जिल्ला अदालतले २० हजार जरिवाना र २ वर्ष कैद सुनायो

|

कपिलवस्तु : कपिलवस्तुको दक्षिणी भेगका चर्चित युवा नेता दीपेन्द्र कुमार चौधरी (राजाबाबु) लाई गोली हानी मार्ने अभियोगमा पक्राउ परेका २ जनाको मुद्दा फैसला भएको छ।२०७५ साल कार्तिक ७ गते भएको घटनामा संलग्न भनी प्रहरीले पक्राउ गरेको अमित कुमार पाण्डे (गुल्टु) र रामकृष्ण पाण्डे (मोन्टी) लाई २० हजार जरिवाना र २ वर्षको कैदको फैसला भएको छ। 

रन्जन कोइरालाको केसमा भन्दा कम सजाय हुने गरी फैसला भएकोे छ। कोइरालालाई ८ वर्ष ६ कैद तोकिएको थियो। २ वर्ष कैद सजाय सुनाएका दुई भाइको कैद सजाय पूरा हुन अब ४ महिना मात्र बाँकी छ। 

साउन २५ गते आइतबार कपिलवस्तु जिल्ला अदालत २ नं. न्यायाधीश लालकाजी श्रेष्ठबाट फैसला भएको श्रेस्तेदार हिरण्य प्रसाद भण्डरीले बताएका छन्। अभियोगमा मुलुकी अपराध संहिताको दफा १८२ उपदफा ‘२’ अनुसार फैसला भएको छ। फैसलाको पूरा विवरण आउन भने बाँकी रहेको भण्डारीले बताए।

‘जिल्ला सरकारी वकिल कार्यालयले उक्त दिन पेसी स्थगित गर्न पत्र पठाएको थियो। कार्यालय प्रमुख गोविन्द गिरी बाहिर भएकाले पेसी सार्न अनुरोध गरे पनि न्यायाधीश श्रेष्ठले स्तथित नगरी फैसला गराएका थिए। 

प्रत्यक्षदर्शीको बयान, कल डिटेका आधारमा ७ जना राजाबाबुको हत्यामा जोडिएका प्रहरीको प्रमाण भए पनि घटनालाई सामान्य प्रकृतिको बनाइएको अधिवक्ता वृजेन्द्र चौधरीले बताएका छन्। 

मुलुकी अपराध संहिताको दफा १७७ उपदफा ‘१’ अन्तर्गत मुद्दा दायर भएको छ। दफा १७७ मा ज्यान मार्ने नियतले कुनै पनि काम गर्न नहुने भनिएको छ भने, फैसला गरिएको दफा १८२ अनुसार हेलचेक्र्याइँ गरी कसैको ज्यान मार्न नहुने व्यवस्था छ। 

घटनास्थल नजिक घर रहेका बाबुराम सुवेदीसहित ७ जना स्थानीयले प्रत्यक्ष रुपमा घटना भएको देखेका थिए। उनीहरुले दिएको बयानकै आधारमा घटनामा संलग्न रहेकालाई कर्तव्य ज्यान तथा हातहतियारअन्तर्गत मुद्दा दायर गरेका थियौं। 

‘ज्यान मार्ने अपराधमा पनि न्यून सजाय सुनाउँदा अदालतबाट न्याय नपाएको अनुभव भएको छ। उनीहरु दोषी छैनन् भने रिहा गरे पनि हुन्छ। तर घटनामा संलग्न रहेका छन् भने मुद्दाअनुसार सजाय हुनुपर्छ,’ राजाबाबुका भाइ जितेन्द्र कुमार चौधरीले बताए। 

१० महिनापछि प्रतिवादीले साक्षी खडा गरे, आरोपी र साक्षीको बयान नै मिल्दैन

पाण्डे पक्षले उच्च अदालत र सर्वोच्चमा थुनछेक आदेश बदर गराउन पुनरावेदन गरेका थिए। थुनछेन आदेश बदर नभएपछि २०७६ साल भदौ १ गते शुद्धोदन ३ असुरैना वस्ने घनश्याम यादवलाई साक्षीको रुपमा पेस गरेका थिए। 

यादवले आफू मलखाद लिन पाण्डेको घरमा आएको र जोख्ने मानिस नहुँदा साढे ७ देखि साढे ८ बसजेम्म उनीहरुसँग रहेको बयान दिएका थिए। तर पक्राउ परेका अमित कुमार पाण्डे र रामकृष्ण पाण्डेले प्रहरीसमक्ष दिएको बयान र उनका साक्षीले पक्राउ पर्दा दिएको बयानमा मेल खाँदैन।

दुवै भाइले मासु र पिठोको लिट्टी (एक परिकार) बनाएर खान लागेको प्रहरीसमक्ष बयान दिएका थिए। दुवै जनाले घनश्याम यादवको विषयमा केही बोलेका छैनन्। मृतकका काका रामरुचि चौधरीले नक्कली साक्षी खडा गरी घटनालाई अलमलाउन खोजेको आरोप लगाए।

यस्तो थियो राजाबाबु हत्याकाण्ड 

कपिलवस्तुको शुद्धोदन गाउँपालिका ४ लवनी चोकमा मेला हेरेर फर्किंदै गरेका राजाबावुका भाई जितेन्द्र औषधि र जुस किन्न मोटरसाइकलबाट ओर्लिएका थिए। रमाकान्त पाण्डेका ३ छोरासहित ६ जनाले जुस किन्न लाग्दा गाली हानेर मार्ने धम्की दिएका थिए। धम्कीपछि जितेन्द्रले राजाबाबुलाई फोन गरी घटनाबारे बताएका थिए। राजाबाबु आउने थाहा पाएपछि ६ जना २ वटा मोटरसाइकलमा गएका थिए। 

मोटरसाइकलमा यात्रा गरेका राजाबाबुको लवनीदेखि १ किमि दक्षिण सिबलवा जाने पिच बाटोमा ६  राउण्ड गोली हानी हत्या गरिएको थियो। मृतकका भाइ जितेन्द्र कुमार चौधरीले रमाकान्त पाण्डे सहित उनका ३ छोरा अमित, अजित, रामकृष्णसहित इवारक धुनिया, दिलिप नाउ, श्याम सुन्दर चाईको नाममा  घटनामा संलग्न रहेको भन्दै किटानी जाहेरी दिएका थिए। 

२०७५ कात्तिक ७ गते शुक्रबार राति ८ बजे हत्या गरिएको थियो। रमाकान्त पाण्डेलाई आरोपित भगाउन सहयोग गरेको आरोप लागेको छ। पाण्डेका ३ छोराले गोली हानेका र अन्य ३ जनाले समाएको किटानी जाहेरीमा उल्लेख छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.