|
फाइल फाेटाे

काठमाडौं  ः जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु हिमालको उचाई घटाइदिएको छ। प्रशासन कार्यालय गोरखाले आज साउन २९ गते जिल्ला बासीका लागि अनुरोध भन्दै जारी गरेको सूचनामा मनास्लु हिमालको उचाई घटाइएको हो। प्रशासनले सूचनाको सुरुमै मनास्लु हिमालको चर्चा गर्दा उचाई नै गलत लेखेको छ। 

'गोरखा जिल्ला भौगोलिक हिसाबले विविधता युक्त रहेको, नदीको तल्लो तटीय क्षेत्र २२८ मिटर उचाइदेखि मनास्लु हिमाल तर्फ ८११५ मिटर उचाईसम्म फैलिएको विविध जनजीवन र जनजीविका रहेको, पाँच वटा ठूला नदीको नदी प्रणालीसँग आवद्ध भएको छ,’ प्रशासनको विज्ञप्तीमा भनिएको छ, ‘२०७२ सालको भुकम्पका कारण चिरिएका जमिनमा निरन्तरको वर्षाको कारणले अति धेरै पहिरो जाने, बाढी आउने, डुबान हुने नदी कटानसमेत भइ कृषि भूमि तथा बालीको क्षति भई केही बासिन्दाहरूको दुःखद निधनसमेत भएको छ। यसै गरी ठूलो संख्यामा घरहरु बगेका र बहिरोले पुरेको अवस्था छ।’ 

जिल्ला प्रशासनले सूचनामा उल्लेख गरे अनुसार मनास्लु हिमालको उचाई त्रुटीपूर्ण उल्लेख गरिएको छ। मनास्लु हिमालको उचाई ८१६३ मिटर हो। जिल्ला प्रशासनले मनास्लुको उचाई नै बिगारेर निकालेको सूचना बाढी पहिरोसँगै प्राकृतिक विपत्तिबाट जोगिन सचेत गराउन निकालेको देखिन्छ। 

उक्त सूचनामा तथ्यांक मात्रै हैन शब्दहरू पनि धेरै अशुद्ध छन्। जिल्ला प्रशासन कार्यालय गोरखाका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराइले भने कर्मचारीहरुले त्रुटी गरेकाले सच्याउन लागिएको बताए। 

‘यहाँ साथीहरुले बिगारेछन्, म पनि आएको भर्खर हो। खास जानकारी नभएकोले मैले त्यसै सही गरेँ नहेरी,’ उनले थाहाखबरसँग भने,‘गल्ती भएछ हामी सच्याउँछौँ।’ मनास्लु विश्वको ८ औं अग्लो हिमाल पनि हो। 

यस्तो छ जिल्ला प्रशासन गोरखाको सूचना 
 

यसरी राखिएकाे प्रशासनको वेभसाइटमा सूचना 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.