|

भद्रपुर : सीमा नाकासँग जोडिएको झापाको मेचीनगर नगरपालिकामा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको छ। यसअघि ३२ जना सशस्त्र प्रहरीमा कोरोना पुष्टि भएको मेचीनगरमा एक चिकित्सकसहित थप चार जना स्थानीयमा कोरोना संक्रमण पुष्टि भएको छ।

मेचीनगर नगरपालिका १० स्थित आम्दा अस्पतालका २९ वर्षीय एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको हाे। त्यस्तै मेचीनगर १० बस्ने १५ वर्षीय युवक र उनका परिवारका दुई सदस्यमा समेत कोरोना संक्रमण पुष्टि भएको मेचीनगर नगरपालिकाले जनाएको छ। परिवारका सदस्य दुईमध्ये एक २५ वर्षीय महिला र अर्का १३ वर्षीय बालक छन्। 

त्यस्तै मेचीनगर ७ बस्ने २८ वर्षीय एक पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ। समुदायस्तरमा गरिएको स्वाब सङ्कलन पश्चात् आएको पिसीआर रिपोर्टमा उनीहरूमा संक्रमण देखिएको हो। गत साउन २४ गते शनिवार धुलाबारी माविमा गरिएको स्वाब सङ्कलन रिपोर्ट बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बुधबार आएकोमा चार जनामा पोजेटिभ देखिएको हो। 

मेचीनगर १० का १५ वर्षीय युवामा यसअघि कोरोना संक्रमण देखिएपछि समुदाय स्तरमा स्वाब सङ्कलन गरिएको नगरपालिकाका स्वास्थ्य शाखाका फोकल पर्सन नवीन बरालले जानकारी दिए।

मेचीनगर नगरपालिकामा मात्र कोरोना सङ्क्रमितको सङ्ख्या एक सय पुगेको छ। समुदायस्तरसँगै चिकित्सकसहित एकै पटक चारमा जनामा कोरोना संक्रमण देखिएपछि अहिले मेचीनगर नगरपालिकामा के गर्ने विषयमा छलफल भइरहेको फोकल पर्सन नवीन बरालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.