|

बारा : सन्तोष गिरी बाराको निजगढ १० लालगाउँको प्रतीक्षालयमा रात बिताउँछन्। काठको फल्याक नै उनको ओछ्यान भएको छ। न ओढ्ने न आछ्याउने, लामखुट्टेलाई टोकाउँदै दिनभरि ज्याला मजदुरी गरेर थाकेको सन्तोषको शरीर फुस्स निदाउँछ। सन्तोषको रात सडक मानवजसरी नै बित्छ। 

जितपुरसिमरा १५ स्वाउलीबजारमा मध्यम वर्गीय परिवारमा जन्मिएका घरका माइलो छोरा हुन् उनी। तर सबै थोक भएर पनि केही नभएको जस्तो छ उनको जीवन। 

गलैंचा बुन्दा पिरती 

सन्तोष काठमाडौंमा गलैँचा बनाउने काम गर्थे। त्यहाँ उनको एक युवतीसँग प्रेम बस्यो। घिमिरे बाहुनकी छोरीसँगको प्रेमलाई उनले बिहेमा बदले। गाउँ फर्किए। दुई÷चार दिनको बसाइँपछि श्रीमती गीतासँगै उनी ससुराली गए। छोराले मन पराएर ल्याएको बुहारी कस्तो कुलघरानको होली भन्ने बुवा–आमाको मनमा चिन्ता थियो। छोरा सन्तोषसँगै बुवाआमा पनि छोराको सुसुराली लाल पुगे। जुन निजगढ नगरपालिकामै पर्छ। 

अन्तरजातीय विवाह

तर सन्यासी गिरीको घरमा भित्रिएकी बुहारी गीता दलित परिन्। घिमिरे नै भए पनि उनी बाहुनी नभएर विश्वकर्मा भएको खुल्यो। सन्तोषको परिवारमा खैलाबैला नै मच्चियो भयो। बुवाले रिसाएर सन्तोषलाई सधैंका लागि घरबाट निकालिदिए। ‘बुवाले मलाई तँ मेरो लागि मरिस् भनेर भन्नुभयो,’ सन्तोषले सुनाए। त्यसपछि सन्तोषका लागि घरको ढोका सधैंलाई बन्द भयो। भन्छन्, ‘कहिलेकाहीँ घरमा आमालाई भेट्न जान मन लाग्छ। घरमा पस्नै दिँदैनन्।’

त्यसलाई(गीता) छोड्दे भनेर परिवारले सन्तोषलाई भन्ने गरेका छन्। तर उनी परिवारको कुरा नमानी ससुराली बस्न थाले। पेट पाल्न ज्याला मजदुरी गर्न ससुराली गाउँदेखि पोखरा सहरसम्म पुगे सन्तोष। समय बित्दै गयो, उनीहरुबाट तीन सन्तान भए। एक छोरा र दुई छोरी। तर छोरो चार वर्षको उमेरमा बित्यो। दुःख गरेर हातमुख त जोडिन्थ्यो, तर घरसँगको तोडिएको नाताले सन्तोषको मन पोलिरहन्छ। 

नागरिकताविहीन

छोरीको जन्मदर्ता बनाउनुपर्ने बेला भने सन्तोषलाई समस्या पर्याे। विवाह दर्तासमेत नभएको अवस्थामा सन्तोषले छोरीको जन्मदर्ता बनाइदिन पाएनन्। नागरिकता नबन्दै काठमाडौं पसेका सन्तोष विवाहपछि घरपरिवारसँग सम्बन्ध बिग्रिएका कारण नागरिकताविहीन थिए। नागरिकता नभएकै कारण सन्तोषको परिवारमा कलह सुरु भयो। 

पत्नीले पनि छाडिन्

आर्थिक रुपमा विपन्न, ससुरालीको बाँस र नागरिकता नहुँदाको समस्याले सन्तोषमाथि समस्या थपिँदै गयो। जसका लागि उनले जन्मदिने घरसँग सम्बन्ध बिगारे, उनले नै सन्तोषलाई ८ वर्षअघि छाडेर गइन्। ‘म पोखरामा काम गर्थें, उनले १५ हजार रुपैयाँ पठाइदिनु भनिन्, मैले ८ हजार मात्रै पठाउन सके,’ सन्तोष दुःख सुनाउँछन्, त्यसपछि मलाई पैसा पनि पठाउन नसक्ने र नागरिकतासमेत बनाउन नसक्नेसँग बस्दिनँ भनी सरापेर भारततिर हिँडी।’ 

गीताले कान्छी छोरीसमेत लिएर गएपछि उनी ससुराली फर्किए। पत्नीले छाडेपछि ससुराली घर बस्न छाडे पनि सन्तोषले त्यो गाउँ अझै छाडेका छैनन्। उनले अर्काे विवाह पनि गरेका छैनन्। छोरीहरुको मायाले उनीहरु फर्किने आशामै छन् उनी अझै। 

सम्पत्ति चाहिँदैन, नागरिकता बनाइदिनुस् 

सन्तोषको नेपाली नागरिक हुने अधिकार दिलाउन ससुराली गाउँका स्थानीयले पनि उनको परिवारलाई आग्रहसमेत गरेका थिए। सन्तोषको पटक पटकको आग्रहलाई बेवास्ता गरेपछि उनले सञ्चारकर्मीमार्फत सहयोगको अपेक्षा गरेका छन्। सन्तोषले थाहाखबरसँगको कुराकानीमा सम्पत्ति चाहिँदैन, नागरिकता बनाइदिनुस् भनेर आग्रह गरेका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.