|

काठमाडौं : रुपन्देही र पाल्पाका विभिन्‍न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।

डोटी, पूर्वी चौकी गाउँपालिका-१ तल्लो फुलोटमा ना ६ ख २५२९ नम्बरको बस सडकबाट करिब १ सय मिटर तल खोलामा खसेर बुधबार बिहान दुर्घटना हुँदा बसमा सवार ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका बसमा सवार अन्य २७ जनाको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ।

रुपन्देही : तिलोत्तमा नगरपालिका-५ स्थित सडकमा लु ५३ प २८७६ नम्बरको स्कुटर आफै अनियन्त्रित भई मंगलबार साँझ दुर्घटना हुँदा स्कुटर चालक त्यही नगरपालिका-११ शिवपुर बस्ने ५४ वर्षीय नारायणप्रसाद बस्यालको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो।

पाल्पा : निस्दी गाउँपालिका-५ पटाकसरमा लु १ ज २८८७ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ७ सय मिटर तल खसेर मंगलबार राति दुर्घटना हुँदा जिपमा सवार २ जनाको मृत्यु भएको छ।

दुर्घटनामा निस्दी गाउँपालिका-५ डब्बुडाँडा बस्ने ६३ वर्षीय ठाकुर प्रसाद थालको घटनास्थलमै र सोही गाउँपालिका-४ बस्ने विष्णुमाया सारुको ३ महिनाको छोरा सिमोवन कालुङको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका अन्य ६ जनाको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मृत फेला

दाङ : गढवा गाउँपालिका-१ मलमला घाटस्थित राप्ती नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ७० बर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन्।

धनुषा : मिथिला नगरपालिका-९ बेंगाडावर बस्ने चन्देश्वर महतोको १८ बर्षीय छोरा शिवशंकर महतो घर नजिकै रहेको आफ्नै खेतको आँपको बगैँचामा मंगलबार मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

डुबेर मूत्यु

​महोत्तरी : औरही नगरपालिका-२ चेपकटटोल बस्ने अमित सदाको ४ वर्षीया छोरा सोहन सदाको घर नजिकै रहेको पोखरीमा डुबेर मंगलबार साँझ मृत्यु भएको छ।

झापा :  अर्जुनधारा नगरपालिका-८ हात्ती किल्ला बस्ने ५२ वर्षीय प्रीति कुमार राईको खेतको पानीमा डुबेर मंगलबार साँझ मृत्यु भएको छ।

बर्दिया :  बारबर्दिया नगरपालिका-३ भुण्डागौडीस्थित रहेको बुढी खोलामा डुबेर झुण्डिपुर बस्ने हिरा चौधरीको ४ बर्षीया छोरी ओराही चौधरीको मंगलबार साँझ मृत्यु भएको छ।

सर्लाही : मलंगवा नगरपालिका-४ बस्ने राजाराम राउतको १८ बर्षीया छोरा बिकास राउतको मेस्तरस्थित कदम पोखरीमा डुबेर मंगलबार मृत्यु भएको छ। पोखरीमा डुबेर अशक्त भएका उनको उपचारको लागि जिल्ला अस्पताल मलंगवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

करेन्ट लागेर मृत्यु  

कञ्चनपुर : कृष्णपुर नगरपालिका-६ मौरीफाटा बस्ने २४ वर्षीया राधा ओडको करेन्ट लागेर मंगलबार मृत्यु भएको छ। सोही नगरपालिकास्थित महाकाली माविको क्वारेन्टाइनभित्र रहेको मोटर जडान गरेको धारामा नुहाउन पानी चलाउने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.