नेम्वाङ भन्छन् : प्रधानमन्त्रीलाई विश्‍वास गर्नू, रोका भन्छन् : त्यति सजिलो छैन

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद समाधान उन्मुख देखिएको छ। प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा आज झण्डै चार घण्टा भएको छलफलमा सकारात्मक संकेत देखिएसँगै विवाद समाधान हुने अवस्था बनेको हो।

हिजो एक टेलिभिजन अन्तरवार्तामा प्रधानमन्त्री ओलीले पार्टी भित्रको विवाद पाँच दिनभित्र समाधान हुने बताउँदै आजैदेखि काउन्टडाउन सुरु गर्न भनेका थिए। दुवै अध्यक्ष आ–आफना अडानबाट पछि नहट्दा ९ दिनदेखि दुई अध्यक्षबीच संवादसमेत हुन सकेको थिएन। 

ओलीले यसो भनेपछि नेताहरु विवाद समाधान हुनेमा आशावादी छन्। लामो समयसम्म देखिएको नेकपाको आन्तरिक शक्ती संघर्ष ओलीको ५ दिने डेडलाइन भित्रैमा कसरी समाधान होला? त्यो त हेर्न बाँकी नै छ। 

दिन दिनका छलफल र कार्यकर्ताको दवाबले पनि मिल्न नसकेको नेकपा विवाद, त्यसैमा पनि २ अध्यक्षको एक साताको सम्वादहीनताको अवस्थामा यो कसरी सम्भव भयो? भन्ने प्रश्न पनि उठेको छ यतिबेला। ओलीले ५ दिनमै पार्टीको विवाद समाधान हुने दाबी गरेपछि अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डसँग छलफल गरेका छन्। 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दुई अध्यक्षबीच आज गम्भीर छलफल भएको बताउँदै भोलि पनि बस्ने बताए। उनले भने ‘केही सहमति भएको छैन आज, ४ घण्टा लामो छलफल गर्नुभयो उहाँहरुले, यसलाई सकरात्मक, नकरात्मक, सहमती, असहमति तिर भन्दा पनि, उहाँहरूबीच गहन छलफल भएको छ। भोलि बस्ने गरि आजको छलफल सकिएको हो।’ 

प्रधानमन्त्री ओलीबाट सरकार र पार्टीको नेतृत्व नचलेको भन्दै अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले स्थायी कमिटीमा नै राजीनामा मागेपछि विवाद चर्किएको थियो। 

त्यस यता पटक–पटक स्थायी कमिटी, देखि सचिवालय बैठकसम्म भएपनि विवाद पार लागेन। बरु यसले चर्को रुप लिदै गएपछि पार्टी फुट्नेसम्मका विश्लेषण हुदै आएका छन्। के ओलीले भने जस्तै ५ दिनमा नेकपाको विवाद समाधान होला त ? प्रधानमन्त्री निकट नेता सुवासचन्द्र नेम्वाङले विवाद समाधान हुने आशा गरेका छन्। 

‘उहाँको विश्वास व्यक्त भएको छ, यत्रो दिनपछि पार्टी अध्यक्षले बोल्नु भएको छ, आजैदेखि २ अध्यक्षको कुराकानी पनि सुरु भएको छ,’ उनले भने ‘अध्यक्षमाथि विश्वास गर्नु पर्यो नि ! अध्यक्षले नै ५ दिन भित्रमा मिल्छ भनेका बेला कसरी मिल्छ? यो यो आधार देखा, नभए पत्याउँदिन भन्नु कि? उहाँले भन्नु भएको छ ५ दिनमा मिल्छ भनेर आशावादी भएर बस्नु ?’ 

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि स्थायी कमिटी बैठक पनि रोकिएको छ। असार १० गतेदेखि सुरु भएको बैठक साउन १३ गतेपछि बस्न सकेको छैन। १३ गते ओलीले स्थगित गरेको बैठक प्रचण्डले सञ्चालन गरेपछि विवाद बढेको थियो। 

स्थायी कमिटी बैठकमा प्रचण्डसहितका नेताहरुले ओलीको राजीनामा माग गरेका थिए। ओली राजीनामा नदिने अडान छन्। लामो समय गिजोलिएको नेकपाको विवाद सहजै समाधान हुनेमा आशंका व्यक्त गरिएको छ। 

यतिकै सकिँदैन नेकपाको लडाईं

राजनीतिक विश्लेषक हरि रोकाले नेकपामा देखिएको शक्तिको लडाई यत्तिकैमा समाप्त हुने अवस्था नरहेको बताएका छन्। विवाद समाधानका लागि प्रधानमन्त्री ओलीले दुईमध्ये एक पद छाड्नु पर्ने तर उनी त्यसो गर्न तयार नरहेकाले सहज निकास सम्भव नभएको विश्लेषक रोकाको भनाइ छ।

विश्लेषक रोकाका अनुसार यदि विवाद समाधान नै गर्ने हो भने प्रधानमन्त्री ओलीले २ मध्ये एक पद छाड्नु पर्ने, तर ओली यो कुरामा टसमस नभएका कारण यत्तिकैमा विवाद समाधान नहुने देखिन्छ। 

‘उहाँ त चटके जस्तो देखिनु भएको छ, उहाँ जादुगर पनि होइन, तर चट्के हो। अब यो चटक उहाँले कहाँ, के कसरी प्रयोग गर्नुहुन्छ, थाहा छैन’, उनले भने, ‘अहिले जुन ठाउँमा ओली र अन्य नेताहरु जसरी लागि रहेका छन्, यही अवस्थामा निकास निस्कन्छ भन्‍ने मलाई लाग्दैन', विश्लेषक रोकाले भने।’ 

विश्लेषक रोक्काले ओलीले ५ दिनमा विवाद समाधान गर्छु भन्नु ठुलो गफ भएको टिप्पणी गरे। ‘ओलीले पार्टीको विवाद ५ दिनमा समाधान गर्छु भन्नु र राम अयोध्यामा होइन, ठोरीमा जन्मिएका थिए भने जस्तै हो’, उनले भने। 

आजको बैठकमा दुई अध्यक्षले एक्ला एक्लै छलफल गरे पनि केही समय महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरु शंकर पोखरेल र जनार्दन शर्मा पनि सहभागी भएका थिए। 

दुई अध्यक्षबीच संवादहीनताको अवस्था भएपछि दोस्रो तहका नेताहरुकै सक्रियतामा भेटवार्ता भएको हो। असार १० बाट सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग भएपछि आन्तरिक विवाद उत्कर्षमा पुगेको थियो। 

यसअघि वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित दुई अध्यक्षबीच साउन १८, १९ र २० गते लगातार छलफल भएको थियो। पछिल्लो छलफलमा विवाद समाधानका लागि स्थायी कमिटी बैठक बोलाउने कि सचिवालय भन्ने नयाँ विवाद थपिएको थियो। 

प्रधानमन्त्री ओली सचिवालय बैठकपछि मात्रै स्थायी कमिटी बस्नुपर्ने अडानमा थिए भने प्रचण्ड स्थगित स्थायी कमिटी बैठक सुचारु गर्ने र केन्द्रीय कमिटी बैठक बोलाउनु पर्ने अडानमा रहेपछि संवादहीनताको अवस्था आएको थियो। 

प्रचण्डको ब्रिफिङ

प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको आजको छलफल सकारात्मक दिशामा अघि बढेको बताएका छन्। दाहाल–वरिष्ठ नेता माधवकुमार नेपाल समूहका केन्द्रीय कमिटी सदस्यहरूसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन्। 

‘बालुवाटारमा ओलीजीसँगको बैठकमा स्थायी कमिटीलाई अघि बढाउने कुरा भएको छ’, उनको भनाइ उद्धृत गर्दै नेता ठाकुर गैरेले भने, ‘बैठकका एजेन्डा तय गर्न फेरि छलफल हुनेछ।’
दाहालले ब्रिफिङका क्रममा पार्टीलाई विधिअनुसार अघि बढाउन पनि संवाद अघि बढेको बताएका छन् उनले ओली स्थायी कमिटी बैठकमा आएर छलफल अघि बढाउने कुरामा पनि सकारात्मक रहेको ब्रिफिङ गरेका नेताहरूले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.