|

सिमरा (बारा) : प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल (निगजढ विमानस्थल) क्षेत्रभित्र रहेका रुख र पोलहरुको गणना सुरु भएको छ। विमानस्थल निर्माणको क्रममा ठूलो संख्यामा रुख नोक्सान हुने भन्दै वातारणविदहरुले चर्को आलोचना गरिरहेका बेला वन मन्त्रालयले डिभिजन वन कार्यालय बारामार्फत रुखको गणना सुरु गरेको हो।

सरकारले बिमानस्थल निमार्णको लागि ८ हजार ४५ हेक्टर भू–भाग छुटएको छ। जसमध्ये वन कार्यालय बाराले गुगल म्यापमार्फत पहिलो चरण १९ सय हेक्टरभित्र रहेका रुख र पोलको गणना गरिरहेको छ। विमानस्थलको चार किल्लाको भू–भागमध्ये दक्षिणबाट उत्तरतर्फका २५ हजार ६०० वटा रुख र पोलको गणना भइसकेको वन प्राविधिक धर्मेन्द्र पासीले जानकारी दिए।

‘हामीले अहिलेसम्म २५ हजार ६०० रुख र पोलहरुमा नम्बर प्लेट लगाइसकेका छौं,’ पासीले भने, ‘जसमध्ये अधिकांश साल प्रजातिका रुख छन्।’ वन कार्यालय बाराले चारजना प्राविधिकसहित मजदुरहरुको चारवटा छुटाछुट्टै टोली बनाए रुख र पोलको गणनाको काम गरिरहेको छ।

‘हामीले ३२ सेन्टिमिटरभन्दा बढी गोलाई भएको सबै विरुवाको गणना गरेका छौं,’ पासीले भने, ‘गोलाई ३२ सेन्टिमिटरभन्दा कम भएको सबै बिरुवा लाथ्रामा गनिन्छ।’ प्राविधिक रुपमा ३२ देखि ९४ सेन्टिमिटर गोलाई भएको बिरुवालाई पोल र गोलाइको भाग ९४ सेन्टिमिटरभन्दा बढी भएमा रुखको रुपमा गणना गरिने पासीको भनाइ छ। 

‘यसको मुख्य उद्देश्य प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा २४÷२५ लाख वटा रुख काटिने भनेर गलत प्रचार भएकाले यस क्षेत्रभित्र रुख र पोलको संख्या कति छ भनेर प्रमाणित गर्न गणना सुरु गरिएको हो,’ वन अधिकृत मञ्जुर अहमदले भने, ‘विमानस्थलको विषय सर्वोच्च अदालतमा विचाराधीन भएकाले भोलि अदालतले पनि रुख र पोलको संख्या कति छ भनेर तथ्यांक मागे तथ्यांक काम लाग्छ।’

कसरी लगाइन्छ रुखमा ट्याग?

‘ट्याग गर्दा सुरुमा रुखको गोलाई लिन्छांै, त्यसपछि त्यसको जिपिएस् पोइन्ट लिन्छौं,’ पासीले भने, ‘कुन जातको रुख हो त्यसको उचाई कति छ, रुखको ग्रेड (ए,बि वा सि ग्रेड) छुट्याउँछौं र त्यसकै आधारमा नम्बर प्लेट लगाइन्छ।’

वन तथा भुसंरक्षण मन्त्रालयको आदेश र प्रदेश २ सरकारको वन तथा वातावरण मन्त्रालयको अनुतिमा विमानस्थल क्षेत्रको रुख गणना सुरु गरिएको डिभिजन वन कार्यालय बाराले जनाएको छ।

पहिलो चरणमा १९ सय हेक्टर

वातावरणविदहरुले लाखौंको सख्यामा रुख काटिने भन्दै विमानस्थल निर्माणको  काममा अवरोध गर्दै आएका छन्। तर, अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यालयले भने धावनमार्ग र अन्य आवश्यक भौतिक संरचना निमार्णका लागि  पहिलो चरणमा १९ सय हेक्टर क्षेत्रफल भए पुग्ने दावी गर्दै आएको छ।

‘अहिले हामीले काम गर्ने भनेको १९ सय हेक्टर क्षेत्रफलमा मात्रै हो, सो क्षेत्रमा धावनमार्ग सहित आवश्यक भवन र भौतिक संरचना बन्दछ,’ आयोजना कार्यालयका निमित्त प्रमुख विजय यादवले भने, ‘आयोजना कार्यालयले १९ सय हेक्टर क्षत्रेफलमा रहेको रुख र पोल गणनाका लागि ३ करोड लाग्ने जनाएको छ। तत्कालका लागि डिभिजन वन कार्यालयलाई ४५ लाख रुपैयाँ पेश्की दिएको यादवले बताए।

वस्ती व्यवस्थापन जटिल बन्दै

प्रस्ताबित विमानस्थलको ८ हजार ४५ हेक्टर क्षेत्रफलमा ११० बिघा नम्बरी जग्गाबाहेक सम्पूर्ण भू–भाग राष्ट्रिय वन, तामागढी साझेदारी र सहजनाथ साझेदारी वन क्षेत्रको भू–भाग पर्दछ।

विमानस्थलको भू–भागमध्ये टाँगियावस्तीमा मात्रै १४ सय ३९ घरधुरी, काँटगाँउमा ११० घरधुरी र मटियानीमा ४८ घरधुरी बसोबास गर्दै आएका छन्।  सरकारले वन क्षेत्रभित्र बसोबास गर्दै आएका वस्तीलाई व्यवस्थापनमा ढिलाई गर्दा बर्सेनि वन क्षेत्र फडानी बढ्दै गएको छ भने वन तस्करहरु रजगज समेत बढेको डिभिजन वन कार्यालय बाराले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.