देउवाकाे गतिविधिले पार्टीभित्रकाे जनविश्वास गुम्दै गएकाे आराेप

|
फाइल फाेटाे

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठन गरेको पार्टीका विभिन्न विभागका केहीले जिम्मेवारी नलिने र नबस्ने बताएका छन्। सभापति देउवाले अहिलेसम्म ३० वटा विभागमा एकलौटी ढंगले जिम्मेवारी बाँडफाँट गरिसकेका छन्। कांग्रेसमा जम्मा विभाग ४७ छन्।

महाधिवेशन भएको ६ महिनाभित्र विभाग गठन गर्नुपर्ने विधानमा उल्लेख भए पनि सभापति देउवाले धमाधम विभाग गठन गरिरहेका छन्। अहिले अर्काे महाधिवेशन आउन जम्मा ७ महिना बाँकी छँदा गठन गरेको भन्दै पौडेल समूहले यसको विरोध गर्दै आइरहेको छ। पौडेलले आफ्नो समूहका नेताहरुलाई देउवाले गठन गरेको विभागमा नबस्न पनि भनेका छन्। 

पौडेल समूहको निर्देशन अनुरुप देउवाले गठन गरेको विभाग आफू नबस्ने कांग्रेस दैलेखका नेता शिवराज जोशीले बताइसकेका छन्। उनलाई देउवाले राज्य प्रशासन विभाग सदस्य मनोनित गरेका छन्।

‘पार्टीको विभिन्न काम गर्न विभाग गठन गरिने कांग्रेसका परिपाटी छ,’ उनले भने, ‘अहिले यहाँ त महाधिवेशनमा आफू कसरी बलियो हुने भनेर सभापतिज्यु विभाग गठनमा लाग्नुभएको छ। हामीलाई विभागमा राखियो तर, काम गर्ने समय नै नभएको विभागमा किन बस्ने भनेर म बस्दिनँ।’ उनले देउवाले विधान मिचेको आरोप पनि लगाए। उनले आफू विभागमा नबस्नेबारे जानकारी गराइसकेको पनि बताए। 

जोशीले मात्रै हैन तनहुँकी चन्द्रकला भट्टराईले पनि विभागमा नबस्ने बताएकी छन्। उनी महिला संघ तनहुँकी उपसभापति हुन्। ‘महाधिवेशनको मिति तोकिसकिएको छ,’ उनले भनिन्, ‘विभागमा बसेर गर्नुपर्ने काम कहिले गर्ने ? त्यसै पद मात्रै ओगटेर भएन । काम गर्नका लागि समय छैन त्यसैले म विभागमा बस्दिनँ।’ स्थानीय तह समन्वय विभाग सदस्य मनोनित गरेका छन्। 

प्युठान कांग्रेसका पूर्वसभापति सुवास केसीले पनि विभागमा नबस्ने बताएका छन्। उनलाई देउवाले निर्माण व्यवसायी समन्वय विभागको सदस्यमा मनोनीत गरेका थिए। उनले आफू कांग्रेसको विधानमै नभएको विभागमा नबस्ने बताए। ‘एक त महाधिवेशनको समय आइसक्यो अर्काे पार्टीको विधानमा नभएको विभाग गठन गरेर राखेको ठाउँमा कसरी बस्नु’, उनले भने। 

वरिष्ठ नेता रामचन्द्र रामचन्द्र पौडेल र पार्टी महामन्त्री शशांक कोइरालाले पनि देउवाले पछिल्लो समय धमाधम गठन गरेको विभाग खारेज गर्नका लागि विरोध गरेका छन्। 

त्यति मात्रै हैन कांग्रेसका १२ नेता त विज्ञप्ति नै जारी गरेर सभापति देउवाविरुद्ध उत्रिएका छन्। साउन २७ गते विज्ञप्ति जारी गरेर चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, कमला पन्त, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदीप पौडेल, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादवले विज्ञप्ति जारी गर्दै सभापति देउवाको पछिल्लो गतिविधिबारे ध्यानाकर्षण गराएका हुन्।  

महाधिवेशनको मिति तोकिसकेको अवस्थामा विभाग गठन गर्नु उचित नभएकोले तत्कालै खारेज गर्न र अब नयाँ गठन नगर्न पनि आग्रह गरेका उनीहरुले आग्रह गरेका छन्।  

‘पार्टी भित्रको आन्तरिक एकतालाई सुदृढ तुल्याउँदै पार्टी नेताबीच, नेता कार्यकर्ताबीच र पुरानो पुस्ता एवं नयाँ पुस्ता बीचको सम्बन्धलाई सुमधुर तथा हार्दिक बनाउनुपर्ने दायित्व हामी सबैको हो। ​यद्यपि यस कार्यमा सभापति अर्थात् नेतृत्वले अग्रणी भूमिका निर्वाह गर्नु पर्दछ,’ उनीहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीभित्र देखिएका विवाद र आपसी तिक्ततालाई समाप्त गरी साथीहरु बीचमा भावनात्मक एकता कायम गरी महाधिवेशनलाई हौसला पूर्ण महोत्सवको रुपमा निर्धारित समय तालिकाभित्रै सम्पन्न गर्नु हामी सबैको साझा अभिभारा र कर्तव्य हो। तथापि यस कार्यमा पनि सभापति अर्थात् नेतृत्वकै ठोस र सकारात्मक पहलकदमी महत्वपूर्ण हुन्छ।’  

देउवाको गतिविधिले पार्टीप्रति जनताको विश्वास गुम्दै गएको पनि उनीहरुले उल्लेख गरेका छन्।‘पार्टीका साथीहरुको चाहना, नयाँ पुस्ताको आकांक्षा, राष्ट्रप्रतिको दायित्व र इतिहासको आवश्यकतालाई राम्ररी महसुस गर्न सक्नु पर्दछ। तर दुर्भाग्यवश हामी, हामीलाई प्राप्त ऐ​तिहासिक विरासत र गौरवलाई जोगाउन र थाम्न असमर्थ हुदै गएका छौं। हामी प्रतिको नेपाली जनताको भरोसा कमजोर हुँदै गएको छ’ विज्ञप्तिमा भनिएको छ।

उनीहरुले देउवाका कारण पार्टीको छवि ह्रास भएको भन्दै त्यसको जिम्मा लिनुपर्ने पनि भनेका छन्। पार्टीको विधि छोडेर गुटको स्वार्थ कांग्रेसका नेताहरु लागेको पनि विज्ञप्तिमा भनिएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.