|

कैलाली  : सुदूरपश्चिम प्रदेश सभाले एफएम, रेडियो र टेलिभिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पत्रकारहरुको विरोधबीच पारित गरेको छ। प्रदेश सभाको बुधबार बसेको बैठकले विधेयकको दफवार छलफल गरी विधायन समितिले तयार गरेको प्रतिवेदन र विधेयकमाथि सामान्य छलफल गरी पास गरेको हो।

विधायन समितिले समेत सो विधेयकमा रहेको बोर्ड गठनको प्रावधानबाहेक एफएम, रेडियो र टेलिभिजनमाथि अंकुश लगाउने प्रावधान जस्ताको त्यस्तै राखेर सभामा प्रतिवेदन पेस गरेको थियो। 

सत्ता र प्रतिपक्षका सांसदहरुले सामान्य छलफलमा समेत कारबाही तथा दण्ड सजायको व्यवस्था मन्त्रालयलाई नदिएर न्यायालयलाई दिने व्यवस्था गर्नुपर्ने सुझाव दिए पनि संसद्ले मन्त्रालयलाई नै सो अधिकार दिने गरी विधेयक पारित गरेको हो।

प्रदेश सरकारले ल्याएको उक्त विधेयक प्रेस हितविपरीत भएको भन्दै सुदूरपश्चिमका पत्रकारहरुले नमान्ने चेतावनी दिएका छन्। बिहीबार धनगढीमा प्रेस युनियन कैलालीले आयोजना गरेको छलफल कार्यक्रममा पत्रकारहरुले समाचार सम्प्रेषण तथा उत्पादन गर्दा सरकार र सत्तापक्षले ठाडो हस्तक्षेप गर्ने काम भएको भन्दै आक्रोश पोखे।

पत्रकार मनमोहन स्वारले प्रदेश सभाबाट पास भएको विधेयक खारेज हुनुपर्ने बताए। उनले सरकारले सरोकारवालासँग छलफल नै नगरी ल्याएको पत्रकारको हितविपरीत भएको बताए। 

यस्तै पत्रकार महासंघका केन्द्रीय सदस्य मिन बमले प्रदेश सरकारले ल्याएको उक्त विधेयकप्रति पत्रकार सहासंघ केन्द्रीय समितिको पूर्ण विमति रहेको र तत्काल खारेज गरिनुपर्ने धारणा व्यक्त गरे। सरकारले प्रेस स्वतन्त्रताको घाटी निमोठ्ने कार्य भएको उनले बताए। 

पत्रकारहरुले उक्त विधेयक सच्याउनुपर्ने भन्दै पटकपटक सुझाव दिएको र पत्रकार र पेसागत संगठनका सुझाव सल्लाहलाई बेवास्ता गर्दै प्रेसमाथि अंकुश लगाउने नियतले ल्याएको उक्त ऐन नमान्ने बताएका छन्। पत्रकार महासंघका पूर्वअध्यक्ष कर्ण शाहले उक्त ऐनले सरकारलाई अधिकारसम्पन्न बनाएर मिडियालाई अंकुश लगाउने नियतले ल्याएको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.