|

डडेल्धुरा : जिल्ला सदरमुकामको सडक चौडा गर्नुपर्ने भन्दै ‘लास आन्दोलन’ गरिएको छ। मंगलबार सदरमुकाम क्षेत्रको सडक चौडा गरिनुपर्ने माग राख्दै मंगलबार बोलन्याथलीले लास आन्दोलन गरेको हो।

बोलन्याथलीका संयोजक यादव जोशीको नेतृत्वमा स्याउले बजारदेखि कीर्तिपुरसम्म सडक विस्तार गरी बजार क्षेत्रमा हुनसक्ने दुर्घटना न्यूनीकरणका लागि दीर्घकालीन रुपमा समाधान खोजिनुपर्ने भन्दै भीमदत्त चोकमा चार लास बनाएर सांकेतिक आन्दोलन गरिएको हो।

बोलन्या थलीले ‘कोरोनाले होइन, दुर्घटनाले मरिएको छ’, ‘म त गए माथि, तिमी बाँच है साथी’, ‘सडक चौडा खै, म त स्वर्ग पुगे बरी लै’लगायतका नारा दिएर प्रदर्शन गरेको थियो। 

अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वर ओझाको विशेष पहलमा सडक विभागमार्फत करिब ४४ करोड रुपैयाँ सडक विस्तारका लागि छुट्याइएको र सोही कार्य अनुरुप सडक डिभिन कार्यालय कुलपातेले टेण्डर प्रक्रिया बढाएको थियो। तर, यहाँका केही जग्गाधनीले मुआब्जा पाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेपछि टेण्डर प्रक्रिया रोकिएको छ।

डडेल्धुराको साँघुरो सडक विस्तारका लागि सवै निकायले पहल गर्नु पर्ने र मुआब्जाका नाममा जग्गा धनीहरुले विस्तार कार्यलाई अवरोध गर्न नहुने बोलन्या थलीका संयोजक जोशीले बताए। सडक चौडा नगरिँदा अकालमै ज्यान गुमाउनुपर्ने अवस्था आएकाले लास आन्दोलन गरिएको उनको भनाइ छ। 

स्थानीयले धेरै समयदेखि सास्ती पाइरहेको भन्दै सडक बनाउन दवाव स्वरुप प्रदर्शन गरेको उनले बताए। उनका अनुसार बजेट विनियोजन भइ टेण्डर प्रक्रियामा गइसकेका बेला व्यापारीले सर्वोच्चमा मुद्दा दायर गरेर निर्माण कार्य रोकेको भन्दै चार युवाले शव बनेर आन्दोलन गरेका हुन्।

सदरमुकामको साँघुरो सडकका कारण दैनिकजसो त्यहाँ जाम लाग्ने गर्छ। जसका कारण स्थानीयलाई हिँडडुल गर्न समस्या भइरहेको छ। यतिसम्मकी साँघुरो सडकका कारण दुर्घटनाका जोखिम समेत रहेको छ।

स्मार्ट सिटीको रुपमा विकास हुँदै गरेको अमरगढी नगरपालिकामा पर्ने उक्त सडक भएर सुदूरपश्चिम प्रदेशका ७ वटै पहाडी जिल्ला पुग्न सकिन्छ। तर, सडक साँघुरो हुँदा सवारीचालक र स्थानीयले निकै सास्ती भोगिरहेका छन्।

सांकेतिक आन्दोलनमा विभिन्न क्षेत्रमा आबद्ध युवाका साथै अनेरास्ववियू डडेल्धुरा र नेपाल विद्यार्थी संघ डडेल्धुराले पनि ऐक्यबद्धता जनाएको थियो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.