्य रोग लाग्दा गाउँमै पुरानो प्रविधि र जडीबुटीबाट उपचार गर्ने गरेका छन्।

साविकको कर्णालीका जिल्लाहरुमा पुगेर जनताको निशुल्क उपचार तथा स्वास्थ्य सल्लाह दिँदै आएका डा. केसी बुधबार मुगुमा पुगेपछि वर्षौंदेखि हाडजोर्नीसम्बन्धी समस्या भोग्दै आएकाले राहत महसुस गरेका छन्। निःशुल्क उपचार र सल्लाह पाएपछि मुगालीहरुले अकस्मात भगवानको रुप लिएर डा. केसी आएको अनुभूति गरेका छन्। 

‘कोरोना फैलिएको बेला कोहीलाई कतै जान दिँदैनन् तर पनि डाक्टर सा’ब आए, पैसा नभएर छोरीको उपचार गर्न सकेका थिएनौं। बांगिएको हातले जीवन कसरी चलाउली भन्ने चिन्ता लागेको थियो’, रेश्माकी आमा दन्ताले भनिन्, ‘रेडियोमा निःशुल्क उपचार गर्न डाक्टर जिल्ला अस्पतालमा आएका सूचना सुनेर आउँदा छोरीको हातको अप्रेसन भयो। हामीले कल्पना नगरेको उपचार भयो। हाम्रा लागि उहाँ (डा.केसी)भगवान बनेर आउनु भयो।’

यतिबेला बिहानैबाट डा. केसी जिल्ला अस्पतालका प्रमुख डाक्टर निर्मल नगरकोटीसहित अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीको सहयोगमा जिल्लाका दुुर्गम बस्तीबाट आएका स्थानीयको उपचारमा तल्लिन छन्।

बिहीबारबाट निःशुल्क हाड जोर्नी शिविर चलाइरहेका डा. केसीले  आइतबारसम्म एक सय ७७ जनालाई ओपिडी सेवाबाट उपचार गरेका छन्। तीन जनाको शल्यक्रिया गरेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. नगरकोटीले बताए।

‘डा. केसी जिल्लामा आउँदा अविभावक पाए जस्तो अनुभूति भयो। उहाँले शनिबार अस्पतालमा कार्यरत चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई हाडजोर्नीसम्बन्धी सामान्य उपचार, समस्या पहिचान तथा सल्लाहबारे कक्षा नै चलाउनुभयो।’

डा.केसीले विरामीहरुलाई दिएको उपचार, सल्लाह र जिल्ला अस्पतालका कार्यरत स्वास्थ्यकर्मीहरुले उनीबाट पाएको शिक्षाले सिंगो अस्पताल परिवार उत्साहित भएको छ। 

कोरियाली सहयोग नियोग (कोईका) ले करिब ५० करोड लागतमा निर्माण गरेको जिल्ला अस्पतालको भवनबाट विषेशज्ञ सेवा दिने पहिलो व्यक्ति नै डा. केसी भएको नगरकोटीले बताए।

दुर्गमका गरिब, विपन्न र असहायको स्वास्थ्यमा पहुँच र शिक्षाका लागि राज्यसँग लड्दै आएका डा. केसी कोरोना महामारीको चिन्ता नगरी बाजुरा, हुम्ला, कालिकोट, डोल्पा, जुम्ला हुँदै मुगुसम्म पुगेका छन्। यी सबै जिल्लामा उनले स्थानीयवासीको निःशुल्क उपचार गरिरहेका छन्।

आइतबारसम्म मुगु बसेर सेवा दिइरहेका डा केसी सोमबार फेरि जुम्ला जानेछन्। जनताको सेवा एक मात्रै लक्ष्य बोकेका डा. केसी साँच्चिकै गरिब, निमुखा र राज्यबाट पछि पारिएका जनताका लागि डाक्टरको रुप लिएर भगवान प्रकट भएको नेपाल पत्रकार महासंघ मुगुका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.