बालुवाटारको कुरा चित्त बुझ्दो नभए पनि विवाद टुंगिने आशा

|

काठमाडौं : सत्तारूढ नेकपाको समस्या समाधान गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुवै तर्फबाट कार्यदल बनाएर अघि बढ्न प्रस्ताव गरेका छन्। बिहीवार प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भएको छलफलमा अध्यक्ष दाहालले यस्तो प्रस्ताव गरेका हुन्।

'पार्टीभित्रको समस्या समाधानका लागि बालुवाटारबाट केही प्रस्ताव आएका छन्। तर, यो पर्याप्त छैन', स्रोतले भन्यो, 'त्यही बिषयमा ओलीसँग कुरा नमिलेपछि पार्टीभित्रको विवाद समाधान गर्न अध्यक्ष दाहाल कार्यदल बनाउने प्रस्ताव गर्नुभएको हो।'

दाहालले समस्या समाधानका लागि स्थायी कमिटी बैठक बढाउन चाहेको बताए। 'समस्या समाधानका लागि हामीले स्थायी कमिटी बैठक अगाडि लैजान चाहेका छौँ',  दाहालको भनाइ उद्धृत गर्दै ती नेताले भने, 'तर, अरू बिषयमा सहमति हुन नसके पनि त्यसमा ओली सकारात्मक हुनुभएको छ।'

बालुवाटार वार्तापछि अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, कृषिमन्त्री घनश्याम भुसाल प्रदेश ५ का आफ्नो गुटका केन्द्रीय सदस्यहरुसँग थापा गाउँमा बैठक बसेका थिए। उक्त बैठकमा दाहालले बालुवाटारमा स्थायी कमिटी अघि बढाउन छलफल सकारात्मक भएको बताएका थिए।

'हामी पार्टीका समस्यालाई लिएर प्रदेश ५ का केन्द्रीय सदस्यहरूसँग पनि बस्यौँ', नेता ठाकुर गैरेले भने, 'त्यहाँ पार्टीभित्रको विवाद समाधान गर्न अध्यक्ष दाहाल र वरिष्ठ नेताहरुले परामर्श लिनुभएको छ। अध्यक्ष दाहालले ओलीसँग भएको भेटवार्ताको क्रममा भएको बारेमा जानकारी गराउनुभयो।'

चर्को विवादपछि बसेको छलफल पार्टीभित्रको विवाद समाधानका लागि पुन: भएको छलफल सकारात्मक दिशातिर अघि बढ्ने संकेत देखिएको अध्यक्ष दाहालको प्रेस संयोजक बिष्णु सापकोटा जुगलले जानकारी दिए।

पार्टीभित्र विवाद समाधान गर्नका लागि ४ घण्टा लामो समयसम्म बसेको वार्ता सकारात्मक दिशामा गएको प्रधानमन्त्री ओलीको प्रेस सल्लाहकार सूर्य थापाले बताए। 'आजको वार्ता सकारात्मक भएको छ। भोलि पनि वार्ताले निरन्तरता पाउँछ', उनले भने।

यसअघि बुधबार दाहाल-नेपाल समूहले गण्डकी प्रदेशका केन्द्रीय सदस्यसँग छलफल गरेका थिए। असार १४ गतेको प्रधानमन्त्री ओली अभिव्यक्ति, ओलीको कार्यशैलीलाई लिएर पार्टीभित्रको विवाद चर्किएको थियो। त्यही विवादलाई लिएर अध्यक्ष दाहालसहितका नेताहरुले प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए।

प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा नदिने अडान कसेपछि पार्टी विभाजनको सँघारसम्म पुगेको थियो। तर, पार्टीभित्रको विवाद समाधान गर्नका लागि ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए। पार्टीभित्रका विवाद समाधान गर्नका लागि नेताहरुले महाधिवेशनलाई केन्द्रीत गरेर सहमति खोज्नुपर्नेमा जोड दिएका थिए। 

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेर रोकिएको अवस्थामा प्रधानमन्त्री ओलीले बुधबार एक टेलिभिजनसँगको अन्तवार्ताको क्रममा ५ दिनभित्र पार्टीभित्रको विवाद हल हुने बताएका थिए।

'म पार्टी फुट्न दिने पक्षमा छैन, मिलाउने लाइनमै छु। केही नेताहरुले पत्रकार सम्मेलनमै जुनसुकै परिणामका लागि तयार हौ भनेछन्। तर म भन्छु पार्टी फुट्दैन र पार्टी कसैले फुटाउन सक्दैन’, ओली भनेका थिए, 'भोलिबाटै एक, दुई भन्दै काउन्टडाउन सुरु गर्नुस्, ५ दिनभित्र के हुन्छ नेकपाभित्रको सिनारियो। पाँच दिनमा फेरि मसँग बस्‍न आउनुस्, त्यसपछि अहिले भनिएका कुराको फेरि उत्तर दिउँला।’ 

प्रधानमन्त्री ओलीबाट सरकार र पार्टीको नेतृत्व नचलेको भन्दै अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले स्थायी कमिटीमा राजीनामा मागेपछि विवाद चर्किएको थियो। 

विवाद समाधान गर्नका लागि ओली सचिवालयबाट छलफल गरेर अघि बढ्ने पक्षमा छन्। तर, अध्यक्ष दाहाल असार १० गतेबाट जारी स्थायी कमिटीको बैठकबाट सहमतिको प्रयास खोज्ने अडानमा छन्। पार्टी भित्रको विवाद समाधान गर्नका लागि महासचिव बिष्णु पौडेल, प्रदेश ५ को मुख्यमन्त्री शंकर पोखरेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा प्रभाकर लागि परेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.