|

कञ्चनपुर : क्वारेन्टाइनमा करेन्ट लागेर मृत्यु भएकी कृष्णपुर नगरपालिका ६ कि २३ वर्षीय राधादेवी ओडका परिवारलाई नगरपालिकाले १० लाख रुपैयाँ सहयोग दिइने भएको छ। 

परिवारसँगको सहमति अनुसार नगरपालिकाले ओडकी १२ महिनाकी छोरी अनुको खातामा सहयोग रकम जम्मा गर्ने भएको छ। नगरपालिकाले सहयोगसँगै मृतक ओडका श्रीमानलाई योग्यताका आधारमा कार्यालयमा जागिर दिने सहमति गरेको छ। 

यसैगरी ओड परिवारलाई थप राहतका लागि प्रदेश र संघ सरकारसित पहल गर्ने तथा क्वारेन्टाइन व्यवस्थापनको कमजोरी छानबिनका लागि समिति गठन गर्ने निर्णय गरिएको छ। कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर हमालका स्वकीय गणेश सिह ऐरीले ओडको मृत्यु भएपछि नगर प्रमुखले सार्वजनिक रुपमा गरेको प्रतिवद्धता अनुसार सहयोग गरिएको बताए। 

आज बिहान नगर प्रमुख हमाल र सुदूरपश्चिम प्रदेश सभा सदस्य महेशदत्त जोशी लगायतले मृतक ओडका घरमै पुगेर किरिया खर्चबापत २५ हजार रुपैयाँ परिवारका सदस्यलाई हस्तान्तरण गरेका थिए। मंगलबार कृष्णपुर ६ स्थित महाकाली माविको क्वारेन्टाइनमा करेन्ट लागेर २३ वर्षीया ओडको मृत्यु भएको थियो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.