|

दाङ : समयमै वर्षा हुदाँ दाङका किसानले यस वर्ष रोपाइँ पनि समयमै सम्पन्न गरे। रोपाइँका बेला लकडाउन भए पनि मलको अभाव थिएन।

अहिले धानमा मल लगाउने बेला अभाव भएको छ। धान रोपको २० देखि २५ दिनभित्र युरिया मल हाल्नुपर्ने भए पनि बजारमा मल नपाउँदा किसानहरु भौतारिएका छन्। गत वर्षभन्दा यस वर्ष धान उत्पादन धेरै हुने आँकल गरेका किसानहरुलाई मल अभावमा उत्पादन घट्नेमा चिन्ताले सताएको छ।

शान्तिनगर–२ अमुवाका किसान नेवबहादुर खड्काले समय मै पानी पर्दा रोपाइँ सहज रुपमा गरे पनि अहिले मल नपाउँदा धान उत्पादनमा घट्ने चिन्ता व्यक्त गरे। ‘विगतका वर्षहरुभन्दा यस वर्ष धान उत्पादनमा धेरै बृद्धि होला भन्ने लागेको थियो,’ उनले भने, ‘तर, मल नपाउँदा धान नै नहुनेको कि भन्ने चिन्ता लागेको छ। सरकारले किसानहरुलाई मल, बीउ अनुदानमा दिन्छु भन्ने भाषण गरे पनि किसानहरुले केही पाउन सक्दैनौं।’

सोही ठाउँका किसान शेरबहादुर नेपालीले युरिया मल धान रोप्ने बेला पनि नपाएको र अहिले पनि नपाएको गुनासो गरे। मलका लागि वडा कार्यालयलगायत विभिन्न ठाउँमा गए पनि नपाएको उनको भनाइ छ।

‘पहिला मल हुने बेला पहुँच भएका घरघरमा मल आयो,’ उनले भने, ‘तर हामी जस्ता किसानहरुले मल पाएनौं। न मैले रोप्न बेला मल पाएँ, न अहिले पाएको छु।’

किसान कृष्ण पौडेले धान रोपेको २२ देखि २५ दिनभित्र मल हाल्नु पर्ने भए महिना दिनसम्म मल नपाउँदा धान पहेंलो हुँदै गएको बताए। सरकारले दिने अनुदानको मल नपाएको बताउँदै बजारमा महँगो मूल्य हालेर किन्न खोज्दा समेत नपाइएको उनको गुनासो छ। 

‘अनुदानको युरिया मल एक बोराको एक हजार, डिएपी २३ सय रुपैयाँसम्म पर्दथ्यो,’ उनले भने, ‘बजार मूल्य २५ सयदेखि ३ हजारसम्म छ। त्यही मूल्यमा किनेर ल्याउँभन्दा पनि पाइँदैन। खेतमा गयो, पहेलो धान हेरेर घर फर्किनुको विकल्प छैन’

किसानहरुले कहिले मल आउने भन्दै दैकिन रुपमा आफूहरुलाई फोन गर्ने गरेको परिर्वतन सहकारी तुलसीपुर–३ का व्यवस्थापक प्रेम तिवारीले बताए। उनका अनुसार दैनिक सयौँ किसानहरुले मल कहिले आउँछ भनेर सोधीखोजी गर्छन्। तर कृषि सामग्रीमा बुझ्दा भदौको पहिलो साता आउने जानकारी आउने तिवारीले बताए। 

‘धान रोप्ने बेला लकडाउन नै थियो,’ उनले भने, ‘त्यति बेला मल सहज रुपमा पाइएको थियो। तर अहिले लकडाउन नभएको अवस्थामा पाउन सकिएको छैन।’

दाङमा कृषि सामग्री लिमिटेड र साल्ट ट्रेडिङले अनुदानको मल वितरण गर्दै आएका छन्। सामग्रीले ७० प्रतिशत र साल्ट ट्रेडिङले ३० प्रतिशत अनुदानको मल पाउने गरेका छन्। दाङमा कृषि सामाग्रीले तुलसीपुर घोराही र लमहीमा मल बिक्री गर्ने गर्दछ भने साल्ट ट्रेनिङले घोराही क्षेत्रका लागि मात्र बिक्री गर्ने गरेको छ। सामग्रीका अनुसार केही मात्रमा डिएपी र पोटास मल भए पनि युरिया मल अहिलेसम्म आएको छैन।  भदौको पहिलो साताभित्र आउन सक्ने सामग्रीले जनाएको छ। साल्ट ट्रेडिङ घोराहीका प्रमुख आनन्द न्यौपानेले भर्खरै करिब १२ बोरा युरिया मल वीरगञ्जबाट आएको बताए। उनले भारतको कोलकताबाट मल आउन लागेको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.