सरकार भन्छ : संक्रमण समुदायमा गइसकेको छैन

|

काठमाडौं : केही दिनयता काठमाडौं उपत्यकामा तीव्र गतिमा कोरोना संक्रमण फैलिँदै गएको छ। लकडाउन अघिसम्म एक दुईको संख्यामा भेटिने संक्रमित लकडाउन खुलेसँगै दैनिक ५० भन्दा बढी भेटिन थालेका छन्। पछिल्लो केही दिनमा दैनिक सयभन्दा धेरै संक्रमित भेटिएका छन्। 

काठमाडौं उपत्यकामा कोरोनाका संक्रमित भेटिने दर दैनिक सयभन्दा उकालो लागिरहेको छ। हिजो मात्रै  काठमाडौं उपत्यकाका तीन जिल्लामा १३८ जनामा कोरोना पुष्टि भएको थियो। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्‍वर गौतमले यसबारे जानकारी दिएका थिए। गौतमका अनुसार काठमाडौं जिल्लामा मात्रै १०९ जना संक्रमित भेटिएका छन्।

उपत्यकामा कोरोना गत शुक्रबार  १०६ शनिबार ६२ आइतबार  ९२ सोमबार  ४३ मंगलबार  १३४ बुधबार  १३९ छन्। यो संख्याले पनि संक्रमितहरु उपत्यकामा बढ्दै गएका छन् भन्‍ने पुष्टि हुन्छ।

लकडाउन खुकुलो भएपछि नेपालमा कोरोना भाइरस संक्रमणको ग्राफले उचाई लिन थालेको छ। संक्रमण मात्रै होइन पछिल्ला दिनमा मृत्युको संख्या समेत बढ्दो क्रममा छ। मन्त्रालयले बनाएको संक्रमणको ग्राफमा लकडाउन पछि संक्रमण दर उच्च छ।

पछिल्लो समय उपत्यकामा  संक्रमित बढ्दै जान थालेपछि  कोभिडका बिरामीको उपचार गर्न छुट्याइएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल, उपत्यकाका कोभिडका बिरामीलाई लागि त्रिवि शिक्षण अस्पताल, कीर्तिपुरस्थित आयुर्वेदिक अस्पतालमा अस्पतालको बेडहरु भरिभराउ छन्।

कतिपय संक्रमित अहिले होम आइसोलेशनमा छन्। लक्षणसहितका संक्रमित बढ्दै जान थालेपछि हाल सरकारले लक्षण नभएका संक्रमितलाई घरमै रहन भनेको छ। लक्षण देखिएका संक्रमितलाई मात्रै अस्पताल ल्याउन थालिएको छ। चैत ११ गतेदेखिको लकडाउन अवधि र त्यसअघि उपत्यका बाहिरबाट आएकाहरुमा मात्रै संक्रमण देखिएको थियो।

हाल काठमाडौं उपत्यकामा ट्राभल हिस्ट्री नभएका व्यक्तिहरुमा संक्रमण देखिन थालेपछि समुदायमा संक्रमण फैलिएको छ। कोटेश्‍वरको सेतीओपी मार्गका २७ जना स्थानीयवासीलाई संक्रमण देखिएपछि समुदायमा गएको अनुमान गरिएको छ।

तर हालसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने संक्रमण उपत्यकामा समुदायमा नफैलिएको बताएको छ। मन्त्रालयका प्रवक्ता गौतमले हाल सम्म संक्रमण समुदायमा नफैलिएको बताएका हुन्। उनले भने, ‘उपत्यकामा संक्रमण हाल सम्म समुदायमा फैलिएको छैन तर उच्च सतर्कता भने अपनाउनु पर्ने अवस्था छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.