|

जनकपुरधाम : हुलाकी राजमार्ग निर्माण समयमा नहुँदा धनुषाका जनता सास्ती भोगिरहेका छन्। ठाउँ ठाउँमा सडक नै अवरुद्ध बनेको छ। वर्षाको पानी जमेर सडक हिलाम्मे बनेपछि मोटरसाइकल पार गर्न पनि धौ–धौ हुन्छ। अहिले यो सडक भएर चारपाङ्ग्रे सवारी आउन सक्ने अवस्था छैन।

धनुषाबासीका लागि मुख्य सहर हो– जनकपुरधाम। तर हुलाकी सडक जर्जर बनेका कारण कमला नगरपालिका, औरही नगरपालिका र विदेह नगरपालिकाका नागरिक चाहेर पनि जनकपुरधाम आउन सकिरहेका छैन। पानी जमेको कतिपय ठाउँमा मोटरसाइकल पार गर्न पनि जोखिम मोल्नुपर्छ।

औरहीका प्रमोद अधिकारी भन्छन्, ‘ठेकेदारको लापरबाहीले हुलाकी सडक समयमा बन्न सकेन। सांसद नै ठेकेदार भएका कारण कसैले कारबाही पनि गरेका छैन। जसका कारण हामी सास्ती भोगिरहेका छौं।’ कोरोना महामारीका बेला पनि एम्बुलेन्स आवतजावत गर्न नसक्ने गरी हुलाकी सडक हिलाम्मे बनेको उनको भनाइ छ।

कतिपय ठाउँमा हुलाकी सडक पोखरी झै देखिन्छ। सडकमा २ फिटसम्म पानी जमेको छ। पानीभित्र हिलो जमेको र इटा तथा पथ्थरहरु रहेकाले आवतजावत गर्न ठूलो समस्या हुन्छ। तिनकौरिया चोक नजिकै सडकमा जमेको पानीमा हरेक दिन २÷४ जना मोटरसाइकल चालक लड्ने गरेको स्थानीय बताउँछन्।

थपिएको म्यादभित्र पनि बनेन सडक

जनकपुरदेखि कमला नगरपालिकाको सघारासम्म ३० दशमलव ७ किलोमिटर हुलाकी सडकलाई तीन खण्डमा बाँडेर निर्माणका लागि ठेक्का लगाइएको छ। जनकपुरधामको कदम चोकदेखि औरही गाउँपालिकाको कपटौलसम्म १२ किलोमिटरलाई पहिलो खण्ड, कपटौलदेखि विदेह नगरपालिकाको तिनकौरियासम्म १३ किलोमिटर सडकलाई दोस्रो खण्ड र तिनकौरियादेखि कमला नगरपालिकाको सघारासम्म ५ दशमलव ७ किलोमिटर सडकलाई तेस्रो खण्ड अन्तर्गत राखिएको छ।

पहिलो र दोस्रो खण्ड सडक निर्माणका लागि लामा रमण जेभी निर्माण कम्पनीले ठेक्का पाएको छ। उक्त कम्पनीले २०७५ फागुन ३ सम्म निर्माण पुरा गर्ने सर्तमा २०७३ असार ३१ मा २७ करोड ९५ लाख ४३ हजारमा भ्याटसहित पहिलो खण्डको ठेक्का लिएको थियो।

समयमा काम सम्पन्न गर्न नसक्दा हुलाकी राजमार्ग निर्देशनालयले पहिलो पटकका लागि २०७६ असार २४ गतेसम्म म्याद थप गर्यो। तर थप गरिएको म्यादभित्र पनि निर्माण पूरा गर्न सकिएन। करिब २५ देखि ३० प्रतिशत काम मात्र भएको छ।

दोस्रो खण्डको सडक २०७५ फागुन ३ गतेसम्ममा निर्माण सम्पन्न गर्ने सर्तमा २०७३ असार ३१ म लामा रमन जेभी कम्पनीले २२ करोड ९७ लाख ४५ हजार रुपैयाँमा (भ्याटसहिट) ठेक्का सम्झौता भएको थियो। तर यो खण्डपनि समयमा निर्माण पुरा नहुँदा २०७६ असार २४ गतेसम्म म्याद थपियो। म्याद थपिएको समयभित्र पनि निर्माण पुरा हुन सकेका छैन।

यस्तै तेस्रो खण्ड सडक निर्माणका लागि ढुकुचु कन्स्ट्रक्सन कम्पनी काठमाडौंले २०७४ असार ३० गते सम्झौता गरेको थियो। यो सडक खण्ड २०७५ पुस ३० गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने तर नहुँदा पहिलो पटकका लागि २०७६ असोज २८ गतेसम्मका लागि म्याद थपियो। यो सडक अझै २५ प्रतिशत पनि निर्माण पूरा भएको छैन।

प्रदेश सांसद नै ठेकेदार

हुलाकी सडक धनुषाको पहिलो र दोस्रो खण्ड लामा रमण जेभी कम्पनीले ठेक्का लिएको छ। तर पेटी ठेक्का भने उक्त कम्पनीका सञ्चालक बलराम महतोले आफ्नै भाइ किशोरी साहलाई सुम्पिएका छन्। किशोरी धनुषाको क्षेत्र १ (क)बाट निर्वाचित नेकपाका प्रदेश २ का सांसद हुन्।

प्रदेश सांसद नै ठेकेदार भए पनि सडक निर्माण कछुवाको गतिमा भइरहेको भन्दै पटक पटक प्रदेश २ को सदनमै आलोचना भइसकेको छ। जनताले समेत उनको व्यापक आलोचना गर्छन्। तर उनलाई वास्ता छैन। उनले ठेक्काको प्रतिनिधिमा आफ्नो नामको सट्टा महेश्वर साहलाई राखेको स्रोतले जनाएको छ।
 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.