प्रहरीकै मोटरसाइकलको चाबी खोसियो

|

बारा :  पूर्व-पश्चिम राजमार्गको निजगढ बजारमा बिहीबार विहानको दृष्य कुनै फिल्मको भन्दा कम थिएन। पूर्वतर्फबाट मोटरसाइकलमा आएका दुईवटा समूहमध्ये पछाडि भएकोले मुख्य सडक छेउमा आएपछि अगाडिको मोटरसाइकललाई जवरजस्ती रोके।

पछाडिको मोटरसाइकलमा तीनजना थिए भने अगाडिकोमा दुईजना सवार थिए। उनीहरुले पछाडि बसेकालाई मोटरसाइकलबाटै थुते। उनलाई तीनजना मिलेर भुईँमा लडाएर पाता कस्दै थिए। त्यही मौकामा अगाडिको मोटरसाइकल उम्कियो। 

त्यो दृष्य सडक पारि सुर्ती काटिरहेका बाबु ठकुरीको आँखामा पर्‍यो। एउटा व्यक्तिलाई तीनजना मिलेर पाता कस्दै भकुर्न थालेपछि उनी दौडिँदै पुगे। एक एक गर्दै स्थानीयको भिड लाग्न सुरु भयो।

ठकुरी जँगिन थालेपछि भुइँमा लडाइएका युवकलाई उनीहरुले मोटरसाइकलमा चढाए। ठकुरीले उनीहरुको हात र कम्मरमा पेस्तोल देखे। अपहरण गर्न आएका अपराधी ठानेर आँट गरेर मोटरसाइकलको चाबी निकाले। 

स्थानीयले घेरिसकेपछि उनीहरुले प्रहरीको परिचय दिए, परिचय पत्र देखाए। वीरगञ्जबाट खटिएर अपराधी पक्राउ गर्न आएका हौं भने। तर स्थानीयले मानेनन्। तिमीहरु को हौ ? परिचय पत्र नक्कली पनि हुन सक्छ भनेपछि त्यहीमध्ये एकजनाले इलाका प्रहरी कार्यालय निजगढमा फोन लगाए। 

स्थानीयले पनि प्रहरीलाई खबर गरिसकेका थिए। तत्काल प्रमुख निरीक्षक विकास थपलिया नेतृत्वमा टोली आइपुग्यो। स्थानीयलाई प्रहरी निरीक्षक थपलियाले उनीहरु प्रहरी भएको बताएपछि घेरा खोल्दै गए। 

पक्राउ गर्ने त प्रहरी भन्ने थाहा पाए तर पक्राउ परेका व्यक्ति को हुन्, के मुद्दामा पक्राउ परेका उनीहरुले पत्तो पाएनन्। प्रहरीको भ्यानमा राखेर उनलाई लगियो। घटनाबारे जानकारी लिन प्रहरी कार्यालय पुगेपछि पक्राउ परेका व्यक्ति जाली नोट कारोबारीको अभियोगमा प्रहरीले खोजिरहेका इल्ताफ हुसेन अन्सारी भएको खुलेको छ। 

जिल्ला प्रहरी कार्यालय, पर्साबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले पछ्याउँदै आउने क्रममा उनलाई पक्राउ गरेको हो। अन्सारी उनै हुन्, जो पछिल्लो १५ किलो सुनचाँदी प्रकरणमा मुछिएका छन्। यो प्रकरणमा प्रयोग भएको बा ६ च ५५१९ नम्बरको स्कोर्पियो गाडी पनि उनकै हो।

काठमाडौंको कमलपोखरीबाट अन्सारीको गाडीलाई प्रहरीले पछ्याएपछि सुन चाँदी भएको झोला फ्याँकेर स्कोर्पियो भागेको थियो। त्यसयता महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसर, टेकुले उनको खोजीलाई तीब्र बनाएको थियो।

नक्कली नोट प्रकरणमा यसअघि पक्राउ परेका हुसेन जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पुनः पक्राउ गरेको हो। साउन १३ गते प्रहरीले कमलादीबाट १५ किलो सुन फेला परेको जानकारी दिएको थियो।

तर घटनास्थल सुनधारा भएको पछि खुलेको थियो। सुुन्धाराबाट बरामद सुनमध्ये आधा केजी सक्कली र बाँकी चाँदीमा सुनको जलप लगाएको भेटिएको थियो।

साढे १४ किलो नक्कली र आधा किलो सक्कली सुन काण्डमा फरार रहेका एकजना पक्राउ परेका छन्। काठमाडौं प्रहरी परिसरको समन्वयमा पर्साको टोलीले बाराको निजगढबाट इल्ताफ हुसेन अन्सारीलाई पक्राउ गरेको हो।

सुन काण्डमा सञ्जय पटेल अझै फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। उनकै गाडी नक्कली सुन बोक्न प्रयोग गरिएको थियो।

को हुन् अन्सारी?

बाराको जीतपुर सिमरास्थित प्रस्टोका हरपुरका अन्सारी प्रायः वीरगञ्जमा बस्ने गर्छन्। उनी आफूलाई पेट्रोलपम्प सञ्चालकका रुपमा चिनाउँछन्। उनी २८ असार २०६८ सालमा बरामद भएको ५४ लाख ९५ हजार नक्कली भारतीय रुपैयाँको मुख्य कारोबारी थिए।

घटनापछि फरार उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २०७२ जेठमा पक्राउ गरेको थियो। पछिल्लो पटक ७ करोड ६७ लाख ९४ हजार भारतीय नक्कली नोटसहित समातिएका युनुस अन्सारीसँग पनि उनको निकट सम्बन्ध रहेको स्रोतको दाबी छ। 

युनुसपछि नेपालमा नक्कली भारतीय नोट कारोबार गर्ने व्यक्ति उनी थिए। प्रारम्भमा युनुसकै समूहमा भए पनि पछिल्लो समय उनले आफ्नै समूह चलाइरहेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.