ललितपुरमा तीनजनाले ज्यान गुमाए

|

काठमाडौं : नेपालमा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ। ललितपुरका विभिन्न अस्पतालमा ३ र सप्तरी, रुपन्देही र धरानमा एक–एक जनाको मृत्यु भएको हो।

ललितपुरको पाटन, किष्ट र मेडिसिटी अस्पतालमा १/१ जनाको मृत्यु भएको छ। पाटन अस्पतालमा जनकपुर घर भएकी ३८ वर्षीया महिलाको उपचारका क्रममा गएराति मृत्यु भएको अस्पतालका निर्देशक विष्णु प्रसाद शर्माले जानकारी दिए। मेनेन्जाइटिसकी बिरामी उनी ५ दिन अघि अस्पताल भर्ना भएकी थिइन्। 

यस्तै ललितपुरको मेडिसिटी अस्पतालमा पनि गएराति उपचाररत एक कोरोना संक्रमतिको मृत्यु भएको छ। कोरोना भाइरस संक्रमित जनकपुरका पूर्व मेयर कृष्ण गिरीको मृत्यु भएको हो। कोरोना संक्रमण पुष्टि भएपछि उनी २० दिन अगाडी अस्पताल भर्ना भएका थिए। उपचारको क्रममा गिरीको मृत्यु भएको उनका छोरा डा. सन्तोष गिरीले बताए। 

यसै गरी ललितपुरको किस्ट मेडिकल कलेजमा मृत्यु भएकी ७८ वर्षीया महिलामा पनि कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ। काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको गएराति सवा १ बजे मृत्यु भएको र आज विहान ९ बजे रिपोर्ट पोजेटिभ आएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए। उनलाई यही साउन २६ गते पाटन अस्पतालबाट किस्टमा रेफर गरिएको थियो। 

सप्तरीको डाक्नेश्वरी नगरपालिका घर भई राजविराज नगरपालिका–६ मा बस्दै आएका ७२ वर्षीय वृद्धको मृत्यु भएको छ। हिजो कोरोना संक्रमण पुष्टि भएपछि राति साढे ९ बजे आइसोलेसन लैजाने क्रममा एम्बुलेन्समै उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए। उनका अनुसार उनी उच्च रक्ताचाप, दम र मुटुका रोगीसमेत थिए। 

यस्तै, रुपन्देहीको बुटवल धागो कारखानास्थित आइसोलेसनमा एक संक्रमितको मृत्यु भएको छ। कपिलवस्तुको कपिलवस्तु नगरपालिका २ का अन्दाजी ४२ वर्षीय पुरुषको गएराति २ बजे मृत्यु भएको कपिलवस्तु नगरपालिका २ का वडाअध्यक्ष रामभजन कलवारले जानकारी दिए। छाती दुख्ने र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई ४ दिनअघि अस्पताल लगिएको थियो। उनमा हिजोमात्रै कोरोना पुष्टि भएको वडाअध्यक्ष कलवारले जानकारी दिए। 

यस्तै रुपन्देहीको बुटवलस्थित बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा कपिलवस्तुका एक युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा कृष्णनगर नगरपालिका– १० का २५ वर्षीय युवा रहेकोे जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए। उनको स्वाब परीक्षणको क्रममा रहेको र  रिपोर्ट आउन बाँकी रहेको छ। मृतक युवामा कोरोनाको लक्षण देखिएपछि उपचारको लागी बुटवल पठाइएको थियो। 

यस्तै, सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत मोरङको बुढीगंगा घर भएका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। बूढीगंगा गाउँपालिका –२ घर भएका ५५ वर्षीय पुरुषको उपचारका क्रममा गएराति मृत्यु भएको  प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए। 

श्वासप्रश्वास र उच्च ज्वरोको समस्यापछि सोमबार प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना भएका उनमा कोरोनाको लक्षण देखिएपछि परीक्षण गर्दा पोजेटिभ देखिएको थियो। त्यसपछि उनलाई आइसोलेशनमा भर्ना गरेर उपचार थालिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो।

स्वास्थ्य मन्त्रलायले ८३ जनाको कोरोनबाट ज्यान गएको जनाएको छ। पछिल्लो पटक मृत्यु भएकाहरुकाे भने मन्त्रलायले आधिकारीक पुष्टि गर्न बाँकी रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.