भोलिदेखि कन्ट्याक ट्रेसिङ, होम क्‍वारेन्टाइनमा बस्‍न आग्रह

|

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्‍नेतका पिताको मृत्यु कोरोनाबाट भएको पुष्टि भएको छ। यही साउन २२ गते काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उनको निधन भएको थियो। तर उनको अन्तिम संस्कार भइसकेपछि आज कोरोना पुष्टि भएको हो।

२२ गते मृत्युपछि गरिएको स्वाबको रिपोर्ट आज आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्‍वर गौतमले जानकारी दिए। उनले  बाह्रबिसे नगरपालिका-४ का ८४ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको जानकारी उनले दिएका थिए।

उपचारका क्रममा तीन दिनसम्म अस्पतालको शिक्षण अस्पतालको आईसीयुमा रहेका बस्नेतको मिर्गौलाको समस्याको कारणले मृत्यु भएको जानकारी आफन्तले दिएका थिए।

शव काठमाडौंदेखि बाह्रबिसे

मृगौलाको समस्याका कारण मृत्यु भएको अस्पतालले बताएपछि उनको शव गृहजिल्ला सिन्धुपाल्चोकको बाह्रबिसे ल्याइएको थियो। धार्मिक परम्पराअनुसार गरिएको अन्त्येष्टिमा १५ सय भन्दा धेरै जना सहभागी भएको बाह्रबिसे नगरपालिका उपप्रमुख सुशीला पाख्रिनले बताइन्।

कोरोनाको रिपोर्ट ढिला आउँदा कोरोना समुदायस्तरमै पुगेको हुनसक्ने उनले बताइन्। 'उहाँको मृत्यु भएको पाँच दिनपछि रिपोर्ट पोजेटिभ आयो', उनले भनिन्, 'अस्पतालले बेलैमा ख्याल नगर्दा कोरोना समुदाय स्तरमै पुगेको हुनसक्छ।'

भोलिबाट 'कन्ट्याक ट्रेसिङ'

मंगलबार साँझ जानकारी आएपछि बसेको डिसिसिएमसी सिन्धुपाल्चोकको बैठकले भोलिबाट 'कन्ट्याक ट्रेसिङ'का लागि टोली खटाउने भएको छ। जिल्ला स्वास्थ कार्यालय प्रमुख दुर्गादत्त चापागाईँले मलामी गएकाहरूको खोजी भोलिबाट थालिने बताए। 

'यसबारेमा आज साँझ मात्रै जानकारी आयो। त्यसपछि आकस्मिक बैठक बस्यौँ', उनले भने, 'पहिलो चरणमा मृतकको सम्पर्क आएका परिवारका सदस्य, शव व्यवस्थापनमा सहभागी र बिरामी कुरुवाहरूको स्वाव संकलन हुन्छ। उनीहरूको रिपोर्ट पोजेटिभ आएमा थप कदम चाल्छौँ।'

बाह्रबिसेका वडा सिल

नगरपालिकाले वडा नम्बर २ पूर्वको कर्थली बुँदेपा, नगरपालिका पूर्वको वडा नम्बर ४, उतरतर्फ वडा नम्बर ३ को खाक्दल खोला, पश्‍चिम वडा नम्बर ९ को राम्चे बजार क्षेत्र र दक्षिणतर्फ शारदा मावि क्षेत्र सुनकोशी बजारको सीमानासम्मको चार किल्ला भित्र सिल गरिएको उपप्रमुख पाख्रिनले बताइन्।

त्यो चार किल्लाभित्र मानिसहरु आवतजावत गर्न, सवारी साधन चलाउन पूर्ण निषेध गरी अत्यावश्यकबाहेक व्यापार व्यवसाय लगायतका सबै क्रियाकलाप बन्द गरेको बताइन्।

होम क्‍वारेन्टाइनमा बस्न आग्रह

दाहसंस्कारमा ठूलो संख्यामा मलामी गएकाले उनीहरूलाई होम क्‍वारेन्टाइनमा बस्‍न आग्रह गरिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।

आज साँझ मात्रै रिपोर्ट आएको हुनाले भोलिसम्मको अवस्था हेरेर थप निर्णय हुनसक्ने उनले बताए। 'बस्‍नेतको अन्तिम संस्कारमा गएका र मृतकका परिवारको सम्पर्कमा गएका सबै जनालाई अर्को सूचना जारी नभएसम्मका लागि आफ्नै घरमा सुरक्षित बस्‍न आग्रह गरेका छौँ', उनले भने।

मृतकको संख्या ३ 

सिन्धुपाल्चोकमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ। बाह्रबिसे नगरपालिका-४ का ८४ वर्षीय पुरुषको मृत्यु भएपछि मृतकको संख्या ३ पुगेको हो।

यसअघि सिन्धुपाल्चोक पाँचपोखरी थाङपालधाप गाउँपालिका-७ का एक पुरुष र बाह्रबिसे नगरपालिका-९ राम्चेकी सुत्केरी महिलाको कोरोनाबाट मृत्यु भएको थियो। नेपालमा कोरोनाबाट पहिलो मृत्यु सिन्धुपाल्चोकमै भएको थियो।

अमृत बोहोरादेखि शेरबहादुरसम्म
 
पूर्वमन्त्री बस्‍नेतका पिताको मृत्युपछि कांग्रेससहित अन्य दलका पनि कयौँ नेता कार्यकर्ता मलामी तथा मृतकका परिवारलाई भेट्न गएका थिए। मलामी गएका सबैलाई सबैलाई होम क्‍वारेन्टाइनमा बस्‍न आग्रह गरिएको हो।

बस्‍नेतको निधनपछि नेकपा अनुशासन आयोगका प्रमुख अमृत बोहोरा र पूर्वमन्त्री शेरबहादुर तामाङलगायत सिन्धुपाल्चोक स्थानीय तहका प्रमुख, राजनीति दलका नेता कार्यकर्ता लगायत भेटघाटमा पुगेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.