|

काठमाडौंः नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिका-४ स्थित चण्डी माविले बोलपत्र नै आह्वान नगरी गुपचुपमै १२ लाख रुपैयाँ बराबरको प्राविधिक उपकरण र सामग्री खरिद गर्न लागेको पाइएको छ। विद्यालयले गाउँपालिकाको बजेटले सामान खरिद गर्न लागेको हो। 

स्थानीयका अनुसार विद्यालय प्रशासन र गाउँपालिकाका पदाधिकारीको मिलेमतोमा सो सामान खरिद गर्न खोजिएको हो। एक स्थानीयले भने, ‘चण्डी माविले सार्वजनिक खरिद नियमावली मिचेर गुपचुपमै १२ लाख रुपैयाँको प्राविधिक सामान खरिद गर्न लागेको छ। ठेक्काको लागि कुनै प्रतिष्पर्धा गराएको छैन। कानुनी हिसाबले सामान खरिदमा प्रतिष्पर्धाका लागि टेन्डर गर्नुपर्छ। तर, स्कुलले कुनै प्रकृया नपुर्‍याई सामान खरिद गर्न लाग्यो।’

सप्लायर्स कम्पनी, स्कुलका शिक्षक र व्यवस्थापन समितिको मिलेमतोमा सामान खरिद गर्न लागेको स्थानीयको आरोप छ। विद्यालयले त्रिशुली बजारस्थित युनिक कम्युटर सप्लार्यसबाट सामान खरिद गर्न लागेको हो। 

अनियमिततामा गाउँपालिका नै मौन

तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेशबहादुर वस्तीले कोटेशन आह्वान गरेरै सामान खरिद गर्न लागेको जानकारी पाएको बताएका छन्‌।

​‘स्कुललाई गाउँपालिकाले नै सामान खरिदको लागि बजेट दिएको हो,’ उनले भने, ‘स्कुलबाट मलाई भने कोटेशन आह्वान गरेरै सामान लिन लागेको जानकारी आएको छ। बाहिर सूचना प्रकाशन गरेको वा नगरेको विषयमा भने केही जानकारी छैन। म यस विषयमा बुझ्छु।’ 

‘समितिले नमानेपछि टेन्डर खोलेनौं’ 
चण्डी स्कुल माविका प्रधानाध्यापक हरिहर पण्डितले स्कुल व्यवस्थापन समितिले नमानेपछि पत्रपत्रिकामा टेन्डर आह्वान नगरी सामान खरिद गर्न लागेको स्वीकारेका छन्‌। ‘मैलै त सार्वजनिक खरिद नियमावली अनुसार टेण्डर आह्वान गरेर मात्रै सामान खरिद गर्नुपर्छ भनेको थिएँ,’ उनले थाहाखबरसँग भने, ‘स्कुल व्यवस्थापन समितिले केही हुँदैन भनेर सामान किन्ने सूची तयार गरियो। स्कुलमा सूचना मात्रै निकाल्यौँ, तर पत्रपत्रिकामा टेन्डरको लागि सूचना जारी गरेनौँ।’ 

स्थानीय निकायको आन्तरिक आय संकलन (ठेक्का बन्दोबस्त) सम्बन्धी व्यवस्था, स्थानीय निकाय आर्थिक प्रशासन नियमावली, २०६४, को (४) उपनियम (१) बमोजिम ठेक्का बन्दोबस्त कार्यविधि (घ) खण्ड (ग) बमोजिम बोलपत्र आह्वान गर्दा १० लाख रुपैयाँसम्म भए स्थानीयस्तरमा नियमित प्रकाशन हुने पत्रिका वा राष्ट्रियस्तरका पत्रिकामा कम्तीमा १५ दिनको म्याद दिई सूचना प्रकाशन गर्नुपर्ने प्रावधान छ।

त्यस्तो सूचना बोलपत्र माग गर्ने स्थानीय निकाय, जिल्ला प्रशासन कार्यालय,मालपोत कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, तथा सो जिल्लाको सदरमुकाममा कुनै निर्माण व्यवसायी संस्था भए त्यस्ता संस्थाको कार्यालयमा समेत सबैले देख्ने गरी सार्वजनिक ठाउँमा सूचना टाँस गरी सोको मुचुल्का वा टाँसेको जानकारी प्राप्त गर्नुपर्नेछ।

१० लाख रुपैयाँभन्दा बढी भएमा कम्तीमा ३० दिनको म्याद दिई राष्ट्रियस्तरका दैनिक पत्रिकामा सूचना प्रकाशन गर्नुपर्नेछ। तर, स्कुलले टेन्डरको लागि म्याद नदिई आफुखुशी सामान खरिद प्रकृया अघि बढाएको हो। 

प्रधानाध्यापक पण्डितले बजारमै गई समानको मुल्य अनुगमन गरी कम लागतमा सामान खरिद गर्ने सप्लायर्सलाई ठेक्का दिएको दाबी गरे। गैरकानुनी रुपमा सामान खरिद गर्दा विवाद हुन्छ भन्दा पनि व्यवस्थापन समितिले नमानेको उनको आरोप छ।

उनका अनुसार स्कुलले १२ थान डेस्कटप, २ थान ल्यापटप, १ थान फोटोकपी गर्ने मेसिन, प्रोजेक्टर र साउन्ड सिस्टम किन्न लागेको छ। यसको लागि गाउँपालिकाले गत आर्थिक वर्षमा पाँच लाख ५० हजार रुपैयाँ बजेट निकासा गरेको थियो भने चालु आर्थिक वर्षमा ६ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ।

सामान खरिद गर्ने विषयमा समुदायले समेत विरोध जनाएको भन्दै यस विषयमा पुनः छलफल गर्ने उनले बताएका छन्‌। यस विषयमा बुझ्नका लागि चण्डी माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण केसीलाई पटक-पटक फोन गर्दा उठाएका छैनन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.